arrow

संस्कृति जोगाउन विद्यार्थी र महिलालाई पञ्चेबाजाको तालिम [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
panchebaja-students-nayagau.jpg

गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिकाले लोप हुँदै गइरहेको पञ्चेबाजा संस्कृतिलाई जोगाउने प्रयास थालेको छ । पालिकाको वार्षिक बजेटमै पारेर संस्कृति जोगाउनका लागि प्रयास थालेको हो । 

पहिलो चरणमा पालिकाका वडा नम्बर १ र ३ का महिलालाई पञ्चेबाजाको तालिम दिइएको छ । गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पालिकाले वार्षिक चार लाख रुपैयाँ छुट्टाएर गाउँको संस्कृति जोगाउनका लागि यो कदम चालिएको बताए । 

उनले यो कार्यक्रमलाई हरेक वर्ष गर्ने लक्ष्य रहेको बताए । पहिलो पटक गरिएको कार्यक्रम सफल भएको दाबीसहित उनले आगामी वर्ष यसले निरन्तरता पाउने बताएका हुन् । 

गाउँघरमा युवा पुरुषहरु खासै देखिँदैनन् । पुरुष रोजगारीका लागि कि त शहरमा छन् कि त वैदेशिक रोजगारीमा । त्यसैले बिँडो थाम्नका लागि जुनसुकै समुदायका महिलालाई समेटेर पञ्चेबाजाको तालिम दिइएको अध्यक्ष पोखरेलले बताए । उनले पहिलो चरणमा १५ महिला र १५ विद्यार्थीलाई प्रशिक्षक खोजेर १० दिनको तालिम दिइएको बताए । 

पहिले पञ्चेबाजा परियारले बजाउँथे । अर्थात् सबैका आ–आफ्ना जिम्मेवारी भएअनुसार परियारले गाउँघरमा हुने विवाह, ब्रतबन्ध, पूजापाठका साथै विभिन्न चाडपर्वमा पञ्चेबाजा बजाएर संस्कृति जोगाउँथे । 

समयले कोल्टे फेर्दै जाँदा त्यो पुस्ताको निधन भइसकेको छ । छोरा पुस्ताले बाजा बजाएर ज्यान पाल्न सकिन्न भन्ने ठानेर विभिन्न इलम गर्ने क्रममा कोही विदेशिए भने कोही शहरमा छन् । कोही गाउँमै भए पनि अन्य पेशा गरेर जीविकोपार्जन गरेका छन् । 

पालिकाको वडा नम्बर १ नयाँगाउँका अध्यक्ष चेतमान कुँवर भन्छन्, ‘बा पुस्ता सकिए, छोरा पुस्ताले यो काम गरेर जीविकोपार्जन गर्न सकिँदैन भन्छन्, उनीहरु लाखापाखा भए, त्यसैले नाति पुस्तालाई सक्रिय बनाउन लागिपरेका छौँ । यसका अन्य जातका पनि छन् ।’

नाति पुस्तालाई सक्रिय बनाउने भनेको विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई पञ्चेबाजा बजाउन सिकाएर परिआएका बेलामा उपयोग गर्ने योजना बनाइएको छ । यसको मतलब हो तिनै विद्यार्थीलाई सिकाउन सकियो भने केही वर्ष उनीहरुले गाउँघरमा परिआएका बेलामा गर्जो टार्ने काम गर्न सक्छन् । 

यसका लागि पहिलो पटक श्री नयाँगाउँ माध्यमिक विद्यालयको अनुरोधमा पालिकाले विद्यार्थीलाई पनि तालिम दिएको छ । वडाध्यक्ष कुँवर भन्छन्, ‘विद्यार्थीलाई तालिम दिने हो भने उनीहरुले कम्तीमा १२ कक्षासम्म पढुन्जेल सेवा गर्न सक्छन् भन्ने उद्धेश्य राखेर तालिम दिइएको हो ।’

अहिले परियार मात्रै खोजेर पञ्चेबाजा धानिने अवस्था छैन । त्यसैले विद्यालयले विभिन्न जातका विद्यार्थीहरुलाई यो तालिम दिएको हो । यसमा जाति हेर्ने भन्दा पनि आफ्नो संस्कृतिको जगेर्ना गर्नका लागि जुनसुकै समुदायका विद्यार्थीले सिकिरहेका हुन् ।   

विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद गौतमले कक्षा ६ र ७ का विद्यार्थीलाई उनीहरुको रुची अनुसार पञ्चेबाजाको तालिम दिइएको बताए । आफूहरुले यसअघिदेखि नै सोचिरहेको र सोही बेला गाउँपालिकाले पनि ल्याएको योजनामा विद्यार्थीलाई पनि सिकाउन मद्धत भएको बताए । 

उनले भने, ‘विद्यालयलाई सूचना तथा सञ्चार प्रविधि मैत्री गराई परम्परागत प्रविधिको जगेर्ना गरी हालको विश्वव्यापीकरणलाई स्थानीयकरण गर्दै बालबालिकाको रुची र क्षमतालाई पहिचान गरी उनीहरुको आन्तरिक क्षमता प्रस्फुटन गर्ने वातावरण सृजना गर्नु विद्यालयको प्रमुख उद्धेश्य रहेको छ ।’

यही उद्धेष्यअनुसार नै विद्यार्थीले तालिम लिएका हुन् । विद्यार्थीले तालिम लिएर उक्त तालिमको प्रभाव पनि देखिन थालेको छ । विद्यार्थीहरुले निकै नै कौशलपूर्वक छिट्टै सिक्ने अवसर पाएका छन् । 

विद्यार्थीले सिकेका पञ्चेबाजा भने महिला समूहका हुन् । प्रधानाध्यापक गौतमले एक सेट पञ्चेबाजा सहयोग गर्न पालिकालाई आग्रह गरिएको जनाएका छन् । प्रअ गौतमको आग्रहलाई सकारात्मक रुपमा लिएको भन्दै पालिका अध्यक्ष पोखरेलले आगामी दिनमा विद्यार्थीका लागि विद्यालयलाई पञ्चेबाजा सहयोग गरिने बताए । 

तालिम लिएपछि प्रस्तुति दिँदै नयाँगाउँ माध्यमिक विद्यालय कक्षा ६ र ७ का विद्यार्थीहरु

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ