arrow

१० वर्षमा पनि नबनेपछि ठिमुरा पुल निरीक्षणमा पुगे रवि

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
rabi-lamichhane-2080.jpg

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य जरुरी रहेको बताएका छन् । 

शनिबार चितवन र तनहुँ जोड्ने ठिमुरा पुलको शनिबार स्थलगत निरीक्षणपछि उनले सबैको सहकार्यबाट मात्र विकास निर्माण समयमै सम्पन्न हुनसक्ने धारणा राखे । 

उनले कुनै दलगत स्वार्थ नहेरी विकास निर्माणमा सबैले पहल गरे सफल हुनेमा उनको जोड थियो । 

ठिमुरा पुल बन्न १० वर्ष लाग्नु लज्जाको विषय भएको बताउँदै उनले यसबारे आफूले खबरदारी गर्दै आएको दाबी गरे । “देशमा विकास आयोजना निकै सुस्तगतिमा निर्माण भइरहेका छन् । ठिमुरा पुल एउटा उदाहरण हो । यो पुल बन्न १० वर्ष कुर्नुपर्ने थिएन”, उनले भने । लामिछानेले ठिमुरा पुल निर्माणका लागि यसअघिका सांसद र स्थानीय जनप्रतिनिधिले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । 

उनले चितवनको सडक निर्माण, खानेपानी र विकासका आयोजनामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । “पुल, बाटो बनाउन धर्ना र पैदल हिँडेर ध्यानाकर्षण गराउनुपर्ने अवस्था आउनु राम्रो होइन । विकसित देश अन्तरिक्षको विकासमा प्रतिस्पर्धा गर्दैछन् । हामी पानी चाहियो, सडक बन्नुपर्‍यो भनेर जुलुस, धर्ना र ध्यानाकर्षण गर्दैछौँ”, उनले भने । 

त्यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् तनहुँ क्षेत्र नं १ का सांसद डा स्वर्णिम वाग्लेले आफूहरू देश बनाउने खाका लिएर हिँडेको बताए । उनले आयोजना अलपत्र हुनु राम्रो प्रणाली बन्न नसक्नुको परिणाम भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ