arrow

ओझेलका कला संस्कृति जोगाउने लयमा बुटवल दश

logo
नारायण वली,
प्रकाशित २०८० माघ ९ मंगलबार
kala-talim4.jpg

लुम्बिनी। नेपालको मौलिक कला संस्कृतिको विशेषता निकै गर्भिलो छ । विश्वका अन्य मुलुकहरु भन्दा पृथक खालका कला संस्कृति नेपालमा भए पनि आधुनिकतासँगै हराउँदै गएको पाइन्छ । जसले गर्दा नेपालका स्थायी बासी बादी समुदायको मादल बनाउने र गन्दर्भ जातिको बजाउने पेशा संकटमा पर्न गयो ।

आधुनिक युगको विकाससँगै सञ्चार प्रविधिले फड्को मारेकाले नेपालको मौलिक कला संस्कृति ओझेलमा पर्ने खतरा पनि बढ्दै गएको छ। पुस्तान्तरणमा देखिएको समस्याले मौलिक कला संस्कृति लोप अवस्थामा पुगेको छ । नेपालमा संघीयता आएपछि स्थानीय र प्रदेश सरकारले अनुउत्पादक क्षेत्रमा लगानी गर्ने तर मौलिकता संरक्षणमा ध्यान दिएको देखिँदैन।

पश्चिमा संस्कृति हावी हुँदै जाँदा अश्लील संस्कृतिको विकास हुन पुगेकाले मौलिक संस्कृति संरक्षण एवं प्रवद्र्धनमा चुनौती थपिएको पुराना पुस्ताहरुको चिन्ता बढेको छ भने पुस्तान्तरणमा देखिएको अर्काे समस्याले मौलिक कला, संस्कृति तथा रीतिरिवाजसमेत हराउने जोखिम बढ्दै गएका बेला निजी र सरकारी स्तरबाट कुनै पहलकदमी नभएको जनगुनासो बढ्दै गएको छ ।

स्थानीय र प्रदेश सरकारले विभिन्न सीपमुलक तालिमका नाममा बर्सेनि करोडौँ बजेट सकिरहेका बेला बुटवलको एक वडाले मौलिक कला संस्कृति जोगाउने उद्देश्य अघि सारेको पाइएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १० ले मौलिकता जोगाउन पुस्तान्तरण गर्नुपर्छ भन्ने सकारात्मक पहलसहित तीन महिने मादल तथा हार्मोनियम बजाउने तालिम सञ्चालनमा ल्याएको छ । 

नेपाली चाडबाड अन्तर्गत तीज र तिहारमा मादल, हार्मोनियम लगायत मौलिक बाजाको उच्चतम प्रयोग हुने भएकाले संरक्षण गर्दै व्यवसायीकता दिने उद्देश्यले स्थानीय २१ जना महिला र ९ जना पुरुषहरुलाई तालिम प्रदान गरिएको वडा नम्बर १० का वडाध्यक्ष बलबहादुर पुनले बताए ।

उनले पछिल्लो समय युवाहरुमा परम्परागत सीप सिक्ने रुची कम हुँदै गएको, अझ शहरमा त झन आधुनिकतामा ढल्किएकोलाई मध्यनगर गर्दै पुर्ख्यौली पेशालाई अँगाल्न छाडेर पुस्तान्तरण बढ्नु, व्यवसायीकता नहुनु जस्ता समस्यालाई समाधान गर्न वडामा हुने कुनै पनि कार्यक्रममा पहिलो प्राथमिकता दिने गरी इच्छुक अन्य जातजातिहरुलाई पनि मौलिक कला सिकाउनका लागि तालिम दिइएको जनाए ।

वडाध्यक्ष पुन भन्छन्, 'उक्त तालिम सञ्चालन गर्न वडाबाट २ लाख ४७ हजार रुपैयाँ छुट्याइएको छ । यसले तीन महिनासम्म तालिम चल्नेछ । यसले लोप हुँदै गइरहेको कला संस्कृतिलाई जोगाउने प्रयास थाल्ने विश्वास लिएको छु । यस्ता प्रकारका तालिम दिनेमा रुपन्देहीका १६ पालिकाहरुमध्ये आफुहरुको पहिलो वडा हो । अन्य छैन । संस्कृति जोगाउनकै मैले यो योजना अगाडि सारेको हुँ ।'

उनले तालिम लिएर सिकेकाहरुलाई वडामा हुने कुनै धार्मिक भजन कृतन, विवाहलगायत कार्यक्रममा पहिलो प्राथमिकता दिने निर्णयसमेत वडाबाट गरिने बताए ।  

रोजगारीका लागि गाउँघर तथा शहरमा पुरुषहरु बाहिरिँदै गएकाले तीज, तिहार लगायत सांस्कृतिक कार्यक्रममा मादल बजाउनेसमेत मान्छे नभएका बेला उक्त बाद्यवादन सीपमुलक तालिमले महिलाहरुलाई सिकाउन सकेमा व्यावसायिक पनि गर्न सकिने र संस्कृति जोगाउन ठूलो भूमिका खेल्ने बटौली संरक्षण सम्वर्दन समितिका उपाध्यक्ष एवं सक्रिय समाजसेवी राजुप्रसाद लिगलले बताए।

उनले थपे, 'पुरुषहरुमा भएको सीपको बिँडो थाम्नका लागि जुनसुकै समुदायका महिलाहरुलाई समेटेर तालिम दिनु सकारात्मक पक्ष हो । हामीले पनि नयाँ पिँढीहरु आफ्ना छोराछोरीहरुलाई पनि घरमा सिकाउन जरुरी छ ।'  

पहिले पञ्चेबाजा परियारले बजाउँथे । अर्थात् सबैका आ–आफ्ना जिम्मेवारी भएअनुसार परियारले गाउँघरमा हुने विवाह, ब्रतबन्ध, पूजापाठका साथै विभिन्न चाडपर्वमा पञ्चेबाजा बजाएर संस्कृति जोगाउँथे ।

उनीहरुमा पछिल्लो समय त्यो पेशा हराउँदै गएको देखिन्छ । पुराना वृद्ध हुँदै जानु र नयाँ पिँढीले पुर्खाको सीपलाई अबलम्बन नगर्नुले परियार जातिहरुको पेशा पनि संकटमा पर्दै गएका बेला अन्य जातिले यो सीप सिकेर व्यावसायिक गर्दा आयआर्जनमा समेत टेवा पुग्ने जानकारहरु बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ