arrow

नुवाकोट लिच्छवीकालीन स्वयम्भूको पुनर्निर्माण शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
District-33-Nuwakot-hamrakura.jpg.jpeg

नुवाकोट ।  विदुर नगरपालिका-२ महामण्डलमा अवस्थित प्रसिद्ध स्वयम्भू (चैत्य) विहार पुनःनिर्माण स्थानीयबासीको पहलमा अघि बढाइएको छ । प्राप्त इतिहासअनुसार एक हजार चारसय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको स्वयम्भू (चैत्य) लामो समयदेखि जीर्ण भएसँगै यस ऐतिहासिक स्थलको उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा नै पुननिर्माण लागि स्थानीयले आर्थिक सङ्कलन र श्रमदान गरेर काम अघि बढाइएको हो ।

विदुर नगरपालिकाको अनुरोधमा गतवर्ष पुरातत्व विभागले गरेको अध्ययनले लिच्छवीकालीन समयको स्वयम्भू (चैत्य)को ‘तत्कालै संरक्षण गर्नुपर्ने’ जनाएको थियो ।

 तर बजेट अभावमा संरक्षणमा चासो नदिइएपछि स्थानीयबाट स्वःस्फूर्त रुपमा संरक्षण भइरहेको नुवाकोट स्वयम्भू महाचैत्य संरक्षण संस्थाका सदस्य तथा अभियन्ता गौतममान सिंहले जानकारी दिए ।

उनका अनुसार पूरातत्वविद्सँगको सहकार्यमा तयार गरिएको गुरु योजना अनुसार बुद्धसँग सम्बन्धित एकसय आठ चैत्य, तीन सयभन्दा बढी बोधिसत्व-तारा, एकहजार चार स्वयम्भु चैत्यसहित विशाल स्वयम्भू महाचैत्यको पुनःनिर्माण गर्न लागिएको हो ।  

“स्वयम्भू (चैत्य)को पुनःनिर्माण तथा संरक्षणका लागि बनाइएको गुरुयोजना अनुसार चार चरणमा काम सम्पन्न गर्ने लक्ष्य छ”, अभियन्ता सिंहले भने, “दोस्रो चरण अन्तर्गत हाल चैत्य, बोधिसत्व, तारा निर्माणको काम भइरहेको छ भने यसपश्चात विशाल महास्वयम्भू निर्माणको काम शुरु गरिने छ ।”

स्वयम्भू-चैत्य निर्माणका लागि पहिलो चरणमा टुँडिखेलदेखि स्वयम्भू-चैत्यसम्म ढुङ्गेसिँढीको निर्माण गरेर र दायाँबायाँ बुद्धधर्मसँग सम्बन्धित चिवा, चैत्य, मूर्तिको प्रतिस्थापन गरिएको छ । दोस्रो चरण अन्तर्गत पन्ध्र रोपनी जग्गालाई पूर्णरूपमा ऐतिहासिक झलक दिने गरेर ढुङ्गेपर्खालको निर्माण गरेर एकसय आठ चैत्य, तीनसय भन्दाबढी बोधिसत्व-तारा, एकहजार चार स्वयम्भु चैत्यको प्राण प्रतिष्ठा गरेर मूर्तिहरुको प्रतिस्थापनको गर्न लागिएको छ ।

तेस्रो चरणमा विशाल स्वयम्भू महाचैत्यको निर्माण गरिने छ भने चौथो चरणमा बौद्धधर्मको अध्ययन केन्द्र, ध्यानकेन्द्र, पुस्तकालयलगायतका संरचना निर्माणका लागि समुदाय र संघसंस्थाबाट सहयोग खोजेर स्थानीयले गत असारदेखि शुरु गरेको कामलाई निरन्तर अघि बढाइएको छ ।  

ऐतिहासिक तथा पुरातात्विक संरचना भएपनि लामो समयदेखि जीर्ण रहेको चैत्यको पुनःनिर्माणका क्रममा ‘पहिला जस्तो थियो त्यस्तै’ निर्माणका लागि गुरुयोजना बनाएर पुरातात्विक स्वरुपमा नै काम भइरहेको महाचैत्य संरक्षण संस्थाका अध्यक्ष ईश्वरमान श्रेष्ठले जानकारी दिए ।

उनको अनुसार हालसम्म नुवाकोटसहित देशभरबाट श्रमदान, आर्थिक सहयोग र भगवानको प्राण प्रतिष्ठा समेत गरेर करीब रु दुई करोड लगानीको काम सम्पन्न भइसकेको छ ।



नयाँ