arrow

आईसीसी विश्वकप लिग-२ 

नामिबियासँग भिड्दै नेपाल, सुखद् शुरुवात गर्नेछौँ- रोहित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
nepal-vs-namebia.jpg

काठमाडौँ । नेपालले आजदेखि आईसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खला खेल्दै छ । 

नेपालले नेदरल्याण्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग-२ खेल्नेछ ।

बिहीबारदेखि कीर्तिपुर मैदानमा हुने लिग-२ को त्रिकोणीय शृङ्खलामा नेपालले पहिलो खेल आज नै नामिबियासँग खेल्नेछ । 

त्यसपछि शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । यस शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुने तालिका रहेको छ ।

आईसीसीको वरीयतामा नेदरल्यान्ड्स १४ औँ, नेपाल १५ औँ र नामिबिया १६ औँ वरीयतामा छन् । नामिबिया यो साइकलको डेब्युटेन्ट टोली पनि हो ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यस पटक आईसीसी विश्वकप लिग-२ मा सुखद् शुरुवात गर्ने लक्ष्य रहेको बताएका छन् । कप्तान रोहितले नेदरल्यान्ड्स भर्खर विश्वकप खेलेर आएको र नामिबिया पनि राम्रो टोली रहेकाले यो शृङ्खला रोमाञ्चक हुने आशा व्यक्त गरेका छन् । आफ्नो टोलीले राम्रो क्रिकेट खेल्न सकेमा हरेक टोलीलाई हराउन सक्ने विश्वास रहेको बताएका छन् । उनले आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य रहेको पनि धारणा राखेका छन् ।

नेपालका प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदान प्रतियोगिताबाट क्यानडासँगको शृङ्खला राम्रो गरेको उल्लेख गरेको उल्लेख गर्दै यस शृङ्खलामा पनि सुखद् शुरुवात गर्ने धारणा राखे । क्यानडाको शृङ्खलाबाट नै लिग-२ का लागि नेपालको तयारीबारे स्पष्ट भएको प्रशिक्षक मोन्टीले बताएका छन् । उनले दुवै टोली बलियो रहे पनि आफूहरू हरेक बलका लागि खेल्ने बताए ।

लिग-२ को शृङ्खला खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ