arrow

अब उनी माइत जान्निन् 

logo
शिवप्रसाद पोखरेल,  
प्रकाशित २०८० फागुन ५ शनिबार
shivaprasad-pokharel-2080-1.jpg

सन् २०२२ को डिसेम्बरमा दक्षिण कोरियाका दयालु कृषकहरुले उन्नत जातका गाई उपहार दिने मुलुकको रुपमा नेपालले अवसर पायो।  सय ओटा अत्यन्त सुन्दर केही डराएका जस्ता देखिने मायालाग्दा बाच्छी र केही बाच्छाहरु झण्डै ७ घण्टाको विमानको यात्रा गर्दै नेपाल आइपुगे । 

विचराहरु न आफ्नो यात्रा अनुभव बताउन सक्थे न उनीहरुको इच्छाअनुसार नेपाल आएका थिए । गुनासो गर्नका लागि गाईको भाषा, वेदना बुझिदिने कोही छैनन् भन्ने थाहा भएर होला मानिसहरुले जता उचालेर धकल्दा पनि त्यतै जान बाध्य भए ।

पीर चिन्ता त थियो होला नि । गाईको भाषा बुझ्ने कोही साथमा नहुँदा विचरीहरुलाई । सानै उमेरमा माइतीबाट एकाएक नेपाल जाउँ भनेर पठाउँदा मन कति रोयो होला । हामीलाई माफ गरिदेऊ ।

नेपाल आइपुगेकामध्ये ७० ओटा उन्नत जातका गाईहरु सिन्धुली जिल्ला कमलामाई नगरपालिका किसानको घरमा पुगे र अन्य गाईहरु ललितपुर, चितवनमा छन् भन्ने जानकारी रहेको छ । एक वर्ष र केही महिना पश्चात् गत फेब्रुअरी ६ तारिखका दिन खाम्साकी आमाले नेपाललाई नयाँ वरदान स्वरुप बाच्छी दिन सफल भएकी छिन् । 

बाच्छीको नाम पनि कोरियाली भाषामा ‘खाम्सा’ (नेपाली अर्थ ‘धन्य’) राखिएको सुन्दा निकै खुशी मिलेको छ । खाम्सा आमाको माइती, आफ्नो मामाघर जान पाउने छैनिन् र उनकी आमा पनि अब माइत जाने छैनिन् । तिम्रा संगिनीहरुले पनि केही महिना पश्चात् सुन्दर भान्जीहरुलाई जन्म दिनेछन् । यदि भान्जाहरुले जन्म लिए भने भान्जीको तुलनामा माया कम पाउँछन् भन्ने सुनिएको छ । त्यसैले धेरै भान्जीहरुको प्रतिक्षामा नेपाली महिला दिदीबहिनीहरु पर्खाइमा रहेका छन् ।

खाम्साकी आमाले केही महिना पोशिलो दूध आफ्नो छोरीलाई दिनेछिन् र धेरै दूध उनलाई परिवारको सदस्यको रुपमा  पालन पोषण गरेकी नेपाली आमालाई दिएर खुशी बाँड्ने छिन् । खाम्साकी आमाले अब छोरीको जन्म घरमा नै केही वर्ष बिताउने छिन् । 

धन्यवाद खाम्साकी आमा । भर्खरै जस्तो लाग्छ तिमी लगायतका तिम्रा संगिनीहरु नेपाल आउँदा विमानस्थलमा डराइरहेको जस्तो देखिने मलिन अनुहारमा आज खुशी मिलेको छ । हामी पनि तिमी जस्ती सुन्दरीलाई नेपालमा पाउन सफल भएकोमा तिम्रो माइतीप्रति भित्री मनबाट सम्मान गर्न चाहन्छौँ ।

यत्र तत्र भद्रगोल र अस्तव्यस्थ देखिने नेपाललाई मामाघर कोरियाले खुला दिलका साथ सहयोग गरिरहेको छ। मामाघरले नेपाल पनि समृद्ध भएको, खुशी भएको देख्न चाहेको छ भन्ने लाग्छ ।

तिम्रो माइती आज हाम्रो मामाघर भएको छ । हाम्रो मामाघर कोरियाले नेपालका विभिन्न क्षेत्रमा सहयोगी भूमिका खेलिरहेको छ । नेपालमा बेरोजगारको समस्या हल गर्नका लागि धेरै युवा पुस्तालाई रोजगार दिएको छ । 

नेपालको  शिक्षा, स्वास्थ्य क्षेत्रमा विगत लामो समयदेखि सहयोग गरिरहेको छ। तिमी नेपाल आउनु भन्दा ३० औँ वर्ष अगाडिबाट हामीले तिम्रो माइतीबाट धेरै लिएका छौँ । हामीले दिन सक्ने त्यस्तो वस्तु हाल केही नभएता पनि हामी तिम्रो माइतीलाई मामाघरको रुपमा सम्मान, उच्च आदर गरिरहने छौँ । तिमीले खाम्सालाई नेपालमा जन्म दिएर तिम्रो माइतीलाई वास्तवमै हाम्रो मामाघर बनाइदिएकोमा यिनै हरफहरुबाट छुट्टै  सम्मान । 

नेपालले प्राप्त गरेका उन्नत जातका गाईले दैनिक औसत ३० लिटरसम्म दूध दिन्छन् भन्ने रहेको छ । हाम्रो देशमा आवश्यक दूधजन्य पदार्थ उत्पादनले नेपाली कृषकहरुको जीवनस्तर उकास्ने नै छ । 

पशुपालन क्षेत्रमा उन्नत जातको नश्ल विकास गर्ने मुलुकहरु आर्थिक रुपमा पनि निकै सबल रहेका उदाहरणहरु छन् । हामी पनि भोलिका दिन पशुपालन क्षेत्रलगायत, अन्य कृषि क्षेत्र विकासका लागि कोरियाको सहयोगले अगाडि बढ्न सक्ने आधारहरु धेरै रहेका छन् । 

कोरियाका कृषि मन्त्रीको भ्रमणका बेला नेपालमा कोपिया सेन्टर स्थापना तथा उन्नत जातको धान,आलु प्याज आदि पर्याप्त उत्पादन गर्ने अवस्थामा पुग्यौँ भने हामी छिट्टै समृद्ध नेपाल र खुशी नेपाली हुने दिन आउँछ भन्ने लागेको छ। खाम्साको मामाघर हाम्रो पनि मामाघर हो हामी मामाघरबाट नेपाल सबल हुन सक्ने आधारहरुको पर्खाइमा रहेका छौँ । 

अन्त्यमा सन् २०२४ मा दक्षिण कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्ष पुग्दैछ । आगामी केही वर्षमा नेपालले पनि कृषि, पशुपालन क्षेत्रमा विकसित देशको रुपमा खडा हुने आधारहरु तय होस् भन्ने कामना । 

धन्यवाद खाम्साको मामाघर अनि मामाघरको साइनो जोडाई दिएकोमा खाम्साकी आमालाई । अब खाम्साकी आमा माइत जाने छैनिन् । उनकी छोरी खाम्सा पनि मामाघर जाने छैनिन् । खाम्साहाम्निदा ।  (पोखरेल नेपालस्थित कोरियाली दूतावासका वरिष्ठ अनुसन्धानकर्ता हुन्)

 तस्बिर सौजन्य– हाइफर इन्टरनेशनल ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ