arrow

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याऔँ’

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
surendra-barhaman.jpg

पोखरा । पूर्वअर्थमन्त्रीद्वय वर्षमान पुन र सुरेन्द्र पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।

आन्तरिक उडान मात्र भइरहेको उक्त विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले विदेशी मुलुकसँग कूटनीतिक पहल गर्नुपर्नेमा उनीहरुको जोड छ ।

पोखरामा जारी नेपाल साहित्यको महोत्सवको ‘अर्थमन्त्री हुनुको अर्थ’ सत्रमा पत्रकार किरण नेपालसँगको संवादमा पूर्वअर्थमन्त्री पुनले सम्भावना पहिचान गरेरै सरकारले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको बताए ।

“पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ, चलाउन सकिन्छ, बरु सरकारले छिटो हवाइमार्ग खुला गरेर अन्तर्राष्ट्रिय उडान सुरु गर्न सार्थक पहल थाल्नुपर्छ”, उनले भने ।

विशाल जनसङ्ख्या भएका छिमेकी देश चीन र भारतबाट वर्षेनी करोडौँ मानिस विदेश घुम्न निस्कने गरेको सुनाउँदै पर्यटकीय दृष्टिले पनि पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको पूर्वअर्थमन्त्री पुनले बताए ।

पूर्वअर्थमन्त्री पाण्डेले पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुनुमा भूराजनीतिक जटिलता पनि एउटा कारक रहेको धारणा राखे ।

“भूराजनीतिक विषय कहिलेकाही हाम्रो वशभन्दा बाहिर हुन्छ, विकास निर्माणका आयोजना सञ्चालन गर्दा भूराजनीतिक असर र प्रभावलाई पनि राम्रोसँग विचार गर्नुपर्छ”, उनले भने, “ठूलो ऋण लगानीमा बनेको विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआउँदा मुलुकलाई घाटा भइरहेको छ, जनस्तरबाट आलोचना भइरहेको छ ।”

हवाइमार्ग खुला गर्नेदेखि आवश्यक पूर्वाधार तयार गरेर विमानस्थललाई चाँडो पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने पूर्वअर्थमन्त्री पाण्डेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ