arrow

पोखरामा पर्यटकलाई जबर्जस्ती होटलमा पुर्‍याउने गिरोह सक्रिय

होटल संघद्वारा प्रहरीको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
hotal-sang-police.jpg

पोखरा । पर्यटकलाई बीच बाटोबाटै पिछा गरी जबर्जस्ती आफूले भनेको होटलमा पुर्‍याउने व्यक्ति र गिरोहलाई कारबाही गर्न पोखराका होटलसम्बद्ध दुई संस्थाले जिल्ला प्रहरी कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् ।

होटल संघ पोखरा नेपाल र पृथ्वी होटल व्यवसायी समिति सम्वद्ध व्यवसायीले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई उक्त विषयमा ध्यानाकर्षण गराएका हुन् ।

पोखरा छिर्ने विभिन्न नाकाबाटै पर्यटकलाई पिछा गरी अवाञ्छित ढंगले आफूले भनेको होटलमा पुर्‍याउने प्रवृत्तिविरुद्ध अपरेसन अगाडि बढाउन माग गरिएको संघ अध्यक्ष लक्ष्मण सुवेदीले बताए । साथै विभिन्नखालका ध्वनी प्रदूषण र अन्य सामाजिक विकृतिविरुद्ध समेत कारबाही अगाडि बढाउन माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हाल पोखरा आगमन हुने पर्यटकहरूलाई विभिन्न चोकहरु छोरेपाटन, बिरौटा चोक, सिर्जना चोक, जिरो किमी, जरेवर, हल्लन चोक, राष्ट्र बैंक चोक र मुख्य सडकहरूमा होटलका कर्मचारी तथा सञ्चालकले बाइक तथा स्कुटरजस्ता सवारीसाधनबाट दुर्घटना हुने गरी पिछा गर्ने र यस क्षेत्रको शान्ति सुरक्षामा नै खलल हुने गरी पर्यटकलाई विभिन्न प्रलोभन देखाउने, बलजफ्ती गरी त्रसित गराउने गरेकोे हुँदा पर्यटकहरूलाई सुरक्षित र स्वेच्छाले पूर्व निर्धारित तय भएको होटल प्रतिष्ठानहरूमा जाने वातावरण नभएकोले उक्त कार्य निरुत्साहित गरी पाउँ ।’

संघका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले रात्रिकालीन व्यवसायबाट निस्कने मोटसाइकलमा सवार गर्ने व्यक्तिले बन्दुकको आवाज जस्तै गरी ध्वनि निकाल्दै ध्वनिप्रदूषण गर्ने विरुद्ध समेत कारबाही अगाडि बढाउन जिप्रका कास्कीको ध्यानाकर्षण गराइएको बताए ।

लेकसाइड क्षेत्रमा सञ्चालित रात्रिकालीन व्यवसाय अदालतको आदेशद्वारा २४ सै घण्टा खुला हुने भन्ने कुराले राति अबेरसम्म सञ्चालन हुँदा त्यस क्षेत्रको वातावरण अशान्त बन्दै गएको तर्फ समेत संघले ध्यानाकर्षण गराएको थियो ।

राति अबेरसम्म मापसे चेकिङ समेत गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै व्यवसायीले शान्तिपूर्वक बस्न र सुत्न नपाइएको पर्यटकबाट समेत व्यापक गुनासो आएको विषय ध्यानाकर्षण गराएका थिए ।

विभिन्न माइकिङ जन्य गतिविधि, विभिन्न खेलकुदका विजेता टिम वा व्यक्तिबाट र्‍याली नै निकालेर मोटरसाइकल र अन्य सवारीमा होहल्ला गर्दै हिंड्ने कार्य, कतिपय तेस्रो लिंगी वा अन्य माग्नेहरूबाट पसल चाहार्दै माग्दै हिंड्ने कार्य र सडकमा जथाभावी पार्किङ गर्ने कार्यलाई समेत नियन्त्रण गर्न व्यवसायीले प्रहरी उपरीक्षक थापाको ध्यानाकर्षण गराए ।

समितिका निवर्तमान अध्यक्ष बालकृष्ण निउरेले पोखराको पुरानो बसपार्क क्षेत्रमा पर्यटकको झोला तान्ने लगायत र अन्य विकृतिजन्य कार्यविरुद्ध कारबाही अगाडि बढाउन आग्रह गरे ।

एसपी थापाले व्यवसायीले उल्लेख गरेका सबै प्रकारका विकृतिविरुद्ध आफूले एकदुई दिनमा नै बृहत् अपरेसन अगाडि बढाउने प्रतिबद्धता जनाए ।

पर्यटकलाई दुःख दिने र मोटरसाइकलबाट ध्वनि प्रदूषण गर्नेविरुद्ध विगतमा पनि प्रहरीले कारबाही अगाडि बढाएको स्मरण गराउँदै उनले अन्य विकृतिविरुद्ध पनि फरक-फरक टिम बनाएर प्रहरी परिचालित हुने बताए ।

माग्दै हिंड्ने काम कानुनले समेत निषेध गरेको स्मरण गराउँदै उनले अन्य सबै विकृतिविरुद्ध अगाडि बढ्दा आफूलाई व्यवसायीको पनि साथ चाहिने प्रहरी उपरीक्षक थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ