arrow

नेपाली राइडर्सलाई ‘गिग इकोनोमी’ तर्फ डोहोर्‍याउँदै युनियन अध्यक्ष

logo
सुनिता न्यौपाने, जीपीजे नेपाल
प्रकाशित २०८० फागुन १२ शनिबार
basanta-shahi-gig-economy.jpg
तस्बिर– काठमाडौँस्थित नेसनल राइडर्स एसोसिएसनको कार्यालयमा पोट्रेट फोटो खिचाउँदै वसन्तकुमार शाही, तस्बिर क्रेडिट–सुनिता न्यौपाने ।

काठमाडौँ । शुरुमा केही मान्छेहरूमात्र देखिएको काठमाडौँको मुटुमा अवस्थित सानो कार्यालयका सिटहरू खचाखच हुन धेरै बेर लागेन । यहाँ आउने अधिकांश मानिसको उमेर भर्खरै बीस वर्ष कटेको जस्तो देखिन्छ । केहीको भने कपाल सेतै फुलिसकेको छ । सबै पुरुष छन् । बाहिर साइनबोर्ड राखिएको छ: “नेसनल राइडर्स एसोसिएसन । नीतिगतका लागि राइडर्स एकता । आजको प्रयास भोलिको आवश्यकता ।”

दुई पाङ्ग्रे साधन प्रयोग गरी राइड शेयरिङ र डेलिभरी सेवा दिने राइडर्सहरूको प्रतिनिधित्व गर्ने नेपालको एक मात्र युनियनको बैठकमा देखिएको दृश्य हो यो । कार्यालयको कुनामा रहेको डेस्कमा २८ वर्षीय वसन्तकुमार शाही बसिरहेका छन् । उनले नै यही वर्षको जुलाई महिनामा यो एसोसिएसन गठन गरेका थिए ।

काठमाडौँमा कृषि फाराम खोलेर जीविकोपार्जन गरिरहेका शाही आफू राइडर नभए पनि राइडरहरूको कठिनाइका बारेमा थाहा पाएपछि उनलाई यो समूह बनाउन प्रेरणा मिलेको थियो । हाल नेपालमा विभिन्न कम्पनीले राइड शेयरिङ एप सञ्चालन गरिरहेका छन् र कमिशनबापत राइडरको कमाइको २० प्रतिशतसम्म लिने गर्छन् । शाहीलाई एक जना राइडरले एपले लिने चर्को कमिशनले गर्दा आफूलाई श्रीमतीको उपचार खर्च जुटाउन कठिन भएको दुःखेसो पोखेका थिए ।

त्यस्तै अर्का एक राइडरले भने कामका बेला दुर्घटनामा पर्दा कम्पनीले आफूलाई कुनै सहयोग नगरेको गुनासो पोखेका थिए । धेरै राइडरहरूले शाहीलाई आफूसँग पर्याप्त समय नभएकाले हक-अधिकारका लागि सङ्गठित हुन नसकेको बताएका थिए ।

यी समस्या बुझेका शाहीले आफैँ यसका लागि पहलकदमी गर्ने निर्णय गरे । १० जना राइडरबाट शुरु भएको यो एसोसिएसनमा अहिले ८०० भन्दा बढी सदस्य भइसकेका छन् । वर्षको १०० रुपैयाँ सदस्यता शुल्क तिरेबापत सदस्यहरू ट्राफिक नियम, ग्राहक सेवा र सुरक्षासम्बन्धी तालिम लिन सक्छन् । बैठकमा उनीहरू नीति, ट्राफिक नियम, प्लेटफर्मका नियम र सुरक्षाका बारेमा वा राइडरहरूका सामान्य समस्याका बारेमा छलफल गर्छन् ।

काठमाडौँस्थित नेसनल राइडर्स एसोसिएसनको कार्यालयमा पोट्रेट फोटो खिचाउँदै वसन्तकुमार शाही । राइड शेयरिङ एपका चालकहरूको अधिकारका लागि आवाज उठाउने उद्देश्यले उनले यही वर्षको जुलाई महिनामा यो संस्था गठन गरेका थिए ।

शाही भन्छन्, “म राइडर नभएकाले मैले सुरुसुरुमा राइडरको समस्या महसुस गर्न सक्दिनँ कि भन्ने लागेको थियो । तर मानिसको संवेदना बुझ्नलाई उस्तै काम नभएर उस्तै भावना चाहिने रहेछ ।”

सेप्टेम्बर महिनाको यो बैठकमा राइडरहरूले काठमाडौंमा दुई पाङ्ग्रे सवारीसाधनको पर्याप्त पार्किङ स्थल नभएको विषयमा छलफल गरिरहेका थिए । एसोसिएसनका सदस्य सलिम बाडेले “ग्राहकले भनेको ठाउँमा बाइक रोक्दा बारम्बार प्रहरीलाई जरिबाना तिरिरहनुपरेको” बताए । बाडेको समस्यामा अरूले पनि सहमति जनाए ।

शाहीले सबै जनाको समस्या ध्यान दिएर सुनिरहेका थिए । उनी बोल्दा उनको आवाज नम्र थियो । बैठकको अन्त्यमा उनले आफूले थप पार्किङ स्थलको अनुरोध गर्दै प्रहरी कार्यालय र काठमाडौं महानगरलाई पत्र लेख्ने बताए ।

शाही भन्छन्, “नेपालमा राइड शेयरिङ कम्पनीले हजारौँ युवाहरूलाई रोजगारी दिइरहेको छ । यस्ता रोजगारीलाई दीर्घकालीन रूपमा लैजान नीतिनिर्माण तहमा काम गरिरहेको छु ।”

नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सन् २०१९ मा प्रकाशित गरेको प्रतिवेदनमा नेपालमा काम गरिरहेका २६ वटा राइड शेयरिङ एपहरूको नाम सूचीबद्ध गरिएको छ । त्यतिबेलाका सबैभन्दा लोकप्रिय एपहरू टुटल र पठाओमा गरेर काठमाडौँ उपत्यकाभित्र जम्मा २६ हजार ५०० मोटरसाइकल राइडरहरू दर्ता भएका थिए । यीमध्ये टुटल नेपाली कम्पनीले नै सञ्चालन गरेको एप हो भने पठाओ बङ्गलादेशी कम्पनीको स्वामित्वमा छ ।

एसोसिएसनले राइड शेयरिङ कम्पनीहरूलाई सेवा शुल्क घटाएर ९ % भन्दा बढी नराख्न र राइडरहरूलाई बिमाका साथै पेन्सन कोषको सुविधा दिन आग्रह गरेको छ । तर राज्यको कुनै पनि मौजुदा कानूनले यी कम्पनीलाई त्यसो गर्न बाध्य बनाउँदैन ।

शाहीको सहयोगमा राइडरहरूले यातायात व्यवस्था विभागले तयार पारेको नयाँ मार्गदर्शनहरूको मस्यौदा बनाउने कार्यमा पनि सहभागिता जनाएका थिए । ती मार्गदर्शनहरू कार्यान्वयनमा आएका खण्डमा कम्पनीहरूले बिमा गरिदिन र राइडरसँग कम्तीमा एक वर्षदेखि सवारी चालक अनुमतिपत्र छ भन्ने कुरा सुनिश्चित गर्नु पर्ने हुन्छ । राइडरहरूले पनि यात्रुहरूलाई हेलमेट दिनु पर्छ र नियमित रूपमा आफ्नो साधनको चेकजाँच गराउनु पर्छ ।

प्रदीप अधिकारी एसोसिएसनका शुरुका सदस्यमध्ये एक हुन् । उनी साढे दुई वर्षदेखि राइड शेयरिङ गरिरहेका छन् । दुबईबाट फेर्कर यो काम शुरु गरेका उनले शुरुमा झन्डै दिनको ४५ सय रुपैयाँ कमाउने गर्थे तर काठमाडौँमा राइड शेयरिङ गर्ने चालकको सङ्ख्या बढ्दै जाँदा अहिले उनी दैनिक झन्डै २ हजार रुपैयाँ जतिमात्र कमाउँछन् ।

अधिकारी आफ्नो कामप्रति सन्तुष्ट भएको बताउँछन् । तर दुर्घटना बिमा र पेन्सनको सुविधा नहुँदा उनलाई अलि नमजा लाग्छ । एसोसिएसनसँग जोडिएपछि उनी अहिले भविष्यका बारेमा अझ धेरै आशावादी भएका छन् । उनी भन्छन्, “पहिले समस्याको बारेमा एक्लै बोल्नुपर्थ्यो । कसैले आफ्नो कुरा सुन्दैनथ्यो ।” एक्लैको आवाज भन्दा एकीकृत आवाजमा शक्ति हुने उनको बुझाइ छ ।

शाहीले नेपालका अन्य सहरका राइडरहरूसँग पनि विस्तारै जोडिने आशा राखेका छन् । उनी भन्छन्, “एसोसिएसन घर हो र हामी घरका सदस्य हौँ ।” राइडर, यात्रु र सञ्चालक कम्पनी सबैलाई अधिकार र कर्तव्यमा बाँध्ने गरी राइड शेयरिङलाई कानूनको दायरामा ल्याउने उनको लक्ष्य रहेको छ । शाही भन्छन्, “सम्बन्धित पक्षलाई हाम्रो निरन्तर खबरदारी रहिरहने छ ।”



नयाँ