arrow

एमालेको संसदमा अवरोध, मन्त्री हटाउन नाराबाजी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
parliament-80-11-14a.jpg

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । विवादित मन्त्रीहरुलाई कारबाही गर्न माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको हो । 

एमालेका सांसदहरुले बैठकको शुरुआतदेखि नै नाराबाजी गर्दै बैठक अगाडि बढ्न नदिएका हुन् । विवादित एवं भ्रष्ट मन्त्रीहरुले राजीनामा नदिएसम्म बैठक अगाडि बढ्न नदिने उनीहरुले बताए । 

सभामुख देवराज घिमिरेले पटक पटक बैठक सञ्चालन गर्न दिन आग्रह गरे पनि बैठक अगाडि बढ्न नसक्दा बिहान ११ः३७ बजे १५ मिनेटका लागि स्थगित गरिएको हो । 

बैठकमा एमाले सांसदहरुले दूग्ध पीडित किसानको मागसँगै मिटरब्याजीका माग सम्बोधन गर्न नाराबाजी गरेका थिए । 

राप्रपासँगै रास्वपाले पनि विरोध गरेको छ । 

प्रतिपक्ष दलहरुले बालकुमारीमा गत पुस १३ गते भएको घटनाका दोषी मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । त्यस्तै भ्रस्ट र विवादित मन्त्रीलाई पनि हटाउन उनीहरुले माग गरेका छन् । 

के छ आजको कार्यक्रम ?

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने छन् । 

साथै राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने छ । 

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

अन्तिममा अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ