arrow

पूर्व सभामुख ढुङ्गानालाई प्रहरीले संसद भवन छिर्न नदिएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
damannath-dhungana.jpg

काठमाडौँ । कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका पूर्व सभामुख दमननाथ ढुङ्गानालाई प्रहरीले संसद भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् । मंगलबार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तर्संवाद कार्यक्रममा पूर्व सभामुख ढुङ्गानालाई अतिथिको रूपमा बोलाएको थियो । कार्यक्रम हुने स्थान सिंहदरबारस्थित कृषि समितिको सभाकक्ष थियो । तर ढुङ्गानालाई कार्यक्रम संसद भवनमा हुने सोचसहित नयाँ बानेश्वर पुगे । 

नयाँ बानेश्वर पुगेपछि प्रहरीले उनलाई भित्र छिर्न नदिएर यो र त्यो गेटमा जानुस् भनेर फनफनी घुमाएको बताए । उनले प्रहरीले आफूलाई घेरेको र निस्किन पाउँछु कि पाउँदिन भन्ने आफूलाई महशुुस भएको बताए । उनले अघिल्लो पटक संसद विघटन हुँदा एउटा सार्वजनिक कार्यक्रममा बोलेको आधारमा मुद्दा खेपिरहेको पनि कार्यक्रममा उनले जानकारी गराए । उनले तेस्रो पटक आफूलाई राज्यले कस्तो व्यवहार गर्ला भन्नेमा पनि त्रास रहेको बताए । 

सिंहदरबारस्थित कार्यक्रममा पुगेर सम्बोधन गर्ने क्रममा उनले भने – ‘मलाई अलिकति त्रास पनि छ । के भने यो धमला बैनीले बनाएको(कल्पना धमला) पहिलो कार्यक्रममा संसद विघटन हुँदा खेरी बाबुरामजी पनि बोल्नुभएको थियो । मैले केही भनेँ ममाथि अदालतको अपहेलनको मुद्दा लाग्यो । अहिलेसम्म नि म तारिखमै छु । त्यो बेला त तारिखमै बसियो । यसपालि त संसदमाअघि नै उता माथि पुगेछु । त्यहाँ यता दुई नम्बर गेटमा जा भन्छ । तीन नम्बर गेटमा जा भन्छ । प्रहरीले घेरेको घेरेकै छन् । त्यहाँबाट निस्किन पाउँछु कि पाउँदिन यसपालि त पक्राउ नै परेँ कि जस्तो पनि भयो मलाई । किनकि म भुलेछु उता भन्ठानेछु नानीले पनि भनिनन् । कति बेरसम्म यताबाट गेटमा जान्छु आर्मीले यता पनि होइन भन्छ, उता पनि होइन भन्छ । प्रवेश नै पाइनँ मैले । पहिले त म मुद्दामा मात्रै परेँ । यसपालि त पक्राउ नै परेँ जस्तो लाग्यो मलाई । अब तेस्रोचोटी के हुन्छ ? थाहा छैन ।’

सोमबार प्रतिनिधि सभा बैठक चलिरहेको बेलामा लघुवित्त पीडितहरू संसद भवन प्रवेश गरेर नाराबाजी गरेसँगै सङ्घीय संसद भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद भवन परिसर बाहिरको सडक पेटीमा समेत तारबार गरेर निषेधित क्षेत्र तोकिएको छ ।

कार्यक्रम आयोजक संस्था सभासद् मञ्च नेपालकी अध्यक्ष कल्पना धमलाले पूर्व सभामुख जस्तो व्यक्तिलाई समेत सिंहदरबार(पूर्व सभामुखलाई छिर्न नदिइएको स्थान भने संसद भवन नयाँ बानेश्वर हो) छिर्न गाह्रो परेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । 

उनले पूर्व सभामुख तथा संविधान सभा सदस्य र सांसदहरूलाई राज्यले सम्मान गर्नुपर्ने बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ