- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कुनै पनि देशमा पुँजी बजारलाई अर्थतन्त्रको ब्यारोमिटरको लिने चलन छ । अर्थतन्त्रका सूचकहरुहरुसँग शेयर बजारको प्रत्यक्ष सम्बन्ध हुने मान्यता राखिन्छ । यसको अर्थ अर्थतन्त्रका सूचकहरु नकारात्मक हुँदा शेयर बजार पनि वियरिस हुने र आर्थिक सूचकमा सुधार हुँदा शेयर बजारले बुलिस ट्रेन्ड लिने गरेको देखिन्छ ।
नेपालको शेयर बजारको सम्बन्ध अर्थतन्त्रका सूचकहरुसँग विगतदेखि नै अर्थतन्त्रसँग विपरीत सम्बन्ध ठीक उल्टो हुँदै आयो । यो चलन अहिलेको मात्रै नभएर करिब एक दशक अघिदेखिकै हो । २०७२ सालको गोरखा भूकम्पपछि नेपाली अर्थतन्त्र एकप्रकारले तहसनहस जस्तै भयो ।
भूकम्पपछि बन्द भएर खुलेको शेयर बजारमा त्यतिबेला निकै ठूलो उछाल देखियो । भूकम्प गएपछि घरका दराज र सिरानीमा रहेका पैसाहरु सबै बैंकिङ प्रणालीमा आए । त्यसले बैंकिङ क्षेत्रको तरलता बढायो । जसका कारण ३०० भन्दा तल झरेको शेयर बजार ११६५ अंकको विन्दुसम्म पुगेको थियो ।
त्यही अवस्थाको पुनरावृत्ति कोरोना महामारीपछि देखियो । कोरोना महामारीको लकडाउनका कारण करिब २ महिना बन्द भएको शेयर बजार खुलेपछि बजार १८८१ विन्दुसम्म पुगेको थियो। त्यस्तै ०२ भदौ २०७८ मा नेप्से अधिकतम ३१ सय ९८.६० विन्दु सम्म पुगरे हालसम्मकै उच्च विन्दु पुगेको थियो। सोहि दिन कारोबार रकम समेत २१ अर्ब माथिको भएको थियो। जबकि कोरोना महामारीको संकटले विश्व अर्थतन्त्रदेखि नेपाली अर्थतन्त्रसमेत तहसनहसको अवस्थामा पुगेको थियो।
यी त उदाहरण मात्रै हुन् । नेपालको शेयर बजारले अर्थतन्त्रका आर्थिक सूचकहरुलाई सकारात्मक रुपमा कहिलै सघाउ पुर्याएन । तर मौद्रिक सूचकहरुसँग भने शेयर बजार सधैँ नजिक रह्यो । नेपाली शेयर बजारको संरचनाका कारण यस्तो देखिएको थियो ।
केही समय अघिसम्म नेपालको शेयर बजारको ८० प्रतिशत भन्दा बढी हिस्सा बैंकिङ क्षेत्रले ओगटेको थियो । मौद्रिक सूचकहरुमा सकारात्मक परिवर्तन हुँदा शेयर बजारमा एकैपटक त्रिकोणात्मक रुपमा असर पथ्र्यो ।
पहिलो, बैंकमा निक्षेपको ब्याजदर सस्तो हुँदा शेयर बजारबाट प्राप्त हुने नाफा निक्षेपको ब्याजदरसँग प्रतिस्पर्धी बन्न पुग्थ्यो । निक्षेप राखेर भन्दा शेयर बजारबाट बढी आम्दानी हुने भएपछि लगानीकर्ताहरुले निक्षेपको पैसा शेयर बजारमा ‘सिफ्ट’ गर्थे ।
अर्कोतिर निक्षेपसँगै कर्जाको ब्याजदर सस्तो हुने तथा बजारमा तरलताको पर्याप्ततासँगै कर्जा सहज रुपमासमेत प्राप्त हुने भएकोले यसले ऋण लिएर लगानी गर्ने लगानीकर्ताको पहुँचसमेत बढाउँथ्यो । यसले पनि बजारलाई माथि लैजान सकारात्मक भूमिका खेल्थ्यो ।
तेस्रो प्रभाव भनेको बैंकिङ क्षेत्रको नाफाको हो । बजारको ब्याजदर घट्दा बैंकहरुको आधार दर सस्तो हुने हुँदा ऋणको ब्याजदर मात्रै होइन बैंकहरुको आम्दानी आम्दानीमासमेत सकारात्मक प्रभाव पाथ्र्यो । किनकि निक्षेपमा घटेको ब्याजदर जति नै कर्जामा घटाउनुपर्ने अवस्था हुँदैन । बैंकहरुले पर्याप्त स्प्रेड राख्दा बैंकिङ क्षेत्रका कम्पनीहरुको आधारभूत सूचकसमेत सबल हुन्थ्यो । यसले गर्दा पनि शेयर बजारलाई सकारात्मक नै प्रभाव पाथ्र्यो ।
अहिले पहिलोपटक यस्तो अवस्था आएको छ जहाँ मौद्रिक परिसूचकहरु निकै सकारात्मक छन् तर शेयर बजार घटिरहेको छ । अहिले वित्तीय प्रणालीमा करिब डेढ खर्बको अधिक तरलताको अवस्था छ । बैंकिङ क्षेत्रमा मुद्दती निक्षेपको ब्याजदर नै घटेर ४ प्रतिशतसम्म झरेको छ । यही पृष्ठभूमिमा पछिल्लो २० दिनमा शेयर बजारले करिब ११० अंकको क्षति व्यहोरेको छ । माघ २५ गते २०८२ अंकमा रहेको शेयर बजार बिहीबार १९७० अंकमा झरेको हो ।
यो अवस्थाका कारण पहिलोपटक मौद्रिक परिसूचकले शेयर बजारको साथ छोडेको देख्न सकिन्छ । आर्थिक सूचकका आधारमा अहिले पनि कमजोर मानिएको हाम्रो अर्थतन्त्रमा शेयर बजार समेत कमजोर देखिनुले वास्तवमै नेपालको शेयर बजार पनि वास्तविक अर्थतन्त्रको ऐना बन्न थालेको जस्तो समेत देखिन्छ ।
के ले उल्ट्यायो विगतको ट्रेन्ड ?
शेयर बजारका विश्लेषकहरु शेयर बजारमा मौद्रिक सूचकको प्रभाव पर्न छोडेको रुपमा मान्न तयार छैनन् । यद्यपि पछिल्लो समय देखिएका केही नीतिगत र केही व्यवहारिक समस्याका कारण मौद्रिक सूचकसँग शेयरबजार अलगिएको जस्तो देखिएको उनीहरुको भनाइ छ ।
मौद्रिक सूचकहरु सबल भएर पनि अहिले शेयर बजार घट्नुको मुख्य कारण बैंकिङ क्षेत्रको ऋणसम्बन्धी व्यवस्थामा भएको परिवर्तन, प्राथमिक बजारमै शेयरहरु प्रशस्त रुपमा आउनु, शेयर बजारमा वास्तविक क्षेत्रहरुको प्रवेश, अर्थतन्त्रसम्बन्धी जनताको विश्वास आएको संकट तथा सूचीकृत कम्पनीहरुले आगामी वर्ष दिनसक्ने प्रतिफलको सम्भावनालगायत रहेको उनीहरुको भनाइ छ ।
बैंकिङ ऋणमा कडाइ
नेपाल राष्ट्र बैंकले यतिबेला बैंकिङ क्षेत्रबाट प्रवाह हुने चालु पूँजी कर्जा तथा ओभरड्राफ्ट कर्जाहरुमा निकै कडाइ गरेको छ । यसअघि शेयर बजारमा हुने अधिकांश लगानी यिनै दुई शीर्षकमा बढी जाने गथ्र्यो । योसँगै शेयर बजारमा लगानी गर्न पनि मासिक किस्ता तिर्ने प्रकृतिको कर्जा लिनुपर्ने अवस्था छ ।
शेयर बजारका जानकार देव गुरागाई भन्छन्, ‘शेयर बजार मासिक आम्दानी हुने प्रकृतिको क्षेत्र होइन । मासिक किस्ता तिर्ने खालको ऋण लिएर शेयर बजारमा लगानी गर्नसक्ने अवस्था छैन ।’
ठूला लगानीकर्ताहरुले यसअघि ठूलो मात्रामा यस्तै ऋण लिएर शेयर बजारमा लगानी गरेको गुरागाईको अनुभव छ । अहिले सानो ऋण लिन जाँदा पनि बैंकहरुले ईएमआई ऋणमात्रै दिन खोज्छन् । त्यसैले यस्तो ऋणको माग हुनै छोड्यो । त्यसो त अहिले पनि शेयर बजारमा लगानी गर्न एउटा व्यक्तिले १२ करोड रुपैयाँभन्दा धेरै ऋण पाउँदैन ।
प्राथमिक बजारमै शेयर फालाफाल
त्यसो त पछिल्लो समय प्राथमिक बजारमै शेयर उच्च रुपमा सप्लाई हुन थालेको छ । प्रिमियम मूल्य भएका त्यस्ता कम्पनीका शेयर धमाधम निष्कासन हुँदै जाँदा एकातर्फ यसले दोस्रो बजारको माग घटाएको छ भने पहिलो बजारकै शेयर किन्न दोस्रो बजारमा भएको शेयर बेच्नुपर्ने बाध्यता समेत रहेको देखिन्छ ।
यसरी एउटा शेयर किन्न नै अर्को शेयर बेच्नुपर्ने अवस्थाका कारण शेयर बजार घटेको हुनसक्ने समेत विश्लेषकहरु बताउँछन्। पछिल्लोपटक बुक विल्डिङ विधिबाट निष्काशन भएको सर्वोत्तम सिमेन्टको शेयरका लागि मात्रै १० अर्ब रुपैयाँभन्दा बढीको आवेदन परेको छ। यसरी शेयर माग गर्न कुनै न कुनै रुपमा दोस्रो बजारको शेयर बिक्री गरिएको हुनसक्ने उनीहरुको तर्क छ ।
शेयर बजारमा वास्तविक क्षेत्रको प्रवेश
पछिल्लो समय शेयर बजारमा आएका कम्पनीहरुको संख्या हेर्ने हो भने वास्तविक क्षेत्रका कम्पनीहरुको शेयर निष्काशन हुँदा यसले शेयर बजारलाई वित्तीय क्षेत्रको पहुँचबाट केही टाढा र वास्तविक क्षेत्रसँग केही नजिक पुर्याएको देखिन्छ ।
शेयर बजारको अहिलेको अवस्थाको प्रमुख कारण यो नभए पनि कुनै न कुनै रुपमा यो पक्षको प्रभावलाई पनि विश्लेषकहरु स्वीकार गर्छन् ।
लगानीकर्ताको विश्वासको कमी
पछिल्लो समय अर्थतन्त्रमा देखिएको न्यून मागको समस्याको कारण उपभोक्तामा बजारप्रति देखिएको कन्फिडेन्सको कमी प्रमुख रहेको छ । यही अवस्था शेयर बजारमा पनि लागू हुँदै आएको छ ।
पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल निकट भविष्यमै शेयर बजारले राम्रो प्रतिफल देला भन्ने लगानीकर्ताको विश्वास कमजोर भएका कारण अहिले बजारमा नकारात्मक अवस्था देखिएको बताउँछिन् ।
यसको पछाडि अर्थतन्त्रको असरदेखि नियामक निकायको नेतृत्व गर्नेहरुसम्मप्रतिको अविश्वास कारण रहेको उनको भनाइ छ ।
सूचीकृत कम्पनीको आगामी वर्षको प्रतिफल
वास्तविक क्षेत्रका कम्पनीहरुको प्रवेशका बाबजुद अहिले पनि अर्थतन्त्रमा वित्तीय क्षेत्रकै दबदबा बढी छ । बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, पुनर्बीमा, जीवन बीमा, निर्जीवन बीमा लगायत कम्पनीहरु वित्तीय क्षेत्र अन्तर्गत नै पर्छन् ।
यी क्षेत्रबाट यो वर्ष त अपेक्षित प्रतिफल प्राप्त भएन नै अर्को वर्षसमेत प्रतिफलको आशा गर्नसक्ने अवस्था देखिँदैन । केही दिनअघि एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले आगामी वर्ष बैंकहरुले लाभांश दिनै नसक्ने अवस्था आउनसक्ने बताएका थिए ।
बैंकहरुमा बढ्दै गएको निष्क्रिय कर्जाको प्रभाव तथा बढ्दै गएको तरलतासँगै तत्कालै थप लगानी गर्न नसकेको अवस्थाका कारण यस्तो अवस्था देखिन सक्ने ढुंगानाको भनाइ थियो ।
देशकै सबैभन्दा बलियो वाणिज्य बैंकको प्रमुख कार्यकारीबाटै यस्तो वक्तव्य आउनुले बैंकिङ क्षेत्रमा संकटोन्मुख अवस्थालाई प्रष्ट बनाएको छ । यस्तै अवस्थाको असर समेत पछिल्लो समय शेयर बजारमा परेको हुनसक्ने विश्लेषकहरुको ठम्याइ छ ।