arrow

संसदबाट अनुगमन तथा मूल्याङ्कन विधेयक सर्वसम्मतिले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
parliament-toshima-karki.jpg

काठमाडौँ । प्रतिनिधि सभाको शुक्रबारको बैठकबाट ‘अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा पेस गरेकी थिइन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उक्त विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल भएको थियो । 

राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयकले विकास नीति तथा योजना, कार्यक्रम तथा आयोजनाको अनुगमन एवं मूल्याङ्कनलाई व्यवस्थित गर्ने उद्देश्य राखेको छ । विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाई सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्न यो कानून आवश्यक रहेको सञ्चारमन्त्री शर्माले बताइन् । 

बदलिँदो शासकीय स्वरुपअनुरुप विकास प्रक्रियालाई रुपान्तरण गर्न तथा विकासको मूलप्रवाहमा सबै वर्ग समाहित हुने वातावरण सिर्जना गर्न यो कानून आवश्यक रहेको मन्त्री शर्माले उल्लेख गरिन् । 

सङ्घ, प्रदेश र स्थानीय तहका विकास आयोजनाको अनुगमन तथा मूल्याङ्कनका आधार, चरण, मापदण्ड, अनुगमन गर्ने निकायलगायतका व्यवस्था विधेयकमा राखिएका छन् । 

अनुगमन एवं मूल्याङ्कनको काम नियमित तथा आवधिक रुपमा गर्ने, सार्वजनिक निकायका प्रमुखको जिम्मेवारी निर्दिष्ट गरी जवाफदेही बनाउनेलगायत लक्ष्य लिइएको छ । 

प्रतिनिधि सभाको अर्को बैठक यही फागुन २१ गते सोमबार बिहान ११ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ