arrow

धार्मिक पर्यटन

महाशिवरात्रीको अवसरमा मेला लाग्ने अलौकिक शक्तिपीठ धारपानी

धारपानी सुनकोट सर्टिकः पर्यटकीय क्षेत्रको नयाँ आयाम, केवलकारको आवश्यकता

logo
नारायण वली,
प्रकाशित २०८० फागुन २४ बिहिबार
Dharpani temlpe2.jpg

लुम्बिनी । अलौकिक शक्तिपीठ मानिने दाङको धारपानीमा फागुनमा पर्ने महाशिवरात्रीको अवसरमा मात्रै मेला लाग्ने बाहेक अरु समयमा सुनसान हुने गर्दथ्यो । ऐतिहासिक धार्मिक महत्व बोकेको पाण्डवेश्वर मन्दिर (धारपानी) धार्मिक महत्वमा महाभारतसँग जोडिएको स्थानीय वयोवृद्धहरु बताउँछन् ।

दाङको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारपानीमा ६ हजार किलो तौलको साढे ४१ फिट उचाइ रहेको विश्वकै सधैभन्दा ठूलो त्रिशुल राखिएको छ । जसका कारण आन्तरिक पर्यटकहरुको चहलपहल दिनहुँ जसो बढ्दै गएको छ ।

समुद्र सतहदेखि ६ सय ३३ मिटर उचाई र चुरे श्रृंखलाको काखमा रहेको धारपानी मन्दिरको महत्व विशेष रहेको बताइन्छ । पाण्डवहरु गोत्रहत्याको पापबाट मुक्त हुन स्वर्ग जाने क्रममा रिहारको गोरेटो बाटोबाट धारपानीमा बसेको, त्यहाँ शिवको आरधना गर्दै ज्योतिर्लिङ्ग स्थापना गरी त्यहा‘बाट स्वर्गद्वारी गएको धार्मिक इतिहासमा उल्लेख रहेको पुजारीको भनाइ छ ।

शक्तिपीठ भए पनि गुमनाम र सुनसान रहेको धारपानीमा विश्वकै ठूलो पञ्चधातुको त्रिशुल राखेपछि चहलपहल शुरु भएसँगै आन्तरिक पर्यटकहरुको रोजाइमा पर्दै आएको छ । 

धारपानी मन्दिरदेखि नजिकै अर्काे ऐतिहासिक धार्मिक क्षेत्र सुनकोट रहेको छ । जहाँ भक्तजन र पर्यटक जानलाई चार हजार ९ सय ६३ वटा सिँढी निर्माण गरिएको खड्गदेवी मन्दिर सुनकोट व्यवस्थापन समितिले बताएको छ । धारपानीदेखि करिवब एक घण्टाको उकालो पैदल दूरीमा रहेको सुनकोटमा केही वर्षअघि मानववस्तीसमेत रहेको र त्यहाँ खड्गदेवी मन्दिर स्थापना गरिएको मन्दिरका पुजारी रुपलाल डाँगीले जनाए ।

पुजारी डाँगीले पहिले तराईमा औलो लाग्ने भएकाले मानिसहरु नजिकका कोटहरुमा गएर बस्ने गर्थे । सशस्त्र द्धन्द्धको शुरुआत अघि उक्त मन्दिरमा सामूहिक पूजाआजा पनि गरिन्थ्यो । द्धन्द्धका कारण मानिसहरु जान छाडेपछि सो मन्दिर जिर्ण भई भग्नाअवशेषमा परिणत हुन पुग्यो ।

खड्गदेवी मन्दिरमा गरेको भाकल पूरा हुने जनविश्वास रहँदै आएकाले हाल सो मन्दिरको पुनःनिर्माण गरिएको छ । केही समयअघि मन्दिरको भग्नावशेष उत्खनन् गर्दा चाँदीका सिक्का र खुँडा फेला परेको र सोही आधारमा स्थानीय ढुंगाको प्रयोग गरी माटो र सिमेन्टरहित तरिकाले मन्दिरको पुनःनिर्माण गरिएको जनाइएको छ । 

यसअघि भारतको पिठौरागढमा २७ र पाल्पामा १७ क्विन्टल त्रिशुल राखिएकोमा सबैभन्दा ठूलो धारपानीमा राखिएको दावी धारपानी मन्दिर व्यवस्थापन समितिको छ।

घोराही बजारदेखि नौ किलोमिटर दूरीमा पर्ने, पञ्चधातु त्रिशूल निर्माण भएपछि आन्तरिक पर्यटकको गन्तब्य बनेको छ । अग्लो त्रिशूल, १०८ शिवलिङ्ग, १०८ वरपिपल जोडी, १०८ समीका वृक्ष, ॐकुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजङ्गल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बनेको स्थानीयहरुको भनाइ छ । 

दाङमा फुर्सदमा घुमफिर गर्ने पार्क नभएका बेला धारपानी पारिवारिक तथा युवायुवतीहरुको गन्तव्य बन्न पुगेको छ । जसले गर्दा पर्या–पर्यटनको विकास गर्न धारपानीमा चुरे पहाडमा रहेको अर्काे शक्तिपिँठ सुनकोट टापुमा जानलाई अब धारपानीको फेदीदेखि सुनकोट टापुसम्म पुग्न झण्डै ३ किलोमिटर दूरीमा केवलकार निर्माण गर्ने विषयमा बृहत् योजना, फन पार्क र प्राकृतिक सम्पदाको संरक्षण गर्दै भौतिक संरचनाहरुको विकास गरी पर्यटकहरुलाई भ्रमण गर्ने वातावरण बनाउनुपर्ने घोराही बनाउ अभियानका अभियन्ता सविन प्रियासनले बताए ।

उनी भन्छन्, 'पूर्वाधार विकास र बृहत् आध्यात्मिक पर्या–पर्यटकीय केन्द्रको रुपमा विकास गरेर पाण्डवेश्वर शिवधामलाई पश्चिम नेपालको पशुपतिनाथ मन्दिरको रुपमा विकास गर्न मन्दिर व्यवस्थापन समिति र सरोकारवाला निकायले चासो दिनुपर्छ ।' 

केवलकार सञ्चालन गर्न सकेमा दाङको सुनकोटस्थित खड्गदेवी मन्दिर पर्यटनका लागि नयाँ गन्तव्य बन्न सक्ने सरोकारवालाहरु बताउँछन् । प्रसिद्ध धार्मिकस्थल धारपानीको दक्षिण चुरे पहाडको टापुमा रहेको उक्त मन्दिर प्राचीन ऐतिहासिक र धार्मिक महत्वका हिसाबले पर्यटन क्षेत्रमा लुम्बिनी प्रदेशका लागि नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

सुनकोट टापुबाट दाङ उपत्यका, देउखुरी तथा भारतको तुलसीपुर बजार तथा उत्तरी हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिने भएकाले त्यसको क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकको रोजाईको केन्द्र बन्न सक्ने पर्यटन व्यवसायीहरुको धारणा छ । जहाँ आईएमई ग्रुपले सञ्चालनमा ल्याएको चन्द्रागिरी र बुटवलको केवलकार भन्दा लामो दूरी हुने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ