arrow

साताको शेयर विश्लेषण

अर्थमन्त्रीको आश्वासनदेखि गभर्नरको व्यवहारले थामिएको शेयर बजार

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
share-market-80-11-25.jpg

काठमाडौँ । अघिल्लो साताको अन्तिम दिन शेयर बजार परिसूचक १९७२.०९ अंकमा बन्द भएको थियो । शेयर बजार बन्द हुँदा त्यतिबेला देशको राजनीतिक अवस्था अर्कै थियो । देशमा लोकतान्त्रिक वामगठबन्धनको नाम दिइएको कांग्रेस–माओवादीको सत्ता गठबन्धन थियो । 

यो साताको अन्तिममा आइपुग्दा अवस्था ठ्याक्कै उल्टो छ । अहिले एमाले–माओवादी सहितको वामगठबन्धन बनेको छ, कांग्रेस प्रतिपक्षको बेञ्चमा पुगेको छ । सो परिस्थितिबीच शेयर बजार परिसूचक २०३०.५५ अंकमा छ । 

राजनीतिक उतारचढावबीच यो साता बजार परिसूचक करिब ५८ अंकले वृद्धि भयो । यो वृद्धिसँगै यो साता शेयर बजारमा लगानीकर्ताको सम्पत्ति करिब ९२ अर्ब रुपैयाँले बढेको छ । अहिले शेयर बजारको कुल सम्पत्ति ३१ खर्ब ९१ अर्ब रुपैयाँ छ । 

व्यक्तिगत प्रभाव कि राजनीतिक असर ?
गर्मिएको राजनीतिक घटनाक्रमले सोमबार एकैदिन शेयर बजारमा ११७.७० अंकको शतकीय योगदान दिएको थियो । त्यो दिन एकैदिन तीन पटकसम्म सर्किट ब्रेकर लागेर बजार बन्द भयो । बजारमा करिब ३७ मिनेटमात्रै कारोबार हुँदा उक्त दिन लगानीकर्ताको सम्पत्ति एकैदिन १ खर्ब ८५ अर्ब रुपैयाँले बढ्न पुग्यो । 

तर यसमा राजनीतिक समीकरण भन्दा व्यक्तिको प्रभाव बढी हावी भएको देखिन्छ । अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आउने हल्लाका कारण बजारमा यस्तो उछाल आएको थियो । अर्थमन्त्रीमा वर्षमान पुन आउने भनिएपछि भोलिपल्टै भएको करेक्सनलेसमेत पुष्टि गर्छ । 

विगतमा अर्थमन्त्री हुँदा शेयर बजारप्रति नरम देखिएका तथा सोही कारण बजारले नयाँ–नयाँ रेकर्ड बनाउँदै गएका कारण यसपटक पनि शेयर बजार पौडेलप्रति सकारात्मक देखिएको थियो । सोही कारण उनी आउने हल्लापछि बजार बढेको थियो । तर पुन अर्थमन्त्री हुने थाहा भएपछि मंगलबारको बजार करिब ७० अंकले करेक्सन भयो । जसबाट लगानीकर्ताले १ खर्ब ११ अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाए ।

शेयर बजारका विश्लेषक देव गुरागाई पनि उक्त उतारचढाव राजनीतिक घटनाक्रम भन्दा व्यक्तिको कारणले सिर्जना भएको बताउँछन् । एउटा व्यक्तिको नाममा शेयर बजार सर्किट लाग्नु र अर्को व्यक्ति आउँछ भन्दा फेरि घट्नुले अर्थमन्त्रीको अनुहारका आधारमा बजार परिर्वन भएको उनको भनाइ छ । 

यद्यपि अहिलेको अवस्थाले पौडेलसँगजस्तो नभए पनि पुनसँग पनि बजार आशावादी नै रहेको उनको विश्लेषण छ ।

नयाँ अर्थमन्त्रीले दिएको सकारात्मक आश्वासन
त्यसो त अर्थमन्त्री नियुक्तिको भोलिपल्ट अर्थात् बिहीबार बजार सामान्य तर सकारात्मक रह्यो । सो दिन बजार परिसूचक १३.५१ अंकले बढेको थियो । 

यसरी पहिलो दिन बजार सकारात्मक हुनुमा अर्थमन्त्री वर्षमान पुनले कार्यभार सम्हाल्नेबित्तिकै शेयर बजारको बारेमा दिएको सकारात्मक प्रतिक्रिया र नयाँ अर्थमन्त्रीप्रति गभर्नरले देखाएको सौहार्दतालाई कारण मानिएको छ । 

पदभार ग्रहण गर्दै पुनले शेयर बजारका ६० लाख लगानीकर्ताको मनोबल बढाउन र हकहितको संरक्षण गर्न नीतिगत र संरचनागत सुधारको गर्ने बताएका थिए । त्यतिमात्रै नभएर आफ्नो अघिल्लो कार्यकालमा पनि शेयर बजार बढेको भन्दै यो कार्यकालमा पनि शेयर बजारले गति लिने बताएका थिए । 

यद्यपि विश्लेषक गुरागाई यस्तो भनाइले बजारमा ठूलो असर पार्ने विश्वास गर्दैनन् । उनी भन्छन्, ‘यस्तो भनाइहरु रेडिमेड ढंगले बोल्न लगाइएका हुन्छन् । त्यसबारे लगानीकर्तालाई थाहा छ, त्यसैले यही स्टेटमेन्टका कारण बजार बढ्यो वा घट्नबाट रोकियो भन्ने मलाइ लाग्दैन ।’   

गभर्नरले अर्थमन्त्रीप्रति देखाएको सौहार्दता
अर्थमन्त्रीसँग सधैँ प्रतिपक्षीजस्तो देखिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेत यसपटक अर्थमन्त्री पुनप्रति सौहार्द देखिए । गभर्नर अधिकारीले बुधबार लामो समय कुरेर पुनलाई अर्थ मन्त्रालयमा स्वागत मात्रै गरेनन् समय मागेरै बोले र दुई निकाय मिलेर अर्थतन्त्रको समस्या समाधान गर्ने भन्दै सकारात्मक प्रतिक्रिया समेत दिए । यो सौहार्दले पनि शेयर बजारलाई सकारात्मक बनाउन भूमिका खेलेको देखिन्छ ।

अघिल्ला अर्थमन्त्री डा. प्रकाशशरण महतसँग गभर्नर अधिकारीको सम्बन्ध त्यति राम्रो थिएन । सतहमा नदेखिए पनि उनीहरुबीचको विवाद बेलाबेलामा आइरहेकै थियो । 

अघिल्लो वर्ष चुनावभन्दा अगाडि अर्थमन्त्री भएका जनार्दन शर्मासँग त झन् उनको सम्बन्ध पानी बाराबारकै थियो । शर्माकै जोडबलमा तत्कालीन मन्त्रिपरिषद्ले अधिकारीलाई निलम्बनसमेत गरेको थियो । अदालतको आदेशपछि मात्रै अधिकारी काममा फर्किएका थिए ।

२०७६ चैतमा गभर्नर बनेका महाप्रसादको कार्यकाल अब १३ महिना मात्रै बाँकी छ । राजनीतिक घटनाक्रम फेरि उलटफेर नभए पुन नै उनको कार्यकालका अन्तिम अर्थमन्त्री हुनेछन् । 

त्यसैले अधिकारीले सरकारसँग सम्बन्ध सुधार गर्न चाहेको जस्तो देखिन्छ । यो अवस्थाले समेत बजारलाई सकारात्मक बनाउन भूमिका खेलेको विश्लेषण गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ