arrow

गलेश्वर मन्दिरमा चार लाख बढी भेटी सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
galeshwor dham.jpg
फाइल तस्बिर

म्याग्दी । बेनी नगरपालिका-९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन रु ४ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी शनिबार बिहान गनिएको हो ।

यस वर्षको महाशिवरात्रि पर्वमा रु चार लाख २९ हजार ३ सय ८८ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया पुनले जानकारी दिइन् ।

पश्चिमको पशुपतिनाथका रूपमा परिचित गलेश्वरमा शिवरात्रिमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायत स्थानबाट करिब ५० हजार भक्तजन दर्शन गर्न आएका कोषाध्यक्ष पुनले बताए ।

महाशिवरात्रि पर्वमा कालीगण्डकी स्नान र गलेश्वरमा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । खेतीबाली लगाउने किसान फुर्सद, मौसम अनुकूल र बेनी-गलेश्वर सडक कालोपत्र भएकाले विगतको तुलनामा यसपालि भक्तजन आगमन बढेको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए ।

जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लब र आमा समूहका स्वयंसेवकको सहभागितामा महाशिवरात्रि मेलालाई व्यवस्थित गरिएको थियो ।

साउनको सोमबार, बालाचतुर्दशी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा भेटी गन्ने गरिएको छ ।

गत साउनदेखि यता रु ३७ लाख ९८ हजार सात सय पाँच भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए ।

गलेश्वरमा सङ्कलन भएको भेटी शालिग्राम वेद विद्याश्रम, ज्येष्ठ नागरिक आश्रम, कोषको कार्यालय सञ्चालन र भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ