arrow

पहिलोपटक श्रम स्वीकृति लिएर विदेश जाने तथा पुनः श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै घट्यो

रेमिट्यान्स आप्रवाहको उत्साह माघमा देखिएन, अघिल्लो वर्षको माघको तुलनामा भने सामान्य बढी, चालु खाता नाफामा पनि ‘ब्रेक’

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
nepal-rastra-bank.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । रेमिट्यान्स आप्रवाहको उत्साहपूर्ण अवस्था माघ महिनामा ब्रेक लागेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८०–८१ माघ महिनाको विवरणअनुसार माघ महिनासम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । पुससम्म यो आकार ७ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो । यस अनुसार माघ महिनामा रेमिट्यान्स १ खर्ब ६ अर्बमा झरेको हो ।

यसअघि पुसमा १ खर्ब २० अर्ब, मंसिरमा १ खर्ब ३५ अर्ब, कात्तिकमा १ खर्ब १२ अर्ब, असोजमा १ खर्ब ३७ अर्ब, भदौमा १ खर्ब १२ अर्ब र साउनमा १ खर्ब २८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको थियो । 

यद्यपि अघिल्लो वर्षको माघको तुलनामा भने यो सामान्य बढी हो । अघिल्लो वर्ष माघमा १ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । 

रेमिट्यान्स घटेसँगै नेपालको चालु खातामा देखिँदै आएको नाफासमेत यो महिनामा शून्यजस्तै देखिएको छ । अघिल्लो महिनासम्म १ खर्ब ६१ अर्ब ६२ करोड नाफामा रहेको चालु खाता यो महिना १ खर्ब ६१ अर्ब ६९ करोड पुगेको छ ।

अघिल्लो ६ महिनामा मासिक औसत २६ अर्बभन्दा बढी रहेको चालु खाता नाफा यो महिनामा ७ करोडमा झरेको हो । 

रेमिट्यान्सको यो अवस्थासँगै नेपालसँग माघ मसान्तसम्म रहेको सञ्चिति १३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यो सञ्चितिले १२.३ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो महिनासम्म १२.१ महिनासम्म धान्ने सञ्चिति कायम थियो । 

चालु खाता सन्तुलनको अवस्थामा पुगे पनि माघ महिनामा शोधनान्तर अवस्था भने यो महिना पनि करिब २४ अर्बले बढेर २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर अवस्था देशमा भित्रिएको र बाहिरिएको कुल विदेशी मुद्राको अन्तर हो । 

यो अवधिमा उपभोक्त मुद्रास्फीति ५.१ प्रतिशत छ । सरकारले यसलाई ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको थियो । यो अवधिमा भएको मूल्यवृद्धि सरकारी लक्ष्यभित्रै रहेको देखिएको छ । 

साउनको तुलनामा माघसम्म देशको विस्तृत मुद्राप्रदाय अर्थात् बैंकिङ क्षेत्रको निक्षेप तथा बजारमा प्रचलित नोटको आकार विस्तृत मुद्राप्रदाय ७ प्रतिशतले बढेको छ । अघिल्लो माघको तुलनामा यस्तो वृद्धिदर १३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

७ महिनाको यो अवधिमा पहिलोपटक श्रम स्वीकृति लिएर विदेश जाने तथा पुनः श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै घटेको छ । 

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या २ लाख ४७ हजार र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार १ लाख ६७ हजार रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ