arrow

नेपाल भारतबीच सांस्कृतिक सेतु माध्यमिकी परिक्रमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
madhyamiki-mithila.jpg

महोत्तरी। नेपाल भारतबीच सांस्कृतिक आदानप्रदानका कैयौँ अवसर छन् । यसमध्ये मङ्सिर शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने रामजानकी विवाह महोत्सव र फागुन शुक्लपक्षको मिथिला माध्यमिकी परिक्रमा मुख्य हुन् । यी दुवै सांस्कृतिक उत्सवमा नेपाल र भारतका साधुसन्तदेखि सर्वसाधारणसम्म सहभागी हुने गर्दछन् । 

यी दुवै अवसर श्रीराम तथा श्री जानकीसँग अन्तरसम्बन्धित छन् । रामजानकी विवाह महोत्सव रामसीताको विवाह भएको सम्झना र मिथिला माध्यमिकी परिक्रमा श्रीराम जानकीले विवाहपश्चात् विहार गर्ने क्रममा घुमफिर गरेका पदचापको अनुसरण हो । 

प्राचीन मिथिला (विदेह) राज्यको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा राखेर वृत्तमा परिक्रमा गरिने मध्यमा परिक्रमाको लस्कर सोमबार यात्राको दोस्रो दिन भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर (कलना) पुगेको छ । यस क्रममा सबैले सीयाराम नाम सङ्कीर्तन गर्दछन् भने पिठ्यूँमा सामल खाजा र फेरफार लुगाको पोको हुन्छ । खाली खुट्टाको यात्रा रहन्छ सबैको एउटै कामना मोक्ष र कल्याण हुने गर्दछ । वास्तवमै मिथिला माध्यमिकी यात्रा अलौकिक हुने गरेको भारतको सीतामढी जिल्लाको हनुमाननगरका सन्त ७० वर्षीय हनुमानशरण दास बताउँछन् ।

उन भन्छन् “यो अलौकिक यात्रा हो । यो भगवत कृपाले जोडिएको छ र सबै १५ दिनका लागि सांसारिक मायामोह त्यागेर लाग्ने गर्दछन् । यो यात्राले नेपाल भारतका सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने गरेको छ ।” यस यात्रामा नेपाली र भारतीय नागरिक सहभागी हुन्छन् । मिथिलामा विवाहपश्चात् जन्ती घर फर्कने र दुलहा ससुराली घरमै बस्ने चलन छ । यसअनुसार राजा दशरथ जन्ती लिएर अवध (अयोध्या) फर्के पनि श्रीराम जनकपुरमै रहनुभएको र सीताजीका साथ विभिन्न तीर्थस्थलको भ्रमण र वनविहार गरेको प्रसंग मिथिला माहात्म्यमा वर्णित छ । 

फागुन औँसीदेखि शुरु भई शुक्लपक्षभरिका १५ दिनको यो यात्रामा १५ रात्रि विश्रामको स्थापित परम्परा छ जसमा नेपालतर्फ छ रात धनुषा, पाँच रात महोत्तरी र भारततर्फ चार रात बिताउने गरिन्छ । जनकपुरधामलाई केन्द्रमा राखेर एक सय ३३ किलोमिटरको वृत्तमा यो यात्रा गर्ने गरिन्छ । मिथिला माध्यमिकी परिक्रमा र यसको समापनसँगै रामायणकालीन कथा र सत्ययुगको राजा हिरण्यकशिपुले विष्णुभक्त छोरा प्रह्लादलाई अनेक कष्ट दिएको र अन्त्यमा हिरण्यकशिपु र उनकी बहिनी होलिकाको अन्त्य भई भक्त प्रह्लादको रक्षा भएको कथासमेत मिसिएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ