arrow

कांग्रेस-एमाले मिलेर देखाउन प्रचण्डको चुनौती [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
prachanda-11-30.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई एमालेसँग मिलेर देखाउन चुनौती दिएका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस-एमाले मिले तपाईँको हालत के हुन्छ ? भनि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाललाई प्रश्न गरेका थिए । जवाफमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले एमालेसँग मिलेर सरकार बनाएर देखाउन कांग्रेसलाई चुनौती दिएका हुन् । 

उनले कांग्रेस एमालेसँग मिल्छ भनेर आफूलाई दबाबमा पार्ने भ्रम नपाल्न पनि कांग्रेस नेतृत्वलाई सचेत गराए । ‘देउवा एमालेसँग बोल्नुस्, म भन्छु-बोली फर्काउनुस् र बनाउनुस् सहकार्य दुई दलको’ भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले आफू त्यसबाट दबाबमा नपर्ने पनि बताए । उनले कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको र आफूले गृहमन्त्री बनाउँदा विरोध गरेर दोहोरो चरित्र देखाएको आरोप पनि लगाए ।

प्रधानमन्त्री दाहालले भने, ‘ठूला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिलो पनि भनियो । आज पनि भनियो । मेरो त कामना छ-तपाईँहरू मिल्नुस् । सबै मिल्नुस् । तपाईँहरू सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरी देश र जनताको पक्षमा, संविधानको रक्षामा पक्षमा, राष्ट्रियताको सुदृढीकरणको पक्षमा लडिराख्छ । तपाईँहरूलाई लागेको छ-प्रचण्ड त्यसो भनेर डराउँछ भनेर ? नेपाली कांग्रेसका नेता साथीहरूलाई यदि यो लागेको छ भने सबै मिलेर तेरो हालत के हुन्छ भन्ने लागेको छ भने हिजो त तपाईँहरू सबै मिलेर टाउको काटन खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भन्ने ठान्नु भएको छ ? त्यस्तो हुँदैन । सक्नु हुन्छ-मिल्नुहोस् । तर को राजनीतिक दल कति बेला कोसँग मिल्छ भन्ने कुरामा हरेक राजनीतिक दल स्वतन्त्र छन् । आफ्नो हिसाबकिताब राख्न । फाइदा हुन्छ भने मिल्ने हो । राजनीतिक रूपमा आफूलाई हित हुन्छ भन्ने देखियो भने त्यसले आफ्नो जनतामा प्रभाव विस्तार गर्न मद्दत पुग्छ भन्ने लाग्यो भने एक खालको गठबन्धन बन्ने हो । यदि त्यस्तो लागेको भने त्यो गठबन्धन छोडने हो । यो स्वतन्त्रता हर राजनीतिक दललाई छ । राजनीतिक दल जति बेला मलाई अनौठो लाग्ने, सबभन्दा नमिठो लाग्ने कुरा के हो भने अहिले यहाँ पनि प्रश्न उठ्यो, प्रश्न उठेका मान्छेलाई मन्त्री बनाउने ? के हो यो भनेर पनि उठ्यो । मलाई त थाहा छ नि त्यो कुरा पनि । तिनैलाई प्रधानमन्त्री बनाउन पनि हिँडिराखेको कुरा देखिएकै छ । यति धेरै डबल स्टयाण्डरको कुरा हामी किन गर्ने ? आफूतिर आउँछ भने प्रधानमन्त्री बनाउन पनि तयार । आउँदैन भने भ्रष्टाचारी, यो मुद्दामा परेको, कारबाही गर्नु पर्छ । यस्तो डबल स्टयाण्डर चल्छ ? त्यस कारण म यदि ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले आज यहाँ हाम्रो माननीय पूर्व प्रधानमन्त्री केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा प्रयोग गर्नु भयो उनले एउटा मर्मको साथ । उनले प्रयोग गरेको बुझे मैले । र, उता पट्टी माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अव बोल्ने हो भन्नु भयो । बोल्नुस् । म भन्छु-बोली फुकाउनुस् । बनाउनुस् सहकार्य । माओवादी केन्द्र वा प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुस् । मैले भने राजनीतिक दल सबै स्वतन्त्र छन् आफ्नो हित र आफूले बुझेको राजनीतिक मुद्दा अनुसार देशको हित, जनताको हित कसरी हुन्छ भन्ने आफ्नो मान्यता अनुसार नै गठबन्धन बन्ने हो, टुटने हो । मैले अस्ति पनि संक्षिप्तमा तर मैले जानेसम्म सारगर्भित रूपमा र सटिक रूपमा मैले भन्ने कोसिस गरेको थिए-यो अहिलेको नयाँ गठबन्धन राजनीतिक कारणले बन्दै छ है भ्रम नपरोस् । मैले धोका, बेइमानी, षडयन्त्र यस्ता केही पनि शब्द प्रयोग गरेको थिइन । मैले अघिल्लो गठबन्धनका नेताहरूलाई धन्यवाद भन्दै तर राष्ट्रको बृहत्तर हितका निम्ति, संविधानको रक्षाको निम्ति र जनताको विकासको आकाङ्क्षालाई सम्बोधन गर्न मलाई यतिबेला यसरी सजिलो पर्छ भन्ने लाग्यो । एक वर्षको अनुभव अन्तिमसम्म आउँदा राम्रो भएन भन्ने मलाई लाग्यो । मेरो पार्टीलाई लाग्यो, मेरो दललाई लाग्यो । मैले स्वतन्त्रतापूर्वक निर्णय गरेँ । म यो सम्मानित सदनमा यो कुरा पनि जानकारी गराउन चाहन्छु-मेरो अगाडि दुइटा मात्रै विकल्प देखेँ । पुरानो गठबन्धनलाई कन्टिन्यूउ गर्नु भनेको दिन काट्ने, काल पर्खनेजस्तो हुन लाग्यो । जुन कुरा माओवादी केन्द्रलाई र त्यसको अध्यक्षको नाताले मलाई स्वीकार्य हुन सक्दैनथ्यो । प्रधानमन्त्री बनिराख्ने, जेजे भए पनि भईराखोस । विकास भएन होस, नभए नि होस भन्न सक्दैनथे मैले । त्यस कारण मैले मेरो दलका कुरा राखेँ । यता मैले अव राजीनामा दिनुपर्छ । मैले यो भन्दा अगाडि देशलाई लैजाने सम्भावना देखिन । त्यस कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु भन्नुपर्नेछ । या मैले अर्को गठबन्धन बनाएर एकचोटी फेरि काम गर्ने सम्भावना छ भने मैले त्यता पहल गर्नुपर्नेछ भनेपछि हाम्रो दल सर्वसम्मत ढङ्गले नयाँ ंढंगले पहल गर्न जरुरी छ भन्ने निष्कर्षमा पुगेपछि बनेको गठबन्धन हो यो । त्यस कारण आवेगमा आएर पनि होइन, कसैलाई सरप्राइज दिने उद्देश्यले पनि होइन । सोचे, बिचारेर, यो राष्ट्रको हित कसरी होला, जनताको विकास, समृद्धिको जुन आकाङ्क्षा छ । त्यसलाई अधिकतम कसरी सम्बोधन गर्न सकिएला ? भन्ने उद्देश्यमा धेरै सोचविचार गरेर नै लिइएको फैसला हो । त्यस कारण अस्ति पनि, आज बिहान प्रस्ताव प्रस्तुत गर्दै गर्दा पनि मैले राष्ट्रको बृहत्तर हित, जनताको विकासको आकाङ्क्षा, समृद्धिको र सुशासनको आकाङ्क्षालाई सम्बोधन गर्ने र संविधानको रक्षाको निम्ति मैले यो कदम चाल्न उचित छ भनेर यो कदम चालेको छु ।’

प्रधानमन्त्री दाहालले देशलाई बृहत्तर हितका लागि एमालेसहितको नयाँ गठबन्धन आफूले बनाएको पनि दोहोर्‍याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ