अर्को पदाधिकारी बैठकले महराको विषयमा टुङ्गो लगाउने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
1k
Shares
काठमाडौँ । माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा अर्को पदाधिकारी बैठकमा टुङ्गो लगाउने भएको छ ।
आज बसेको पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएसँगै सो निष्कर्ष निस्किएको हो ।
मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको थिए ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष महरा पक्राउ परेको विषयमा पदाधिकारी बैठकमा छलफल भएको र पार्टीले पुनः बैठक बसेर निर्णय गर्ने बताए ।
सुन प्रकरणमा सोमवार भैरहवाबाट उपाध्यक्ष महरालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ ।
उनले भने, ‘तपाईँहरूले जान्न खोज्नुभएको उपाध्यक्ष कमरेड कृष्णबहादुर महराको बारेमा छ । हाम्रो धेरै राम्रोसँग छलफल भइरहेको छ । यसका हरेक पाटा पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ । छलफल जारी छ । छिटो भन्दा छिटो निष्कर्षमा पुग्छौँ ।’
उनले महरा पक्राउ परेको सम्बन्धमा विविध पक्षबाट छलफल भएको र पार्टीको अर्को पदाधिकारी बैठकले महराको विषयमा आधिकारिक रूपमा टुङ्गो लगाउने बताए ।