arrow

सुन तस्करी प्रकरण

महरालाई जमानीमा छाडिएपछि रविको यस्तो स्पष्टीकरण 

काम गर्न नसकेको बेला मात्रै राजीनामा दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
ravi-lam-press-meet.jpg

काठमाडौँ ।सुन तस्करी प्रकरणमा पक्राउ परेका  माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् । सुन तस्करीको कसुरमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका महरालाई हाजिरी जमानीमा छोडिएको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले यस्तो स्पष्टीकरण दिएका हुन् ।

 बिरामी भएर ८-१० वटा औषधि दैनिक सेवन गरिरहेका महरालाई राज्यले करुणाभाव देखाएर हाजिरी जमानामा छाडेकाले त्यसलाई त्यसै छोडिएको भन्न नमिल्ने जिकिरसमेत गरे । 

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लामिछानेले भनेको बेलामा उनलाई अनुसन्धानका लागि उपस्थित गराउने सक्ने गरी हाजिरी जमानीमा छाडिएकाले त्यसलाई अतिरञ्जित नगर्न पनि सबैलाई आग्रह गरे ।

उनले भने, ‘हो कहिलेकाहीँ मानवीय समवेदना र करुणाका कुराहरू छाउँछन् । कृष्णबहादुर महराका विषयमा कतिपय कुराहरू आइरहेका छन् । ८-१० वटा औषधि सेवन गरिरहनुभएको छ । अत्यन्त धेरै बिरामी हुनुहुन्छ । सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरालाई इङ्गित गरेको छ । र कतिले उनलाई देखायो, छोड्यो भनेर तुरुन्तै निराशा जनाउन भएको छ । राज्य निर्मम पछि हुन्छ, कठोर पनि हुन्छ । तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ । त्यसैले अत्यन्त धेरै बिरामी, अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनु पर्दैन । भनेको बेला, चाहेको बेलामा उपस्थित हुने गरी हाजिरी जमानीमा उन हुनुहुन्छ । अदालतले समेत भनिसकेको छ कि उनको स्वास्थ्य अवस्था कमजोर छ । त्यस कारण यसलाई पनि लिएर अनेक टीकाटिप्पणी भएको हामीले सुनेका छौं । दोषी कोही पनि उम्कँदैनन्, निर्दोष कोही पनि फस्दैनन् । निर्धक्क हुनुहोला । नआत्तिनु होला, धैर्य गर्नुहोला । मैले अघि भनेजस्तै माछा ठुलो होस्, चिप्लो होस, बाठो होस, जस्तोसुकै होस । उम्कँदैन । माछा उम्केको एक मिनेटमा पदबाट राजीनामा दिएर आउँछु ।’

उपप्रधानमन्त्री लामिछानेले कांग्रेसले आफ्नो राजीनामा माग गर्दै संसद अवरुद्ध पारेकोमा आपत्ति जनाउँदै काम गर्न नसकेको बेला मात्रै आफूले राजीनामा दिने बताए । तर एउटा चिर्कटोमा हालेको उजुरीको आधारमा आफूले राजीनामा दिन नसक्ने उपप्रधानमन्त्री लामिछानेको भनाई थियो । उनले नेपाली कांग्रेसले नैतिकताको कुरा आफूमाथि देखाए पनि तत्काल स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री पदमा नै बहाल रहेर अख्तियारमा दिएको बयान दिँदा पनि सरकारबाट फिर्ता नबोलाएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘संसद अवरुद्ध पारिएको छ । अनेक बहाना बनाएको छ । प्रधानमन्त्रीको जवाफ मागेको थियो, जवाफ आयो । अब हुँदैन प्रधानमन्त्रीको जवाफ अब संसदीय समिति चाहिन्छ भन्ने सुनिरहेको छु मैले । गृहमन्त्रीको राजीनामा पनि मागिएको छ भन्ने मैले सुनिरहेको छु । म स्पष्ट पार्न चाहन्छु–काम गर्न नसकेको बेला तपाईँहरूले संसद वा सडकमा राजीनामा माग्दै पर्दैन । रास्वपाका मान्छेहरू खल्तीमा र आफ्नो ब्यागमा राजीनामा बोकेर हिँडेका छन् । तर कसैले एउटा चिर्कटोमा हालेको उजुरी प्रहरी कार्यालयको ड्रयरमा बसेको उजुरीमा राजीनामा दिने चिज माग्ने नेपाली कांग्रेस, जो अस्तिसम्म झन्डा हल्लाएर अख्तियारमा बयान दिने मन्त्री बोकेर हिँडेको थियो । अस्ति रोष्टम घेर्न जाँदा त म हल्लिँदै गरेको अवस्थामा तिनैलाई देख्दै थिएँ म त । राजीनामा दे, राजीनामा दे भन्ने को रहेछन् भनेको त अख्तियारमा झन्डा हल्लाउँदै बयान दिन जाने मान्छेको पो भुँडी हल्लाई हल्लाई रोष्टमा पुगेका रहेछन् । ए, आफू सरकारमा बसुन्जेल त्यो नैतिकता नचाहिने ? अनि त्यतिखेर नैतिकता देखाएर हाम्रो मन्त्रीलाई निकाल्यौ भनिदिएको भए हुन्थ्यो नि त । निकाल्नुभएन । प्रधानमन्त्रीले गलहत्त्याउनु प¥यो । अनि नैतिकता उहाँहरुले मसँग खोज्नुभएको छ । के अप्ठ्यारो छ भने नेपाली कांग्रेसका साथीहरूलाई बुझेको केही छैन, तर सबै बुझेको जस्तो पनि गर्नुपरेको छ । त्यो समस्यामा उहाँहरु हुनुहुन्छ । म एउटा स्पष्ट कुरा राख्न चाहन्छु । मेरो विषयमा पटक पटक हाम्रो बारेमा बुझ्नुहोला, सोध्नुहोला भनेर आन्तरिक लोकतन्त्रलाई स्पष्ट पारेर बैठक चलाएको छौं हामीले । मेरो विषयमा प्रश्न उठेका विषयमा हामीले यथेष्ट संवाद गरेका छौं । र मैले त्यसलाई सार्वजनिक पनि गरेको छु । तर मेरो जवाफ संसद्मा सुन्ने धैर्य पनि प्रमुख प्रतिपक्षले राखेन । मैले जवाफ दिन पाएको भए त्यो कुरालाई अझ स्पष्ट पाथ्र्ये । र, यति ठुलो इतिहास बोकेको दल ठाडो उजुरीमा किन सदन नै अवरुद्ध पार्न पुग्यो ।’

उपप्रधानमन्त्री लामिछानेले नेपाली कांग्रेसले आफ्नो कुरा सुन्ने धैर्यता समेत नराखेको भन्दै आक्रोश व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ