arrow

युद्धग्रस्त युक्रेन नेपालको चौथो ठूलो आपूर्तिकर्ता, १५४ मध्ये २८ देशसँगको व्यापारमात्र नाफामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
russia-ukraine-war-bakhmut.jpg
तस्बिर – फाइल, युद्दग्रस्त युक्रेन ।

काठमाडौँ । युद्धग्रस्त मुलुक युक्रेन नेपालको चौथो ठूलो आपूर्तिकर्ता मुलुक बनेको छ । चालु वर्षको फागुनसम्म युक्रेनले नेपालमा १४ अर्ब ३७ करोडको मालसामान पठाएको छ, अघिल्लो वर्ष युक्रेनले नेपालमा १२ अर्ब ५८ करोडको सामान निर्यात गरेको थियो । 

युक्रेनबाट भएको आयात भारत, चीन र संयुक्त अरब इमिरेट्स पछिकै सर्वाधिक धेरै हो । अघिल्लो वर्ष युक्रेन सातौँ स्थानमा थियो । अघिल्लो वर्ष इन्डोनेसिया, अर्जेन्टिना र मलेसियाबाट हुने आयात युक्रेनको भन्दा धेरै थियो । 

फागुनसम्म नेपालले १५४ देशसँग व्यापार गरेको छ । त्यसमध्ये डेनमार्क, नर्वे र अफगानिस्तानसहित २८ देशसँग व्यापार नाफामा छ भने बाँकी १२६ देशसँगको व्यापार नोक्सानमा छ ।

युक्रेनबाट के के हुन्छ आयात ? 
नेपालमा युक्रेनबाट मुख्यतया सूर्यमुखी तेल र सर्सिउँको दाना आयात हुने गरेको छ । चालु आर्थिक वर्षको पहिलो फागुन महिनासम्म नेपालमा युक्रेनबाट ७ करोड ४५ लाख लिटर सूर्यमुखी तेल आयात भएको देखिएको छ । भन्सार विन्दुमा यसको मूल्य १० अर्ब ४ करोड रुपैयाँ बराबर हो । 

त्यस्तै सर्सिउँको तेल पनि ५ करोड ५२ लाख किलो आयात भएको छ । यसको भन्सार मूल्य ४ अर्ब १८ करोड रुपैयाँ छ । सोयाबिन तेल भने ३ लाख लिटर मात्रै आयात भएको छ । यसको मूल्य ५ करोड रुपैयाँ बराबर रहेको छ । 

यो वर्ष युक्रेनबाट आउने दुवै वस्तुको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो वर्ष भन्सार विन्दुमै प्रतिलिटर १९६ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य यो वर्ष घटेर औसत १३५ रुपैयाँमा झरेको छ । 

सोही कारण अघिल्लो वर्ष ४ करोड ८२ लाख लिटर आयात भएको सूर्यमुखी तेल यो वर्ष करिब १५ प्रतिशतले बढेको हो । 

त्यस्तै पोहोर १०८ रुपैयाँ प्रतिकेजी सर्सिउँको मूल्य घटेर ७६ रुपैयाँमा झरेको छ । योसँगै अघिल्लो वर्ष २ करोड ६९ लाख किलोग्राम आयात भएको सर्सिउँको माग यो वर्ष १०५ प्रतिशतले बढेको हो । 

नेपालमा अहिले युक्रेन, अर्जेन्टिना र रोमानियाबाट सूर्यमुखी तेलको आयात हुँदै आएको छ । त्यसमध्ये युक्रेनबाट प्रतिलिटर १३५ रुपैयाँ मूल्य रहँदा अर्जेन्टिनी तेलको मूल्य प्रतिलिटर १३२ रुपैयाँमा आउँछ । 

यद्यपि ढुवानी खर्च र समयका कारण नेपालमा धेरै तेल युक्रेनबाटै तेलको आयात हुने गरेको छ । यो वर्ष अर्जेन्टिनाबाट १ करोड ३५ लाख लिटर मात्रै सूर्यमुखीको आयात भएको छ । 

अर्कोतर्फ सर्सिउँको तेलका लागि भने नेपालको प्रमुख निर्यातकर्ता मुलुकहरुमा युक्रेन, अष्ट्रेलिया र युक्रेनसँगैको रहेको देश मोदोल्भा छन् । अष्ट्रेलियाबाट आउने अन्य दुई देशबाट आउनेभन्दा करिब १० रुपैयाँ महँगो पर्छ । सोही कारण नेपाली आयातकर्ताहरुको रोजाइ युक्रेन नै हुने गरेको छ । 

किन घट्यो तेलको मूल्य ? 
विश्व बजारमा खाने तेलको मूल्य निर्धारण मुख्यतया रुसले गर्दै आएको छ । विश्व बजारमा ठूलो हिस्सा ओगट्ने रुसले लिएको नीतिकै कारण यो वर्ष तेलको मूल्यमा गिरावट आएको हो । 

रुसले गत वर्ष सूर्यमुखी तेलको खेती ४५ प्रतिशतले बढाएको छ । यसको मुख्य उद्देश्य भनेको युक्रेनको प्रमुख निर्यात वस्तुमा हस्तक्षेप गर्नु हो । 

आफ्नोसमेत प्रमुख निर्यात वस्तुको रुपमा रहेको सूर्यमुखीको उत्पादन बढाउँदा यसले युक्रेनको आर्थिक शक्ति कमजोर हुने रुसको विश्वास छ । 

त्यसो त सन् २०२१ मा सूर्यमुखी तेलमा रुसले लिएको भन्सार नीतिकै कारण विश्व बजारमा तेलको मूल्य महँगिएको थियो । त्यो बेला सबैजसो तेलको मूल्य ६० प्रतिशत भन्दा धेरैले बढेको तथ्यांक छ । 

यसरी तेलको मूल्य बढ्दै जाँदा नेपाल तथा भारतमा समेत तोरी, सर्सिउँ तथा सर्यमुखी तेलको सट्टामा पार्म तेलको खपत बढ्दै गएको थियो । विश्व बजारमा मलेसिया र इन्डोनेसिया पार्मको प्रमुख उत्पादक देश हुन् । 

यसरी भारतमा वैकल्पिक तेलको माग बढ्दा अति कम विकसित राष्ट्रको सहुलियत पाएको नेपालले सहुलियत दरमा पार्म किनेर प्रशोधन गरी भारततर्फ निकासी गर्ने गरेको थियो । 

अहिले सूर्यमुखी तेलको मूल्य घट्दै जाँदा यो प्रवृत्ति कम भएको छ । त्यही कारण मलेसिया र इन्डोनेसिया प्रमुख निर्यातकर्ता मुलुकको सूचीमा पछि परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ