arrow

चार पाँचतारे होटल थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
everest-hotel.jpg

काठमाडौँ । नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँचतारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन् । 

भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेश्नल, काठमाडौँको होटल ल्हासा इन्टरनेश्नल (दुसित प्रिन्सेस) र धुम्बाराहीको अकामा होटल पाँचतारे वर्गीकरणमा परेका छन् भने वर्णवास म्युजियम बुटिक होटल बुटिक लग्जरी पाँचतारेमा वर्गीकरणमा परेको विभागको होटल शाखाका अधिकृत चुनबहादुर तामाङले जानकारी दिए । 

उनका अनुसार यससँगै पाँचतारे स्तरको बुटिक लग्जरी होटलको सङ्ख्या तीन पुगेको छ । यस वर्गमा यसअघि द्वारिकाज र बसेरा बुटिक होटल थिए । चेन होटल हिल्टन, जगदम्बा हस्पिटालिटी, होटल फरेष्टइन, बुढानिलकण्ठ हेरिटेजलगायत होटल पाँचतारे वर्गीकरणको प्रक्रियामा रहेको विभागले जनाएको छ ।

 विभागले पर्यटन ऐन–२०३५, होटेल, लज, रेष्टुराँ तथा रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली २०३८ र पर्यटन उद्योग सेवाप्रवाह निर्देशिका, २०७० को व्यवस्था बमोजिम पाँच तारे डिलक्स र पाँच तारे स्तरमा वर्गीकरण भई इजाजतपत्र नियमित रुपमा अद्यावधिक गरेको हो ।

 विभागले सार्वजनिक गरेको होटलको वर्गीकरण अनुसार झापाको धुलाबारीमा सञ्चालित भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि अन्तर्गतको होटल मेची क्राउन प्लाजा पाँच तारा डिलक्स होटलको स्तरमा सूचीकृत भएको छ ।

झापाको विर्तामोडमा सञ्चालित होटल द किङ्सवरी र काठमाडौँको ताहाचलमा खुलेको सिटी होटल लिमिटेड (हायात प्लेस)ले पाँचतारे स्तरको वर्गीकरण पाएका छन् । पाँचतारे अन्य होटलमा तारागाउँ रिजेन्सी (हायात रिजेन्सी, सोल्टी होटल, होटल मेरियट, हायात प्यालेस, छाँयादेवी कम्प्लेक्सको (होटल अलफ्ट) छन् । होटल डेल अन्नपूर्ण, द मल्ल होटल, साङ्ग्रिला होटल, पोखरा ग्राण्ड, टाइगर वान प्रालि, सोल्टी वेष्टर्न, होटल सेन्ट्रल प्लाजा, होटल द किङ्सवरी र इच्छा होटल पाँचतारे वर्गीकरणमा परेका हुन् । विभागको विवरणमा चारतारे स्तरका होटलको सङ्ख्या ३४ छ ।

 होटल सङ्घ नेपालका अनुसार नेपालमा वार्षिक ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार छन् । सङ्घका अध्यक्ष विनायक शाहले दैनिक देशभर दैनिक १० हजारभन्दा बढी पाहुना धान्ने होटलका श्या उपलब्ध भएको बताए । होटल सङ्घमा देशभरका पाँच हजारभन्दा बढी होटल आबद्ध छन् । अध्यक्ष शाहले अबको दुई वर्षभित्रमा थप १८ देखि २० वटा स्तरीय तारे होटल सञ्चालनमा आउने बताए । 

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ को फेब्रुअरीमा मात्रै ९७ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वर्षको पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ