arrow

संस्कृत भाषाको विकास र प्रवर्द्धनमा सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
shakti-basnet-rss.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले संस्कृत भाषाको विकास र प्रवर्द्धनमा नेपाल सरकारले काम गरिरहेको बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठान नेपाल, केन्द्रीय संस्कृत विश्वविद्यालय दिल्ली र इण्डिया फाउण्डेशन भारतको आयोजनामा भएको अन्तर्राष्ट्रिय नेपाल-भारत संस्कृत सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै मन्त्री बस्नेतले संस्कृत भाषाको संवर्द्धन र प्रवर्द्धनका लागि सरकारले काम गरिरहेको बताएो ।

“नेपालले संस्कृत भाषाको विकास र प्रवर्द्धनका लागि विद्यालय र विश्वविद्यालय स्थापना गरेर काम गरिरहेको छ, संस्कृत, इतिहास र भाषामार्फत नेपाल र भारतको सम्बन्धलाई जीवन्त राख्न मद्दत पुग्नेछ”, उनले भने । 

मन्त्री बस्नेतले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गर्दै लैजान सके मानव सभ्यतालाई नयाँ उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । संस्कृत भाषा परम्परागत ज्ञान, विज्ञानमा पुग्ने पहुँच मार्ग भएको उनको भनाइ थियो ।

उनले संस्कृत भाषाको विकासलाई किन व्यापकता दिन सकिएन भन्ने बारेमा गहन छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए । 

“हाम्रो परिचय, इतिहास, ज्ञान, विज्ञान संस्कृत भाषाभित्र छ, यसको विकासका लागि हामी लाग्नुपर्छ”, मन्त्री बस्नेतले भने । सामाजिक जीवनको दर्पण भाषा, संस्कृत र साहित्य भएको उनको भनाइ थियो ।

केन्द्रीय संस्कृत विश्वविद्यालय दिल्लीका कुलपति श्रीनिवास वरखेडीले शिक्षा क्षेत्रको विकासले मात्र विकसित भारत र विकसित नेपाल निर्माण हुन सक्ने बताए । 

“भारतले स्वतन्त्रता भएको १०० औँ वर्षमा विकसित भारत बनाउने घोषणा गरेको छ, विकसित भारत बनाउने लक्ष्यलाई पुरा गर्न नेपाल र नेपालीको साथ आवश्यक छ,”, उनले भने । नेपाल र भारतको भविष्य संस्कृत भाषासँग जोडिएको उनको भनाइ थियो ।

संस्कृत भाषा भारतका केन्द्रीय सङ्गठनमन्त्री दिनेश कामतले संस्कृत भाषालाई विश्वको शक्तिशाली भाषाका रुपमा विकास गर्नुपर्ने बताए । 

“हाल विश्वका ४० देशको दुई सय ५४ विश्वविद्यालयमा संस्कृत भाषाको पढाई हुँदै आएको छ, यो भाषा विस्तारै विश्वभर फैलँदै गएको छ”, उनले भने ।

योग, आयुर्वेद, रामायणलगायत संस्कृत भाषाका कारण अगाडि बढेको उनको भनाइ छ ।

भारतीय उच्च अध्ययन संस्थानकी अध्यक्ष शशीप्रभा कुमारले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गरे ।

“हिमालको संरक्षण, विक्रम सम्बत्, बौद्ध दर्शन, भेषभूषालगायतका कारण नेपाल-भारतबीचको सम्बन्ध घनिष्ट हुँदै गएको छ”, उनले भने ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा यादवप्रसाद लामिछानेले भारत र नेपाललाई जोड्ने कडी संस्कृत भाषा भएको बताए । 

संस्कृतको विकासका लागि नेपाल र भारतले उक्त सम्मेलनमा गहन छलफल गर्नुपर्ने उनको भनाइ छ । डा लामिछानेले संस्कृत भाषाको विकासका लागि नेपाल र भारतका संस्कृत विश्वविद्यालयबीच सहकार्य गरेर अगाडि बढ्ने बताए ।

संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव डा काशीनाथ न्यौपानेले संस्कृत भाषालाई नेपाल र भारतले संयुक्त सम्पत्तिका रुपमा अगाडि बढाउनुपर्ने बताए । 

नीति अनुसन्धान प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक केशवराज पन्थी, निर्देशक डा दीपककुमार अधिकारीलगायतले नेपाल र भारत संस्कृत भाषाको जननी भएकाले यसको विकासमा एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालय तथा केन्द्रीय संस्कृत विश्वविद्यालय, दिल्लीका उपकुलपतिलगायत अन्य विभिन्न विश्वविद्यालयका उपकुलपति तथा विशिष्ट आचार्यको उपस्थितिमा अनुसन्धानमूलक कृतिको प्रस्तुतीकरण हुनेछ ।

सम्मेलनमा दुवै देशका गरी ८० जना विद्वानको सहभागिता रहने आयोजक समितिका संयोजक डा प्रेमराज न्यौपानेले जानकारी दिए ।
 
सम्मेलनमा नेपाल र भारतका संस्कृतसँग सम्बन्धित विषयवस्तुमाथि गहन विमर्श गरिने कार्यक्रम रहेको छ 

यस्तै, वरिष्ठ प्राध्यापकबाट अनुभव, ज्ञान र विज्ञतामा आधारित विषयवस्तुको प्रस्तुतिले सम्मेलनलाई विद्वत्तापूर्ण बनाउने विश्वास गरिएको छ ।

नवीन चिन्तन प्रणालीलाई संस्कृतले कसरी धारण गर्नुपर्छ भन्ने विषयमा समेत परामर्श हुने आयोजकले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ