- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०-०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एसियाली विकास बैंक (एडीबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एसियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०-८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा) ले वृद्धि हुने प्रक्षेपण गरेको हो ।
जुन गत आर्थिक वर्ष २०७९-८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो । मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ । सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०-८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन शुरु भई आर्थिक औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ ।
कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले गति लिने अध्ययनको निष्कर्ष रहेको छ । धान उत्पादनमा वृद्धि भए पनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९-८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुनसक्ने अध्ययनले देखाएको छ ।
नेपालमा औसत मुद्रास्फीति आर्थिक वर्ष २०७९-८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०-०८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ । आर्थिक वर्ष २०८०-८१ को पहिलो ६ महिनामा बचतमा रहे पनि चालु खाता पुनः घाटामा जान सक्ने अध्ययनले देखाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०-८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ भने चालु खाता बचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ । यद्यपि यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०-८१ मा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ ।
प्रतिवेदन सार्वजनिक गर्दै एडीबीका सिनियर इकोनोमिक अफिसर (वरिष्ठ आर्थिक अधिकारी) मानवर एस खड्काले यस आर्थिक वर्षमा कृषिको उत्पादन सन्तोषजनक रहने बताए । उनले मलखादरको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपद्बाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताए । उनले ऊर्जा क्षेत्रमा सबस्टेशन, ट्रान्समिसन लाइन बनिरहनेले पनि अर्थतन्त्रमा सकारात्मक ऊर्जा प्रवाह गरेको बताए । उनले कन्स्ट्रक्सन म्यानुफ्याक्चरिङमा स्लो डाउन रहेको बताए । उनले पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा ऊर्जा थपिएको बताए । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रलाई सबल बनाउनुका साथै रोजगारी वृद्धि भइरहेको बताए ।
उनले भने, ‘यो प्रक्षेपण हो । विश्व बैंकले गरेको प्रक्षेपणमा पनि ३.३ भन्ने आएको छ । एडीबीको ३.६ हामीले भनेका छौँ । यो आर्थिक वर्षको राष्ट्रिय तथ्याङ्क कार्यालयले पनि जिडिपीको तथ्याङ्क निकालिसकेको छ । जस्तो की पहिलो त्रैमासमा ३.२ प्रतिशत वृद्धि भएको र दोस्रो त्रैमासिकमा ४ प्रतिशतको आर्थिक वृद्धि भनेको छ । यो अफिसियल तथ्याङ्कलाई हामीले मान्नु नै पर्छ । कृषिको उत्पादन सन्तोषजनक नै रहन्छ । त्यसमा कुने दुबिधा छैन । किनभने मलको व्यवस्थापन, खादको व्यवस्थापन विगतमा देखिँदै आएको समस्या यस पटक देखिएन । बाढी लगायतका प्रकोपले पनि धान बाली नष्ट गर्ने पनि देखिएन । यो समग्र रूपमा सन्तोषप्रद छ । ऊर्जा क्षेत्रमा जुन किसिमले सबस्टेशन, ट्रान्समिसन लाइन बन्दैछन्, सकारात्मक ऊर्जा प्रवाह सिर्जित छ, नेपाली अर्थतन्त्रमा । कन्स्ट्रक्सन म्यानुफ्याक्चरिङमा स्लो डाउन छ । त्यसलाई सुधार गर्न औजारहरू मौद्रिक नीतिबाट, त्यस्तै गरी यो अर्धवार्षिक समीक्षाबाट पनि आएका छन् । पर्यटन क्षेत्र महत्त्वपूर्ण छ । कोभिडको भन्दा धेरै नै राम्रो भएको छ । होटलहरु बन्ने क्रम जारी छ, पर्यटकीय गन्तव्य बढिरहेका छन्, यसले सकारात्मक ऊर्जा पैदा भइरहेको छ । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रमा पनि सहयोग भइरहेको छ ।’
एडीबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया प्रशान्त क्षेत्र हासिल गर्न प्रतिबद्ध रहेको बताएको छ । अहिलेसम्म एडीबीले नेपालका लागि ४९४ सरकारी ऋण, अनुदान तथा प्राविधिक सहायता गरी कुल ७.७ बिलियन डलरको प्रतिबद्धता जनाएको छ । सञ्चित ऋण र अनुदान गरी नेपाललाई कुल ४.९१ बिलियन डलर निकासा गरेको छ ।