arrow

दश हजार बचतकर्ता डुबानमा

सुप्रिम सहकारी अपचलनः एक अर्ब दुई करोड बिगो माग दाबी प्रतिवेदन, जीबीसहित २३ अझै फरार

प्रहरीले प्रतिवादी बनाएका २८ जनामध्ये पाँच पक्राउ, जीबी राईसहित २३ जनालाई फरार सूचीमा राख्दै दुई महिना लगाएर आफ्नो अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिल कार्यालयलाई बुझाइयो

logo
नारायण वली,
प्रकाशित २०८१ वैशाख ३ सोमबार
cf547b10-a6b0-4989-a8af-bbd0266def46.jpg

लुम्बिनी । रुपन्देही जिल्लास्थित बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीमा बचतकर्ताहरुको रकममा भएको अर्बाैं रुपैयाँको अपचलनमाथि पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको रुपन्देही प्रहरीले सुप्रिम सहकारीका केन्द्रीय अध्यक्ष जीबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित २८ जनाविरुद्ध एक अर्ब दुई करोडको बिगो माग दाबी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय भैरहवालाई बुझाएको छ ।

गत फागनु ३ गतेदेखि आरोपितहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले प्रतिवादी बनाएका २८ जनामध्ये अहिलेसम्म ५ जना पक्राउ परिसकेका छन् । प्रहरीले बाँकी २३ जनालाई फरार सूचीमा राख्दै दुई महिना लगाएर आफ्नो अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिल कार्यालयलाई बुझाएको हो । 

बुटवलमा प्रधान कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीका १० हजार बचतकर्ताहरुको रकम हिनामिना भएको भन्दै प्रहरीमा सहकारी पीडितले ठगीको निवेदन दिएपछि प्रहरीलाई थप दबाब परेको थियो ।

रुपन्देहीका एसपी रञ्जित सिंहका अनुसार दुई महिनाको अनुसन्धानपछि २८ जना प्रतिवादी र एक अर्ब दुई करोड बिगो मागदाबी गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको उल्लेख छ ।

एसपी सिंहले भने, ‘हाम्रो अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएका छौँ, ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएका छौँ । प्रतिवादीमध्ये ५ जना पहिले यसअघि नै पक्राउ परिसकेका छन् । फरार रहेकाहरुको खोजतलास जारी राखेका छौँ, मुद्दा दर्ता भएपछि बाँकी प्रक्रिया अगाडि बढ्नेछ । 

सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा बुटवल सुप्रिमका अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दीपेश पुन, दीपक न्यौपाने, निता थापा मगर र दुर्गा चापागाईँ पाण्डे पक्राउ परिसकेका छन् ।

पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश गत चैत्र २ गते काठमाडौँबाट पक्राउ परेका थिए । प्रतिवेदनमा पक्राउ परेका ५ जना बाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको बताइएको छ । 

सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर एक हजार आठ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् ।

उनीहरुको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिन्छ तर सहकारीको कुल एक अर्ब दुई करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रहरीमा थोरै सङ्ख्यामा निवेदन दिए पनि १० हजारमाथि सदस्यहरु पीडित बनेको पीडित समितिका संयोजक विजयकुमार नेपालको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ