एक सय ३५ आयोजना: लगानी गर्न तयार ११ वटा मात्रै, निजी क्षेत्रले धान्यो इज्जत
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
969
Shares
तस्बिर – एआई ।
काठमाडौँ । सरकारले लगानी सम्मेलनका लागि प्रस्ताव गरेका चार योजना मात्रै तत्काल लगानीका लागि योग्य देखिएका छन् । निजी क्षेत्रबाट प्रस्ताव गरेका सात आयोजनालाई छाड्ने हो भने सरकारले लगानी सम्मेलनको शोकेसका लागि प्रस्ताव गरेका १ सय २६ आयोजना मध्ये सो संख्याका आयोजना मात्रै तत्कालै लगानी गर्न सकिने खालका छन् । बाँकी सबै आयोजनाहरुमा पूर्व तयारीका कार्यहरुसमेत बाँकी रहेका छन् ।
सरकारले प्रस्ताव गरेका कुनै पनि आयोजनाहरु कार्यान्वयनमा लैजान सबैभन्दा पहिलो सम्भाव्यता अध्ययन गर्नुपर्छ । सो अध्ययनमा सभाव्य देखिएपछि विस्तृत सम्भाव्यता अध्ययनको गर्नुपर्छ । उक्त सम्भाव्यतापछि प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकनको कार्य हुन्छ । उक्त कार्य सम्पन्न भएसँगै साइट क्लियरेन्सको काम गर्नुपर्छ । त्यसपछि मात्रै लगानीकर्तासँग आयोजना विकास/लगानी सम्झौता (पीडीए) गरेर आयोजनालााई कार्यान्वयनमा लगिने लगानी कोर्डका प्रवक्ता प्रद्युम्न उपाध्याय बताउँछन् ।
नेपालमा अधिकांश आयोजनाको विवाद यही विषयमा हुने गरेको छ । वर्षौँदेखि चर्चा र विवाद भएको एमसीसी परियोजनाको समेत अहिलेसम्म साइट क्लियरेन्स हुन सकेको छैन ।
अघिल्लो लगानी सम्मेलनको शोकेसमा रहेको मुक्तिनाथ केवलकारको ईआईए प्रतिवेदन अझै स्वीकृत भएको छैन । त्यसैले शोकेसमा रहेका आयोजनाहरु कार्यान्वयनमा जाने निश्चितता छैन ।
लगानी सम्मेलनको शोकेसमा अहिले कुल १ सय ३५ आयोजना छन् । ती आयोजनामध्ये सात आयोजना निजी क्षेत्रले प्रस्ताव गरेको हो । बाँकी १ सय २८ आयोजना भने सरकारी स्तरबाट प्रस्ताव भएका हुन् ।
त्यसमध्ये सबै पूर्वतयारी सकिएका परियोजनाहरुमा दमकस्थित चीन नेपालमैत्री औद्योगिक पार्क, अपर मर्स्याङ्दी–२ हाइड्रो इलेक्ट्रिकल प्रोजेक्ट, कोहलपुरस्थित ४० मेगावाट क्षमताको सोलार प्लान्ट र यसको प्रसारण लाइन र डाबर नेपालको क्षमता विस्तारसम्बन्धी परियोजना छन् । यी चार परियोजनामा लगानी सम्मेलनको समयमा पीडीए/पीआईएमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
त्यस्तै निजी क्षेत्रबाट प्रस्तावित सबैजसो आयोजना लगानीको चरणमा पुगिसकेका छन्को । सोमबार मात्रै शोकेसमा प्रस्तावित जाल्पादेवी केवलकार परियोजनाको निर्माण कार्यको आरम्भ भएको छ ।
निजी क्षेत्रबाट प्रस्तावित अन्य आयोजनाहरुमा सिक्लेस अन्नपूर्ण केबलकार, भरतपुर आइसल्याण्ड रिसोर्ट, मध्य कालीगण्डकी हाइड्रो इलेक्ट्रिकल प्रोजेक्ट, तिप्ल्याङ कालीगण्डकी हाइड्रो इलेक्ट्रिकल प्रोजेक्ट, आईएमई सिमेन्ट बैतडी र काठमाडौँ टेक्निकल स्कूल रहेका छन् ।
अरु के के छन् प्रोजेक्ट ?
लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तावित आयोजनालाई विभिन्न भागमा वर्गीकरण गरेको छ जुन यसप्रकार छन्ः
१. आशयपत्रको आह्वान गरिएका परियोजना
यस अन्तर्गत १७ वटा परियोजना छन् । यसमध्ये दैजी औद्योगिक ग्राम, शक्तिखोर औद्योगिक ग्राम, बबरमहलमा मल्टिप्रोपोज प्रशासनिक भवन, हाइ एन्ड रिसोर्ट, महादेश खोला खानेपानी परियोजना, कर्णाली चिसापानी वायु विद्युत परियोजना (१० मेगावाट), नौमुरे परियोजना (२१८ मेगावाट), खिम्ती स्टोरेज परियोजना (१२१६ मेगावाट), हुम्ला कर्णाली जलविद्युत आयोजना (६१.०२ मेगावाट), उपर चमेलिया (५३.८५ मेगावाट), पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज), खाउदी खोला जलविद्युत योजना (३० मेगावाट), कालिगण्डकी–२ स्टोरेज परियोजना (६५० मेगावाट), भारबुङ स्टोरेज (३७७.१ मेगावाट), बुढीगण्डकी जलविद्युत आयोजना (४० मेगावाट), सुपर बुढीगण्डकी जलविद्युत परियोजना (३४.९३ मेगावाट) रहेका छन् ।
२. मार्केट साउन्डिङको चरणमा पुगेका परियोजना
यस अन्तर्गत ११ परियोजना तयार छन् जसमध्ये अधिकांश भौतिक पूर्वाधारसम्वद्ध परियोजनाहरु छन् । जसमा पोखरा इन्टरनेशनल कन्भेन्सन सेन्टर (पीआईसीसी), सिस्नेरी वाटर सप्लाई परियोजना, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे, जानकारी हेरिटेज होटल एन्ड कल्चर भिलेज परियोजना र धनुषाधाम, मलेखु–लोथर सुरुङ मार्ग, धुलिखेल मेडिसिटी परियोजना, खप्तड नेशनल पार्क विकास, सुदूरपश्चिम पब्लिक ट्रान्सपोर्ट परियोजना, दाउन्ने–खानडाँडा सुरुङ मार्ग, मिर्चैया–कटारी घुम्ती रोड, धरान सुरुङ मार्ग राखिएको छ।
३. वित्तीय व्यवस्थापन थालिएका परियोजना
यस अन्तर्गत २९ वटा परियोजना छन् । जसमा घुन्सा खोला हाइड्रोइलेक्ट्रिक परियोजना, सिम्बुवा खोला हाइड्रोइलेक्ट्रिक परियोजना, मुगु कर्णाली स्टोरेज, वेतन कर्णाली परियोजना, इनरुवा अनरमनी ४०० केभी प्रसारणलाइन, तिंगला–दुधकोशी–ढल्केवर ४०० केभी प्रसारणलाइन, मातातीर्थ–डुकुछाप २२० केभी प्रसारणलाइन, डकुछाप–टेकु २२० केभी प्रसारणलाइन, दूधकोशी स्टोरेज परियोजना, उपर अरुण परियोजना, बूढीगण्डकी प्रोक, सेती नदी–३ परियोजना रहेका छन्।
यस्तै सुनकोशी–३ परियोजना, चैनपुर सेती हाइड्रोपावर, लम्छी–चिन्छु–दोधारा–न्यू अत्तरीया ४०० केभी प्रसारणलाइन, तिंगला हव–न्यूख्मिती–सुनकोशी–ढल्केवर ४०० केभी प्रसारणलाइन, बुढीगण्डकी करिडोर ४०० केभी प्रसारणलाइन, दमौली–कुश्मा–बाफीकोट डवर सर्किट ४०० केभी प्रसारणलाइन, सम्बिुवा खोला परियोजना, तमोर–ढुंगेसाँगु २२० केभी प्रसारणलाइन, हितर–सितापाटी अरुण करिडोर ४०० केभी, ४१७ मेगावाट नलगाड परियोजना, ७.१ मेगावाट टाक्सु खोला परियोजना, जगदुल्ला जलविद्युत परियोजना, ८२८ मेगावाट क्षमताको उत्तरगंगा स्टोरेज परियोजना, ५४ मेगावाटको माकाली सेती क्याक्सेट पिकिङ परियोजना, र ७२ मेगावाटको सेती नदी पिकिङ परियोजना रहेका छन् ।
४. अन्य सम्भाव्य देखिएका परियोजना
यस अन्तर्गत ३४ आयोजना प्रस्तावित छन् । ती आयोजनाहरुमा लुम्बिनी करिडोरमा विद्युतीय मोबिलिटी विकास, उपत्यकाको विभिन्न ठाउँमा बहुतले पार्किङ, बधशाला निर्माण तथा मासुको गुणस्तर परीक्षण आयोजना, चिया बिक्री केन्द्र तथा गोदाम स्थापना तथा सञ्चालन, बल्क कोल्ड स्टोरेज छन् ।
त्यस्तै, काँके देउराली खानेपानी परियोजना, थान्सेखोला खानेपानी परियोजना, कम्प्रेस्ड बायोग्यास प्लान्ट, बडिमालिका पर्यटन विकास परियोजना, काठमाडौं उपत्यकाको च्रकपथमा विद्युतीय र्यापिड ट्रान्जिट बस, चितवन–रामपुर–बुटवल एक्सप्रेस वे, चितवन–रामपुर–पोखरा एक्सप्रेस वे, विद्युतीय सवारीका लागि फास्ट चार्जिङ स्टेशन, ग्लास उत्पादन, ग्रेट लुम्बिनी टुरिष्ट सर्किट यातायात परियोजना छन् ।
आईटी तथा टेक्नो पार्क, मुदी पर्यटन विकास परियोजना, फिल्म सिटी दोलखा, गौतम बुद्ध प्रसुती अस्पताल, गे्रट हिमालयन ट्रेल, तालतलैया बहुउद्देश्यीय पर्यटन परियोजना, मधेस प्रदेशमा सार्वजनिक यातायात विकास परियोजना, सार्वजनिक तथा सामुदायिक विद्यालय सुधारका लागि पूर्वाधार तथा शिक्षण सिकाइ परियोजना, पश्चिम सेती सहरी विकास, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको ह्याङगर निर्माण परियोजना, हेम्जा–नयाँपुल सुरुङ मार्ग पनि अन्य सम्भावित आयोजना अन्तर्गत राखिएको छ ।
थानकोट–चित्लाङ सडक र सुरुङ मार्ग, कोखाजोर जलाशययुक्त जलविद्युत, सुनकोसी–२ जलविद्युत आयोजना, कन्काई जलविद्युत आयोजना, विशेष आर्थिक क्षेत्र सिमरा, डाँडागाउँ खलंगा भेरी हाइड्रोपावर परियोजना, बबई छिन्चु सुरुङ, ललितपुरको लगनखेलमा अन्डरग्राउन्ड बजार, पाटनढोका, जावलाखेल र लामाचौरमा भर्टिकल पार्किङ संरचना, मल्टिलेयर कार पार्किङ योजनार पोल सिजनिङ तथा ट्रिटमेन्ट प्लान्टसमेत यसमा राखिएको छ ।
हरेक प्रदेशमा सरकारी कर्मचारीका लागि अपार्टमेन्ट, सुपादेउराली चुनढुंगा खानी, डोलमाइट उत्खनन, धुनीबेँसी चुनढुंगा खानी, फलाम तथा तामा खानी सम्भाव्यता अध्ययन, ग्रेनाइटको सम्भाव्यता अध्ययन, ग्रेनाइट उत्खनन्, काष्ठ उद्योग तथा रासायनिक मल उत्पादन कारखानालाई समेत यसमा समेटिएको छ ।
५. स्थानीय सरकारद्वारा सञ्चालन हुने परियोजना
यस अन्तर्गत चारवटा परियोजना छन् जसमा घुन्चोक पोखरी पर्यटकीय परियोजना, रुद्रपुरगढी पर्यटन विकास परियोजना, अर्घाखाँची मुलाबारी पैदल मार्ग,बर्दियाका तालतलैया विकास रहेका छन् ।