arrow

सफ्टवेयर र आईटीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
nas-it.jpg

काठमाडौँ । नेपालमा सफ्टवेयर र आईटीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड इन्फरमेशन टेक्नोलोजी (नास–आईटी) तथा एशिया प्यासिफिक आईसीटी अलाइन्स (एपिक्टा) को आयोजनामा ‘नेभिगेटिङ ग्रोथ– स्टाटिजिज फर स्टार्टअप इकोसिस्टम एण्ड एसिया प्यासिफिक एक्सपान्सन’ विषयक उक्त कार्यक्रमको आयोजना गरिएको हो । 

शुक्रबार राजधानीको ठमेलस्थित अलफ्ट होटलमा आयोजित उक्त कार्यक्रममा ६० भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठ एपिक्टाका अध्यक्ष फुल्भियो इन्सेर्राले नेपाल तथा एशिया प्यासिफिक क्षेत्रको सफ्टवेयर तथा आईटी क्षेत्रको इकोसिस्टमको सम्बन्धमा बोलेका थिए । 

अध्यक्ष श्रेष्ठले अहिले नेपालको आईटी क्षेत्रले ५५० मिलियन डलर निर्यात गरेको र यसले कुल ग्राहर्स्थ उत्पादनमा १।५ प्रतिशत योगदान गरेको भन्दै आगामी १० वर्षभित्र ५ बिलियन डलरको निर्यात गरेर ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताए । उनले ३० वटा कम्पनी सदस्य भएर एक वर्ष सुरु भएको अहिले ६०  पुगेको भन्दै यही वर्षभित्र १५० कम्पनी आबद्ध गराउने बताए । 

त्यस्तै एपिक्टाका अध्यक्ष इन्सेर्राले आफूहरुको सञ्जाल एशिया प्यासिफिक क्षेत्रका १७ वटा अर्थतन्त्रमा रहेको भन्दै यो क्षेत्रको आईसीटीलाई प्रवर्द्धन गर्न ६ वटा क्षेत्रमा अवार्डको व्यवस्था गरेको बताए । 

कार्यक्रम अन्तर्गत प्यानल डिस्कसनमा अध्यक्ष इन्सेर्रा, नेशनल सेन्ट्रल विश्वविद्यालय ताइवानका प्रोफेसर सीके फार्न, एपिक्टाका कोषाध्यक्ष रुवान एमरासेकेरा, पूर्व अध्यक्ष स्टान सिंह सहभागी थिए । कार्यक्रमको संयोजन युवा व्यवसायी विभुषण श्रेष्ठले गरेका थिए ।

छलफलमा प्रोफेसर फार्नले आईटी क्षेत्रमा जागिर गर्नुभन्दा स्टार्टअप राम्रो भएको बताए  । ‘तपाईं कुनै ठूलो कम्पनीमा काम गर्दै हुनुहुन्छ र तपाईंको स्किलले दशौँ लाख डलरको काम गर्यो भने पनि तपाईंलाई कम्पनीले तोकको तलब मात्रै दिन्छ । स्टार्टअप गर्नुभयो भने आफैँ कमाउन सक्नुहुन्छ’, उनले भने । 

उक्त कार्यक्रममा लगानी बोर्डका कन्सल्टेन्ट मनिष ज्ञवाली र युएस एड डिजिटल सर्भिस भ्यालु चेन म्यानेजर सम्राट लामिछानेले पनि प्रस्तुति दिएका थिए । ज्ञवालीले आईटी क्षेत्रमा लगानी अहिले सरकारको मुख्य प्राथमिकता भएको बताए । त्यस्तै लामिछानेले नेपालमा आईटी क्षेत्रमा मुख्य चारवटा चुनौती रहेको बताए । कानूनी व्यवस्था, दक्ष जनशक्तिको उपलब्धता, बजार पहुँचको अभाव र नेपालीहरुको क्षमता विकास अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ छ । 

कार्यक्रममा नास–आईटीका उपाध्यक्ष सन्तोष कोइरालाले संस्था स्थापनाको एक वर्ष राम्रो उपलब्धि हासिल गर्न सकेको भन्दै सरकारी निकायलेसमेत संस्थालाई रिकग्नाइज गरेको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठ तथा महासचिव दिपेन चापागाइँले सहभागीहरुलाई टोकन अफ लभ प्रदान गरेका थिए ।

कार्यक्रममा सहभागी विदेशी प्रतिनिधिमण्डलले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा तथा मन्त्रालयका कर्मचारीहरुसँग सामूहिक छलफल गर्नेछन् । उक्त छलफलमा उनीहरुले आईटी क्षेत्रको विकाससम्बन्धी अनुभव र सरकारी नीतिका सम्बन्धमा फिडब्याक दिने अध्यक्ष श्रेष्ठले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ