arrow

भारतमा चुनावी महासंग्राम

तेस्रो चरणको मतदान जारी, मोदीले गरे मतदान

एक हजार ३५२ उम्मेदवार मैदानमा, एक हजार २२९ पुरुष, १२३ महिला 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
narendra-modi-voting-2024.jpg

नयाँदिल्ली । भारतमा सन् २०२४ को १८ औँ लोकसभा निर्वाचनको तेस्रो चरणको मतदान भइरहेको छ । मंगलबार ११ राज्यमा ९३ सिटका लागि मतदान भइरहेको हो ।

यो चरणको निर्वाचनमा ७ केन्द्रीय मन्त्री तथा ४ पूर्व मुख्यमन्त्री मैदानमा रहेका छन् । तेस्रो चरणमा १० राज्य र एक केन्द्र शासित प्रदेशमा मतदान भइरहेको हो । 

मैदानमा उत्रिएका ७ केन्द्रीय मन्त्रीहरुमा अमित शाह, स्वास्थ्य मन्त्री मनसुख मन्डाविया र मन्त्री ज्योतिरादित्य सिन्धियासमेत रहेका छन् । 

चुनाव आयोगका अनुसार तेस्रो चरणको निर्वाचनमा १ हजार ३५२ उम्मेदवार मैदानमा रहेका छन् । जसमा १ हजार २२९ पुरुष, १२३ महिला उम्मेदवार रहेका छन् । 

एसोसिएसन फर डेमोक्रेटिक रिफम्र्स (एडीआर) को रिपोर्ट २४४ उम्मेदवार आपराधिक छविका हुन् । ३९२ उम्मेदवार करोडपति छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमितकुमार शाहले आजै मतदान गरेका छन् । 

गत १९ अप्रिलदेखि शुरु भएको भारतको इतिहासमै सबैभन्दा लामो चुनाव सात चरणमा सकिँदैछ । अन्तिम मतदान आगामी जुन १ तारिखमा हुनेछ । 

दोस्रो चरणको मतदान    
२६ अप्रिलमा भएको दोस्रो चरणको मतदान १३ राज्यका ८८ सिटमा भएको हो । ६८ प्रतिशत मतदान भएको चुनाव आयोगले जनाएको छ । 

दोस्रो चरणमा ६७.८८ प्रतिशत मतदान भएको हो । सबैभन्दा बढी त्रिपुरामा ७९.६६ प्रतिशत मतदान भएको छ । सबैभन्दा कम उत्तर प्रदेशमा ५४.५८ प्रतिशत मतदान भएको हो । वर्षाका कारणले पनि दोस्रो चरणमा कम मतदान भएको बताइन्छ । 

सन् २०१९ को निर्वाचनमा ७०.०५ प्रतिशत यो क्षेत्रमा मतदान भएको थियो । यसपालि लोकसभा अध्यक्ष, ५ केन्द्रीय मन्त्री, दुई पूर्व मुख्यमन्त्रीसँगै कांग्रेस नेता राहुल गान्धी तथा अभिनेत्री हेमा मालिनीसमेत मैदानमा छन् । 

राहुल गान्धी वायनाड, शशि थरुर तिरुअनन्तपुरम र हेमा मालिनी मथुराबाट चुनावी मैदानमा उत्रिएकी छिन् । 

दोस्रो चरणमा ८९ सिटमा मतदान हुनुपर्ने भए पनि मध्य प्रदेशको बैतुल सिटमा बसपाका प्रत्यासीको निधन भएपछि ८८ सिटमा मात्र भइरहेको हो । अब उक्त क्षेत्रमा ७ मे मा चुनाव हुनेछ । 

आउटर मणिपुरका केही भागमा पुनः मतदान भएको छ । चुनाव आयोगले यी सिटमा दुई चरणमा चुनाव गर्ने घोषणा गरेको थियो । 

सन् २०१९ मा दोस्रो चरणमा सबैभन्दा बढी भारतीय जनता पार्टी भाजपाको ५० तथा एडीए सहयोगी दललाई ८ सिट मिलेको थियो । कांग्रेसले २१ सिट तथा अन्यले ९ सिट जितेका थिए । 

चुनाव आयोगका अनुसार दोस्रो चरणमा १ हजार १९८ उम्मेदवार मैदानमा छन् । जसमा पुरुष १ हजार ९७ तथा महिला सय उम्मेदवार रहेका छन् । एक जना तेस्रो लिंगी रहेका छन् । 

एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) का अनुसार यो चरणमा चुनाव लडिरहेका २१ प्रतिशत अर्थात् २५० उम्मेदवारविरुद्ध अपराध मुद्दा दर्ता भएको छ । 

३९० उम्मेदवार करोडपति छन् । ६ जनाको सम्पत्ति शून्य बताइएको छ । ५०० उम्मेदवारसँग एक हजार रुपैयाँको सम्पत्ति बताइएको छ । 

दोस्रो चरणमा केरलमा २०, कर्नाटकमा १४, राजस्थानमा १३, महाराष्ट्रमा ८, उत्तरप्रदेशमा ८, मध्यप्रदेशमा ६, असममा ५, बिहारमा ५, छत्तीसगढमा ३, पश्चिम बंगालमा ३, त्रिपुरामा १, जम्मूकश्मीरमा १ र मणिपुरमा १ सिटमा चुनाव भइरहेको छ । 

पहिलो चरणमा २१ राज्यका १०२ सिटमा चुनाव, ६८ प्रतिशत मतदानः
पहिलो चरणमा १९ अप्रिलमा २१ राज्यको १०२ सिटमा मतदान भएको थियो । ६८.२९ प्रतिशत मत खसेको चुनाव आयोगले जनाएको छ । सन् २०१९ को चुनावको  तुलनामा यसपालि १ प्रतिशत कम मत खसेको छ । २०१९ मा पहिलो चरणमा ९१ सिटमा ६९.४३ प्रतिशत मत खसेको थियो । 

यसपालि सबैभन्दा बढी लक्षद्वीपमा ८३ प्रतिशत र सबैभन्दा कम बिहारमा ४९ प्रतिशत मत खसेको छ । 

यससँगै अरुणाचल प्रदेशको ६० र सिक्किमको ३२ विधानसभा सिटका लािग पनि मतदान भएको छ । दुवै राज्यका एक एक लोकसभा सिटमा सँगसँगै मतदान भएको छ । अरुणाचलमा ७६.४४ तथा सिक्किममा ७९.८६ प्रतिशत मतदान भएको छ । 

मणिपुरको दुई लोकसभा सिट (मणिपुर इनर र मणिपुर आउटर) मा पनि पहिलो चरणमै मतदान भएको छ । 

आउटर सिटका केही भागमा २६ अप्रिलमा मतदान हुनेछ । जसमा आठ केन्द्रीय मन्त्री, एक पूर्व मुख्यमन्त्री र पूर्वराज्यपाल मैदानमा रहेका छन् । 

सन् २०१९ मा यिनै १०२ लोकसभा सिटमा भाजपाले ४०, डीएमकेले २४, कांग्रेसले १५ सिट जितेको थियो भने अन्यले २३ सिट जितेका थिए । यसपटक पनि यिनै तीन दलबीच मुख्य प्रतिस्पर्धा भएको छ । 

दुई राज्य पश्चिम बंगाल र मणिपुरमा भोटिङका क्रममा हिंसा भएको छ । कयौँ घाइते भएका छन् । 

मणिपुरमा पूर्वी इम्फाल जिल्लाको मोइरंगकम्पूमा भोटिङ मेसिन नै जलाइएको छ । 

नागाल्याण्डका ६ जिल्लामा मतदान लगभग शून्य भएको छ । मोन, लान्गलेङ, तुएनसांग, नोकलाक, शामाटोर र किफिरेमा शून्य मत खसेको हो । यो क्षेत्रमा इस्टर्न नागाल्याण्ड पिपुल्स अर्गनाइजेसनले अलग प्रशासन र पहिले भन्दा बढी वित्तीय स्वतन्त्रताको माग गरेको छ । यी जिल्लामा चुनाव वहिस्कार गर्न अर्गनाइजेसनले अपील गरेको थियो । 

पहिलो चरणमा १ हजार ६२५ उम्मेदवार मैदानमा रहेका छन् । जसमा पुरुष १ हजार ४९१ तथा महिला उम्मेदवार १३४ जना रहेका छन् । 

अनुमान मोदी सरकार निरन्तर

चुनावको पूर्वसन्धामा अनुमान बढिरहेको छ । इन्डिया टुडे ग्रुपले सी–भोटरसँग मिलेर गरेको सर्वे अनुसार भाजपा सम्मिलित नरेन्द्र मोदी नेतृत्वको सरकारले लगातार तेस्रो पटक अर्थात सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने दाबी गरिएको छ । 

मोदीले सन् २०१४ देखि अहिलेसम्म दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । उनको काम र शैलीसँगै उनको प्रसिद्धिका कारण पनि भाजपाले तेस्रो पटक मोदीको नेतृत्वमा सरकार बनाउने दाबी गरिएको हो । 

५४३ सिटमध्ये एनडीएले ३३५ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेस आई सम्मिलित इन्डिया ब्लकको खातामा १६६ तथा अन्यलाई ४२ सिट जाने अनुमान गरिएको छ । 

भाजपा एक्लै लड्दासमेत ३०४ सिट जित्ने सर्वेक्षणले दाबी गरेको छ । कांग्रेसले ७१ तथा अन्य दलहरुले १६८ सिट जित्ने अनुमान गरिएको छ । 

प्रदेशअनुसार फरक फरक सिट जित्ने अनुमान गरिएको छ । यस्तो छ सर्वेको आँकडा–

उत्तर प्रदेशमा रहेको ८० मध्ये भाजपाले ७० सिट जित्न सक्नेछ । समाजवादीले ७, अपना दलले २ तथा कांग्रेसले मात्र १ सिट जित्ने दाबी गरिएको छ । 

बिहारको ४० सिटमध्ये भाजपाले ३२, आरजेडी र कम्युनिष्ट पार्टीहरुले ७ तथा कांग्रेसले १ सिट जित्न सक्नेछ । 

पश्चिम बंगालका ४२ मध्ये भाजपाले १९ तथा कांग्रेसले मुस्किलले एक सिट जित्न सक्नेछ । तृणमूलले २२ सिट जित्न सक्नेछ । 

महाराष्ट्रका ४८ मध्ये भाजपाले २२, कांग्रेसले १२ तथा शिवसेना, यूबीटी र एनसीपीले १४ सिट जित्न सक्नेछ । 

मध्यप्रदेशमा २९ सिटमध्ये भाजपाले २७ तथा कांग्रेसले २ सिट जित्ने आँकलन गरिएको छ । 

त्यस्तै सर्भे अनुसार राजस्थानको २५ सिटमा भाजपाले क्लिन स्वीप अर्थात सबै सिट जित्नेछ ।

झारखण्डको १४ सिटमध्ये भाजपाले ११ जेएमएमले २, एजेएसयूले १ सिट जित्दा कांग्रेस रित्तिने सर्वे गरिएको छ । 

पञ्जाबको १३ सिटमा कसैले पनि बहुमत नल्याउने अनुमान गरिएको छ । जसमा कांग्रेस र आम आदमी पार्टीले समान ५–५ सिट जित्दा भाजपाले २ तथा अकाली दलले १ सिट जित्ने अनुमान गरिएको छ । 

हरियाणाको १० सिटमध्ये भाजपाले ८ सिट जित्नेछ भने कांग्रेसले २ सिट जित्नेछ । आइएएनएलडीले कुनै सिट नजित्ने अनुमान गरिएको छ । 

तेलंगानाको १७ सिटमा कांग्रेसले १० सिट जित्ने अनुमान गरिएको छ । यहाँ कांग्रेसले ७ सिटमा सुधार गर्ने अनुमान भइरहेको हो । भाजपाले ३ सिट जित्दा टीआरएसले ३ सिट तथा एआईएमआईएमले १ सिट जित्ने अनुमान गरिएको छ । 

असमको १४ सिटमा भाजपाले १२ सिट, कांग्रेसले २ सिट तथा एआईयूडीएफले कुनै सिट नजित्ने अनुमान गरिएको छ । 

तमिलनाडुको ३९ सिटमा डीएमकेले ३१ तथा कांग्रेसले ८ सिट जित्दा भाजपाले खाता नै नखोल्ने अनुमान गरिएको छ । 

केरलमा पनि भाजपाले कुनै सिट नजित्ने आँकलन गरिएको छ । त्यस्तै कांग्रेसले १८ सिट जित्दा एलडीएफले २ सिट जित्ने अनुमान गरिएको छ । 

हिमाचल प्रदेशको ४ सिटमा भाजपाले क्निन स्वीप गर्ने अनुमान गरिएको छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ