arrow

अन्तरिम लाभांशबाट पूँजी पुर्‍याउने सिटिजन लाइफको योजना असफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
citizen-life-insurance.jpg

काठमाडौँ । प्रिमियम रकमबाट अन्तरिम लाभांश बाँड्ने सिटिजन लाइफ इन्स्योरेन्सको योजना असफल भएको छ । उक्त कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन शेयर प्रिमियम बापतको रकममा अन्तरिम लाभांश दिने प्रस्ताव गरेको थियो । बीमा प्राधिकरणको हस्तक्षेपपछि उक्त लाभांश स्थगित भएको हो । 

सिटिजन लाइफसँग अघिल्लो आर्थिक वर्षसम्म ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको चुक्ता पूँजी थियो । यसमा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत लाभांश दिएर अहिले कम्पनीले चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ । 

आइतबार बसेको सञ्चालक समिति बैठकले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन बोनसपछि कायम चुक्ता पूँजीमा २६.९८४१ प्रतिशत बोनस शेयर र त्यसमा करबापत लाग्ने लाभांश दिने निर्णय गरेको थियो । 

तर उक्त निर्णयअघि बीमा प्राधिकरणबाट अग्रिम स्वीकृति नलिएको भन्दै प्राधिकरणले उक्त प्रस्ताव रद्द गर्न निर्देशन दिएको छ । योसँगै कम्पनीको पूँजी वृद्धि गर्ने योजना तत्कालका लागि असफल भएको छ । 

यदि उक्त लाभांश प्रस्ताव स्वीकृत भएको थियो भने शेयरधनीले एकै वर्षमा २ पटक लाभांश पाउँथे । कम्पनी ऐनले अन्तरिम लाभांश दिने व्यवस्थालाई खुला राखे पनि प्राधिकरणले हस्तक्षेप गरेपछि यो प्रक्रिया रोकिएको हो । 

२ वर्षअघि माछापुच्छ्रे बैंकले पनि शेयरधनीहरुलाई त्यस्तै अन्तरिम लाभांश दिएको थियो । उक्त प्रस्तावलाई राष्ट्र बैंकले स्वीकारसमेत गरेको थियो । प्राधिकरणले भने यसलाई अस्वीकृत गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ