arrow

बढ्दो रेमिट्यान्सले बाह्य क्षेत्र मजबुत, आन्तरिक बजार संकटोन्मुख

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
nepal-rastra-bank-panorama-nrb-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चैत महिनामा मात्रै १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको चैत महिनासम्मको बृहत् आर्थिक तथ्यांकसम्बन्धी विवरणले यस्तो देखाएको हो । विवरण अनुसार आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । फागुन मसान्तसम्म यस्तो रकम ९ खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो । 

रेमिट्यान्स आप्रवाह उच्च भएसँगै नेपालले गर्ने विदेशी मुद्राको भुक्तानी र नेपालमा आउने विदेशी मुद्राबीचको अन्तर (शोधनान्तर अवस्था) समेत सकारात्मक बन्दै गएको छ । राष्ट्र बैंकका अनुसार ९ महिनाको अवधिमा मात्रै १ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको बचत रहेको तथ्यांक छ । फागुन मसान्तसम्म यस्तो अन्तर १ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो । 

अहिले नेपालमा १५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ । यो सञ्चितिले १२.५ महिनाको बस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था देखिएको राष्ट्र बैंकको भनाइ छ । फागुनमा यस्तो पर्याप्तता १२.४ महिनाको रहेको थियो । 

कस्तो छ आन्तरिक अवस्था रु 

बाह्यय अवस्था सुधार हुँदै गएको आन्तरिक बजारमा भने केही समस्या देखिएको छ । ९ महिनाको अवधिमा आन्तरिक कर्जा विस्तार १.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ जबकी यस्तो कर्जा अघिल्लो वर्ष ५ प्रतिशतले बढेको छ । यो कर्जा विस्तार साउनदेखि अहिलेसम्मको हो । अघिल्लो चैतको आधारमा हेर्ने हो भने कर्जा विस्तार ५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

फागुन मसान्तसम्मको अवस्था हेर्दा कर्जा विस्तार ४ प्रतिशत रहेको देखिएकोमा चैत महिनासम्म आइपुग्दा यो दर १.८ प्रतिशतमा कायम रहनुले तथ्यांकमा बैंकिङ क्षेत्रबाट हुने लगानीको समस्या थप गहिरिँदै गएको देखिन्छ । यही समयभित्र निक्षेप भने ७.२ प्रतिशतले बढेको छ । यो वृद्धिदर अघिल्लो वर्षको भन्दा पनि बढी हो । सोही कारण अहिले बजारमा अधिक तरलताको अवस्था रहको देखिन्छ । 

मूल्यस्तर नियन्त्रणमा 

यो अवधिमा मूल्यवृद्धि नियन्त्रण गर्ने सरकारको प्रयास भने सफल भएको छ । यो वर्ष मूल्य वृद्धिलाई ६.५ प्रतिशतको सीमासम्म राख्ने लक्ष्य लिइएकोमा ४.६१ प्रतिशतमा सीमित भएको छ । यो अघिल्लो चैतदेखि यस वर्षको चैतसम्मको आधारमा लिइएको तथ्यांक हो । त्यसमध्ये खाद्य पदार्थको मूल्यवृद्धि ५.२१ प्रतिशत र गैरखाद्य पदार्थको मूल्यवृद्धि ४.१४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष मुद्रास्फीति दर ७।७६ प्रतिशत रहेको थियो ।
 
मूल्यवृद्धिमा नियन्त्रण आउँदै गर्दा तलब तथा ज्यालाको वृद्धि समेत यो वर्ष तुलनात्मक रुपमा न्यून छ । तलब तथा ज्यालादर सूचकाङ्क वार्षिक विन्दुगत आधारमा ५.३४ प्रतिशतले बढेको छ । त्यसमध्ये तलब १.०५ प्रतिशत र ६.६३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ७.५२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । 

केही दिन अघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्रमा समस्या नरहेको भन्दै यो अवस्थालाई मन्दी भन्ने हो भने दुनियाँका अर्थशास्त्रीहरु नै छक्क पर्ने बताएका थिए ।

यद्यपि राष्ट्र बैंकको तथ्यांकले कर्जाको समग्र मागमा कमी आएको देखाएको छ । अर्कोतिर आयात घट्दै जानु र ज्याला र तलब समेत अपेक्षित रुपमा बढ्न नसक्नुले आन्तरिक मागमा समेत कमी आइरहेको देखाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ