- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रतिनिधि सभाको बैठक अहिलेसम्म बस्न सकेको छैन । बिहीबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सरेर ४ बजेलाई पुर्याइएको भए पनि ४ः१९ भए पनि बैठक बस्न सकेको छैन ।
सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको भए पनि दलहरुबीच सहमति नभएसँगै बैठक तत्काल शुरु हुने सम्भावना कम रहेको छ ।
सरकारले नेपाली कांग्रेससँग कुनै पनि सहमति नगरेसँगै बैठक नियमित नहुने पक्का छ ।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपबारे छानबिन समिति बनाउनु पर्ने माग राख्दै संसद् अवरुद्ध पार्दै आएको छ ।
कांग्रेसले गरिरहेको संसदको अवरोध हटाउने प्रयास जारी रहेकाले बैठक ढिलो शुरु हुने सभामुखको सचिवालयले जानकारी दिएको भए पनि कुनै ठोस पहल नभएपछि बैठक तत्काल बस्नेमा शंका भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएको बताइएको छ ।
सभामुखले भने बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।
छलफलमा कानून मन्त्री पदम गिरी, उपसभाख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी भएका छन् ।
सरकारले लाखौँ नेपाली जोडिएको सहकारीका पीडितको पीडा सम्बोधन गर्ने गरी गृहमन्त्री रवि लामिछानेको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ । तर रविमात्र हैन सबैभन्दा धेरै सहकारीको संचालक रहेका एमालेका नेताहरुसमेत डराइरहेका छन् ।
अनि सत्ता गठबन्धन टिकाइराख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रविको छानबिन आफैँले गरेसँगै कांग्रेस रुष्ट भएको छ ।