arrow

आन्दोलनमा जाने कांग्रेसको तयारीकाबीच संसद बैठक बस्दै, यस्ता छन् सभाका कार्यसूची 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । नेपाली कांग्रेस सडक आन्दोलनमा जाने तयारीकाबीच आज संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा अवरोध गरिरहेको कांग्रेस सडक आन्दोलनमा जाने तयारीमा छ । सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारी गरेको हो । 

यसैबीच प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्ने छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८१ जेठ १ गते मंगलवारका दिन गरेको सम्बोधनको लागि प्रतिनिधि सभाको बैठकबाट धन्यवाद दिने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्ने छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन् । अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने छन् । 

अध्यक्षले विषयगत समितिमा माननीय सदस्यको नाम मनोनयन गर्ने छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संवत् २०८१ साल जेठ १ गते राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने छन् । अध्यक्षले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभा समक्ष पेस गर्ने छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० सभा समक्ष पेस गर्ने छिन् । विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले “सुरक्षित कारोबार (पहिलो संशोधन), २०८०” सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ