arrow

कर बढ्ने हल्लाले ईभीको आयात आकाशियो, बैशाखयता बीवाईडीले मात्रै भित्र्यायो ८२२ गाडी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
india-ev.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कर बढ्ने हल्लाले इलेक्ट्रिक भेहिकल (ईभी) को आयात झण्डै दोब्बर पुगेको छ । चैत महिनासम्मको औसत आयातको तुलनामा वैशाख महिनामा यस्तो सवारी साधनको आयात बढेको हो । चैत महिनासम्म ७ हजार ९३ वटा सवारी साधन आयात भएकोमा बैशाख महिनामा १ हजार ४ सय ४ वटा सवारी साधन भित्रिएका हुन् । 

सरकारले क्षमताको आधारमा इलेक्ट्रिक सवारी साधनको करको दर निर्धारण गर्दै आएको छ । यस अनुसार ५० किलोवाटसम्म, ५०–१०० किलोवाट, १००–२०० किलोवाट र २०० किलोवाट भन्दा माथि गरी ४ वर्गमा विभाजन गर्ने व्यवस्था गरिएको छ । 

चैत महिनासम्म नेपालमा ५० देखि १०० किलोवाट क्षमताका ४ हजार ७७ वटा भेहिकल आयात भएका थिए । यो मासिक औसत ४ सय ५३ वटा हो । तर, बैशाख महिनामा भने नेपालमा यो क्षमताको सवारी साधन ८ सय १९ वटा भित्रिएको भन्सार विभागले जनाएको छ । 

त्यस्तै ५० किलोवाट भन्दा कम क्षमताका इलेक्ट्रिक गाडीको आयात चैत महिनासम्म २ हजार ९ सय २ वटा आयात भएका थिए जुन प्रतिमहिना औसत ३ सय २२ वटा हुन आउँछ । तर, बैशाख महिनामा यो आयात ५ सय ७० वटा पुगेको छ । 

उता १०० देखि २०० किलोवाट क्षमताको सवारी साधनको आयात भने स्थिरजस्तै छ । ९ महिनामा यस्तो आयात ९३ वटा रहेकोमा दशौं महिनामा १२ वटा आयात भएका छन् । २५० किलोवाट भन्दा बढी क्षमताको सवारी साधन चैतसम्म २१ वटा आएकोमा बैशाख महिनामा थप ३ वटा भित्रिएको विभागले जनाएको छ । 

बीवाईडीले मात्रै भित्र्यायो झण्डै दोब्बर कार

यो अवधिमा सबैभन्दा बढी इलेक्ट्रिक कार आयात गर्नेमा बीवाईडी अगाडी छ । पछिल्लो महिनामा मात्रै बीवाईडीले १०० किलोवाट क्षमताका ४ सय ८६ वटा सवारी साधन जाँचपाास गराएको भन्सार कार्यालयले जनाएको छ । चीनमा निर्मित बीवाईडीका गाडीहरु रसुवा भन्सार कार्यालय हुँदै नेपाल भित्रिने गर्छन् । 

बीवाईडीले चैत महिनासम्म २ हजार ७ सय ३५ वटा सवारी साधनको जाँचपास गराएको थियो । बैशाख महिनामा मात्रै बीवाईडीले ४ सय ८६ वटा सवारी साधनको जाँचपास गराएकोमा जेठको पहिलो सातामा मात्रै थप ३ सय ३६ वटा सवारी साधन आयात गरेको भन्सार कार्यालय रसुवाले जनाएको छ । 

भन्सार कार्यालय रसुवाबाट बैशाख महिनामा कुल ७ सय ७५ वटा इलेक्ट्रिक गाडी आएकोमा जेठको पहिलो साता मात्रै ४ सय ८८ वटा सवारी साधन भित्रिएका छन् । 

कुन ईभीमा कति लाग्छ कर ?
अहिले इलेक्ट्रिक गाडीको क्षमता अनुसार चार वटा वर्गमा विभाजन गरेर कर निर्धारण गर्दै आइएको छ जस अनुसार ५० किलोवाटसम्म मोटर भएका कारमा १० प्रतिशत, ५० देखि १ सय किलोवाटसम्म मोटर भएका कारमा १५ प्रतिशत, १ सयदेखि २ सय किलोवाटसम्म मोटर भएका कारमा २० प्रतिशत, २ सयदेखि ३ सय किलोवाटसम्म मोटर भएका कारमा ४० प्रतिशत र ३ सयभन्दा बढी किलोवाट मोटर भएका कारमा ६० प्रतिशत भन्सार महशुल लाग्दै आएको छ । 

त्यस्तै अन्तशुल्कतर्फ ५० किलोवाटसम्म शून्य प्रतिशत, ५० देखि १ सय किलोवाटसम्म मोटर भएका कारमा १० प्रतिशत, १ सयदेखि २ सय किलोवाटसम्म २० प्रतिशत, २ सयदेखि ३ सय किलोवाटसम्म ४५ प्रतिशत र ३ सयभन्दा बढी किलोवाट मोटर भएका कारमा ६० प्रतिशत अन्तःशुल्क कायम गरिएको छ । त्यसबाहेक सबै क्षमताका कारहरुमा १३ प्रतिशतका दरले भसार महशुल लाग्ने व्यवस्था छ । 

बैशाखसम्मको तथ्यांकअनुसार ५० किलोवाटसम्म क्षमताको सवारी साधनको औसत भन्सार मूल्य १८ लाख ६१ हजार रुपैयाँ रहेको छ । त्यस्तै ५० देखि १०० किलोवाटसम्मको २८ लाख १३ हजार, १०० देखि २०० किलोवाटसम्मको ५० लाख ६१ हजार र २०० किलोवाटदेखि ३०० किलोवाट क्षमताको सवारी साधनको मूल्य ७२ लाख ९८ हजार रुपैयाँ रहेको देखिन्छ । 

अहिले ५० किलोवाटसम्मको क्षमताको सवारी साधनमा झण्डै ३० प्रतिशत, ५० देखि १०० किलोवाटसम्म झण्डै ४९ प्रतिशत, १०० देखि २०० किलोवाटसम्मको ७० प्रतिशत र २०० किलोवाटदेखि ३०० किलोवाट क्षमताको सवारी साधनको कर भन्सार मूल्यको १४० प्रतिशत रहेको देखिन्छ ।

इलेक्ट्रिक सवारी साधनको आयातमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी भन्दा राजश्व निकै कम छ । यसले पेट्रोलियम पदार्थको आयात र समग्र आयात घटाउने अपेक्षा गरिए वास्तविकतामा भने झनै धेरै पैसा बाहिरिने देखिएपछि ईभीमा कर बढाउनेबारे छलफल हुँदै आएको थियो । यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले नै यो तयारी गरेका थिए । 

अहिलेका अर्थमन्त्री वर्षमान पुनले राजश्वको हेरफेरको सन्दर्भमा केही बोलेका छैनन् । नाडा अटोमोबाइल्स एशोसिएसनलगायत सरोकारवालासँगको भेटमा पनि अर्थमन्त्रीले करको विषयमा छलफल गर्न चाहिरहेका छैनन् । 

यद्यपि यो वर्ष विवाद आउने ढंगले करको दर हेरफेर नगर्ने बताउँदै आएका छन् । व्यवसायीहरुले भने ईभीमा अहिले लाग्दै आएको बढाउन नहुने तर्क गर्दै आएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ