arrow

रास्वपाकै नेता कार्यकर्ताले दिए रविको पुत्ला जलाउने धम्की

logo
दिपेन्द्र चौहान, 
प्रकाशित २०८१ जेठ ८ मंगलबार
mukul-dhakal-rsp-parsa.jpg

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै नेता कार्यकर्ताले गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पुत्ला जलाउने धम्की दिएका छन् ।

लामिछानेको पुत्ला दहन गर्नुपर्ने अवस्था आइसकेको भन्दै उनकै पार्टीका नेता कार्यकर्ताले वीरगञ्जमा पार्टीका महामन्त्री मुकुल ढकालका अगाडि भनेपछि उनी जिल्ल परेर फर्केका छन् । 

रास्वपाले इलाम जिल्लामा भएको उपनिर्वाचनमा पार्टीले शर्मनाक हार व्यहोरेपछि देशभर आफ्ना समर्थक र कार्यकर्ताको मुड बुझ्न टोली खटाए अनुरूप पर्सा जिल्लामा पार्टी महामन्त्री मुकुल ढकाल सोमबार आएका थिए । 

मंगलबार आदर्शनगरस्थित होटल कन्ट्री इन्नमा आयोजित भेलामा सहभागीहरुले कडा रोष प्रकट गरेका थिए । आफू सरकारमा नहुँदा वीरगन्जको मेयर राजेशमान सिंहले अरुको छोरीलाई आफ्नो छोरी बनाई किर्ते कागज खडा गरी दिलाएको नागरिकताबारे सदनमा आवाज उठाउने रवि लामिछाने आफू उपप्रधान एवं गृहमन्त्री भएपछि किन कारबाही नगरेको भन्ने प्रश्न गर्दै यसमा कुनै लेनदेन भएको छ भन्ने स्पष्ट पार्न आग्रह गरेका थिए । 

हाम्राकुरासँग कुरा गर्दै एक सहभागीले नाम उल्लेख नगर्ने सर्तमा गृहमन्त्रीको बोली र व्यवहारले जनताको बीचमा आफूलाई जान असजिलो भएको भन्दै पार्टी सरकारमा नहुँदा बरु स्थानीय प्रशासन प्रहरीले नेताहरुलाई बोलाएर राय सुझाव लिने गर्थ्यो तर जुन बेलादेखि दोश्रो पटक उपप्रधान एवम गृहमन्त्री भए त्यसपछि डाक्नसमेत छोडेको कुरा उठेको बताए ।

सो भेटघाट कार्यक्रममा पार्टीका मधेस प्रदेशका सदस्य हरि पन्त, पर्सा जिल्लाका संयोजक दिलिप कुर्मी, उपसंयोजक तुलसा पौडेल अधिकारी र नेता मुर्ली जलानलगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ