arrow

नयाँ युगको वैकल्पिक अर्थशास्त्र बौद्ध दर्शन

logo
शंकर अर्याल, 
प्रकाशित २०८१ जेठ १० बिहिबार
shankar-aryal-81-2-10.jpg

सन् १९६६ मा जर्मन तथ्यांकशास्त्री तथा अर्थशास्त्री अन्स्र्ट फ्रेडरिक शुमाकर जो बर्माका तत्कालीन प्रधानमन्त्रीका सल्लाहकारसमेत नियुक्त भएका थिए उनले एउटा पुस्तक लेखे जसको नाम थियो, ‘स्मल इज ब्युटिफुल’ । शास्त्रीय अर्थशास्त्रदेखि किन्सियन अर्थशास्त्र हुँदै मौद्रिक अर्थशास्त्रीय अवधारणासम्म पुग्दा पनि अधिक धनको सिद्धान्तलाई त्याग्न नसकेको पाश्चात्य अर्थशास्त्रको यो एउटा वैकल्पिक अवधारणा थियो । यो नै बौद्ध दर्शनमा आधारित अर्थशास्त्रको पहिलो व्याख्यासमेत थियो । 

उक्त पुस्तक प्रकाशनको चार वर्षपछि सन् १९७० मा भुटानका राजा जिङ्वे सिङ्वे वान्चुकले देशमा कुल राष्ट्रिय खुशी (ग्रस नेशनल ह्यापिनेस) गणनाको शुरूआत गरेका थिए । राष्ट्रको सफलताको मापन पैसामा मात्रै हुन सक्दैन भन्दै वान्चुकले देशको सफलतालाई मापन गर्ने एउटा सूचकका आधारमा यसलाई गणना गराएका थिए । ७० को दशकको अन्त्यमा भएका यी प्रयासहरू नै बुद्धिष्ट अर्थशास्त्रको नयाँ प्रयोग थिए । 

पछिल्लो समय विश्वमा आधारभूत अर्थशास्त्रका अवधारणाहरू फेल हुँदै गएका छन् । हामी मार्क्सवाद, साम्यवाद, समाजवाद वा पूँजीवादमा धनलाई नै पहिलो प्राथमिकता दिइयो । धन कमाउने, यसको वितरण गर्ने कुराहरूमा विवाद भए तर धनलाई नै साध्य मान्ने अवस्थाको अन्त्य भएन । तर यी आर्थिक प्रणालीहरूले मान्छे मात्रै नभएर समग्र समाजको खुसी, नैतिकता तनाव व्यवस्थापन, वातावरण संरक्षण जस्ता विषयको मापन र वितरणको व्याख्या गर्न सकेको छैन । त्यही अभावभित्र बुद्धिष्ट अर्थशास्त्रको महत्व पाइन्छ । 

यस्तो छ बौद्ध दर्शनका शास्त्रीय सारः

बौद्ध धर्मको सार चार वटा आर्यसत्य र आर्य अष्टाङ्गिक मार्ग अन्तर्गत समेटिएका छन् । बुद्धले संसारका चार सत्यहरू छन् भनेका छन् । (१) दुःख छ (२) दुःखको कारण छ, (३) दुःखको अन्त्य छ र (४) दुःखको अन्त्यको मार्ग छ । 

त्यस्तै आठवटा बाटोद्वारा निर्वाण (मोक्ष) मा पुगिन्छ भन्ने बुद्धको विचार छ । (१) सही देख्नु (२) सही विचार हुनु (३) सही कोसिस हुनु, (४) सही होश हुनु, (५) राम्रो एकाग्रता हुनु (६) राम्रो वचन बोल्नु (७) राम्रो काम गर्नु र (८) राम्रो जीविका गर्नु नै आर्य अष्टाङ्गिक मार्गहरू हुन् । बुद्धिष्ट आर्थिक विचारहरू पनि यिनै आर्यसत्य र आर्यमार्गमा आधारित छन् । 

बुद्धिष्ट आर्थिक विचारको मुख्य चारवटा उपदेश थिए । १. दान दातव्यबाट मात्रै बेरोजगारी समस्या हट्दैन, २. बीउबीजन र पशुआहाराको व्यवस्था राज्यले गर्नुपर्छ, ३. राज्यका कर्मचारीहरूलाई समयमा उचित तलब दिनुपर्छ, ४. कृषि उत्पादनको भण्डार र बजारको राज्यले व्यवस्था गर्नुपर्छ । 

यिनै विचारहरूको आधारमा चक्रवर्ती सम्राट अशोकले राज्यभर ८४ हजार वटा चैत्य, विहार र स्तुपाको निर्माण गरेका थिए । यी स्तुपाहरूलाई त्यतिबेला बजार केन्द्रका रुपमा विकास गरिएको थियो । 

त्यस्तै सम्राट अशोकले सबै कृषि तथा पशुपालनसम्बन्धी जानकारी सार्वजनिक गरे । त्यही बेलादेखि भारतखण्डमा सामूहिक खेतीको शुरूआतसमेत भएको बताइन्छ । 

बुद्धिष्ट अर्थशास्त्रले कुनै पनि सम्पत्ति र पैसालाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि सिकाएको थियो । त्यस्तै संयक आजिविका अर्थात् सुकर्म गरी जीविका चलाउनुपर्छ भन्ने यो दर्शनको मुख्य आशय हो । यो दर्शनले मासुजन्य व्यवसाय र हतियारलाई प्रोत्साहन गर्दैन । यदि कुनै काम गलत छ भने त्यस्तो काम गर्न सहयोग गर्ने कार्य पनि गलत हुन्छ भन्ने सन्देश दिएको छ । जुन अन्य अर्थशास्त्रमा पाइँदैन । 

यो दर्शनले कमाएर बचेको पैसा केही दान र केही बचत गर्न प्रोत्साहित गर्छ । मान्छेलाई विलासितामा बाँच्न प्रोत्साहन गर्दैन । जहिले पनि सुख र दुःख बीचको बाटो हिँड्नुपर्छ भन्ने सन्देश दिन्छ । मानिस कहिलै पनि धेरै खुशी र एकदमै धेरै निराश हुनु हुँदैन भन्छ । जबकि अरु कुनै पनि आर्थिक विचारहरूले मानवीय संवेदनाबारे विचार गरेको पाइँदैन ।  

शास्त्रीय अर्थशास्त्रको अर्को महत्वपूर्ण कमजोरी भनेको यसले वातावरण र मानव स्वास्थ्यको अवस्थालाई ध्यान दिँदैन । बजारमा जे बिक्छ त्यही उत्पादन गर्नुपर्छ भन्ने मान्यता राख्छ । 

बुद्धिष्ट अर्थशास्त्रीय दर्शनले भने समाजका उत्पादन हुने वस्तुले वातावरण संरक्षण, मानिसको खुशी विस्तार मात्रै होइन एउटा व्यक्तिको खुशीका लागि अर्को व्यक्तिको हानि हुनु हुँदैन भनेर नकारात्मक तथा सकारात्मक बाह्यताको विषयलाईसमेत समेटेको पाइन्छ । 

पाश्चात्य अर्थशास्त्रले धेरै सम्पत्तिबाट धेरै खुशी पाइन्छ भन्ने मान्यता राख्छ । त्यसैले सम्पत्ति कमाउनकै लागि अधिक पूँजी खपत हुने उद्योगमा लगानी गर्न प्रोत्साहन गर्छ । तर बुद्धिष्ट अर्थशास्त्रले बढीभन्दा बढी श्रमशक्तिको प्रयोग र धेरैभन्दा धेरै रोजगारी (बरु आम्दानी कम) लाई प्रोत्साहन गर्छ । 

त्यस्तै यो अर्थशास्त्रले बाह्य निर्भरताको विरोध गर्दथ्यो । मानिसलाई आफूसँग भएका स्रोत साधनबाट नै खुशी हुनुपर्छ भन्नेमा जोड दिन्थ्यो । आयात हुनैपर्ने अवस्था भए त्यति नै बराबरको अर्को मालसामान निर्यात हुनुपर्छ भन्ने मान्यता राखिन्थ्यो । अहिले यसलाई संरक्षणवाद तथा सन्तुलित अर्थव्यवस्थाको रुपमा हेर्ने चलन छ । 

बुद्धिष्ट अर्थशास्त्रलाई नै सहयोग गर्न अर्थशास्त्री एलन बिट्टीले ‘फल्स इकोनोमी’ भन्ने पुस्तक लेखेका छन् उनका अनुसार विश्वका सबै अर्थतन्त्र गलत छन् । किनभने जहाँ नाफा भइरहेको छ त्यो नाफाबाट नैतिकता प्राप्त भइरहेको छैन भन्ने उनको दाबी छ । 

त्यस्तै अर्का लेखक डिम हारफोर्डले ‘अन्डरकभर इकोनोमी’ नामक पुस्तकमा एउटा उदाहरण दिएका छन् । उनका अनुसार सिँचाइ विभागले हामीलाई ६.६० रुपैयाँमा १० हजार लिटर पानी दिन्छ, एक युनिट बिजुलीलाई १३ रुपैयाँ तिर्दा हामी किन महँगो भन्न सक्दैनौँ ?’ अर्थात् यहाँ वस्तुहरूको मूल्यमा निर्धारणमा नैतिकता छैन भन्ने लेखकको दाबी छ । 

अहिले अर्थशास्त्रसँग जोडिएर आएका कयौँ कानूनी, नैतिक, व्यावहारिक र वातावरणीय सवालहरूलाईसमेत २५०० वर्ष पुरानो दर्शनमा उल्लेख भएको देखिन्छ । शास्त्रीय अर्थशास्त्रको अभ्यासबाट वाक्क भएका दार्शनिकहरू बुद्धिष्ट आर्थिक सिद्धान्तलाई अबको वैकल्पिक आर्थिक दर्शनको रुपमा बुझ्दै आएका छन् ।
 



नयाँ