arrow

एक पाइलामा संसार, अर्कोमा ब्रम्हाण्ड

logo
कृष्ण शर्मा,
प्रकाशित २०८१ जेठ १२ शनिबार
krishna-sharma-81-2-12.jpg

न प्रहृष्येत्प्रियं प्राप्य नोद्विजेत्प्राप्य चाप्रियम् ।
स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद्ब्रह्मणि स्थितः ।
⁃ गीता ॥ अध्याय ५ ॥ श्लोक २०॥

अर्थात्ः जो न प्रिय वस्तु प्राप्त गरेपछि अति हर्षित हुन्छ, न अप्रिय परिणाम पाएर विचलित हुन्छ।

जसको बुद्धि स्थिर छ, जो मोहरहित छ, अनि जो भगवद्विद्याको ज्ञाता हो त्यो शुरूदेखि नै ब्रह्ममा स्थित रहन्छ।

म लामो समयसम्म केही पाउँदा खुशी अनि नपाउँदा बेखुशी रहेँ । अस्थिर रहेँ । अनि त्यो भन्दा पनि लामो समयसम्म ज्ञानरहीत मूर्खावस्थामा रहेँ । खान हुने नहुने, पिउन हुने नहुने, गर्न हुने नहुने सबै कर्महरू गरेँ । 

कुमार नगरकोटीले जस्तै मसानघाटैमा रात त बिताइन अनि संजीव उप्रेतीले जस्तै रात बिरात टौदहको फन्को मार्न पनि पुगिन होला तर जीवनले तेर्साएका ती भन्दा घनघोर काला रातहरूमा म मसानघाट अनि टौदह भन्दा बढी दर्ददायी अवस्थाहरूबाट चाहिँ गुज्रिएँ ।

सायद प्रारब्धमा म भगवद्विद्याको विधार्थी थिइन। त्यसैले होला शुरूदेखि नै ब्रह्ममा स्थित रहन सकिन। भट्किइरहेँ । त्यसकारण स्थिर हुन सक्नुलाई मैले आफ्नो यात्राको अन्तिम गन्तब्य बनाएँ । भट्किएर थाकेपछि जो कोही पनि स्थिर हुन खोज्दछ।

यतिबेला भने अस्थिरताका सयौँ बिसौनीहरू पार गरेर अहिले यो प्राप्यमा आइपुगेको छु। त्यसैले म जहाँ छु स्थिर छु। शान्त छु। अविचलित छु। पूर्ण छु। भरिएको गाग्री जस्तै। मनसुनको तलाउ जस्तै । बैकाल ताल जस्त । आँधीबेहरी नखेपेको अवस्थाको पश्चिम प्यासिफिक जस्तै ।

म देख्छु दुःखका, पीडाका, क्रोधका, ईर्श्याका, अहंकारका असंगत सबै ढुंगाहरू मेरो आँखा अगाडिबाटै तल खस्छन् र बडो गह्रुँगो  गरी डुब्छन् । आजकल कसैले रिस, द्वेश र रागका ढुंगा मलाई लक्षित गरेर फ्याँक्दा मेरो शान्त तलाउको सतहमा तरंगका चक्र उत्पन्न हुँदैनन् । 

म अटल रहन सकिरहेकोछु । सबै कुरा म मा आउँछन्, अनि हराउँछन् । न मैले तिनीहरूलाई काँध दिएर बोक्छु, न आजकल तिनीहरूले मेरो पिठ्युँमा लाद्ने असफल कोसिस नै गर्छन् । 

मैले अनासक्त भावमा उनीहरूलाई हेर्छु। उनीहरू सायद मेरो सम्यक दृष्टिबाट दिक्क हुन्छन् अनि आफ्नो बाटो लाग्छन् । म उनीहरूलाई हेर्नुपर्ने अनासक्त आग्रहबाट फेरि स्वतन्त्र हुन्छु । 

आशक्ति, आकर्षण, विकर्षण, आग्रह, पूर्वाग्रह … केही रहँदैनन् । भागदौडको भ्याइ नभ्याइ यात्रा सकिएको छ । गणितका जोड घटाउहरू समाधान भएका छन् । गुणन एवं भागका हिसाबहरू टुंगिएका छन् ।

मैले माथि नै भनिसकेँ कि यो गन्तब्यमा नआउन्जेल म अस्थिर थिएँ । मैले थप्न चाहेँ त्यो यात्रा कष्टयुक्त थियो। थकानयुक्त थियो । हारयुक्त थियो । धारयुक्त थियो। प्रहारयुक्त थियो। हरेक बिसौनीहरूमा अल्झिन्थेँ । 

म जेमा थिएँ त्यसैमा रमाउँथेँ । म जे थिएँ त्यो मलाई थाहा थिएन त्यसैले म स्वयंसँग रमाउन सकिरहेको थिइन । बाहिरका धेरै कुराहरूले यसरी तान्दथे मानौँ म जन्मँदा ती सबैमा मेरो नाल जोडिएको थियो। 

नयनहरूले घेर्दथे मलाई। कसैले माया गरेको अनुभूति हुन्थ्यो । अनि मलाई लाग्थ्यो त्यो नै अन्तिम बिसौनी हो। उत्रन्थेँ ।

मलाई सम्झना छ एउटा बिसौनीले मलाई मायानगरीमा पुर्याएर झारेको थियो । म त्यहाँ धेरै वर्षसम्म अल्झेँ । त्यो ठाउँले विगतमात्र होइन म स्वयंलाईसमेत बिर्साएको थियो । 

म त्यहाँ को थिएँ वा के भएको थिएँ मलाई थाहा भएन । लाग्थ्यो म हराएको थिएँ स्वयंसँग । कसैको प्यारमा म देवदास भएको थिएँ । तर देवदासको अन्तिम नियतिमा पुग्नुअघि कता कताबाट दिमागमा संकेत आयो । धोकाका अस्पष्ट रेखाहरू देखा पर्न थाले। अनि ज्ञात भयो माया भनेको त दुःखको सुन्दर आवरणमात्र हो भनी। त्यसपछि मैले उनको घर जान चढेको रिक्सा रोकेँ र बस चढेँ ।

फेरि जीवनको गाडी अगाडि बढ्यो। यात्राको क्रममा केही चिनेका, धेरै नचिनेका सहयात्रीहरू दरबदर भेटिन्थे । कोही अपरिचितले मलाइ हेर्दा, किन हेरिरहेको होला जस्तो लाग्थ्यो। 

अस्थिर थिएँ त्यसैले सोध्थेँ पनि। अनि कोही अपरिचित सहयात्रीमाथि अनायास नजर पर्दा उनले पनि “कस्तो एक टकले अरूलाई हेरिरहन सक्ने पाखे रहेछ” भनी सोच्दा हुन् सायद। 

यात्रामा कोही वाद गर्न आउँदा म विवाद गर्थें। हरेक कुरामा मैले मत वा बिमत राख्थेँ जसरी अरूले राख्थे। म बोल्दा सायद अरुलाई ठीक त्यसरी नै पोल्थेँ जसरी उनीहरूका कुराले पोल्थे मलाई । मैले अरूको त्यसरी नै लुट्न खोज्थेँ सायद जसरी उनीहरू मेरो लुछ्थे।

कस्तो अचम्म ! यो अन्तिम बिसौनीमा आएपछि क्रमभंग भयो।  चक्र तोडियो। आरन रोकियो। घुमाइ सकियो। बाटो सोझियो। यात्रा अब घुमी घुमी त्यहीँ पुग्न छोड्यो। सबै राम्रा नराम्रा भनेर तुलना गरिने कुराहरू छुटे। संकोच छुटे। मायाका शब्दजाल तोडिए। धोखाघडी फुटे। वाद विवाद छुटे। काम छुटे। क्रोध छुटे। लोभ छुटे। मोह छुटे। अहंकार छुटे। अस्थिरताको गति छुट्यो। केवल स्थिरता रह्यो।

तिमी स्थिर हुन चाहन्नौ भने पनि ठीक छ। कुरा यत्ति हो कि तिमीले आफू चढेका ती बिसौनीहरूबीच कुँदिरहने घुम्ती बसको यात्रा मन पराएको हुनुपर्यो। 

तिमी जेमा छौ त्यसमै रमाउन सिकिसकेको हुनु पर्यो। तर यदि तिमी स्थिर हुन चाहन्छौ भने म भन्न चाहन्छु – अझै तिमी गन्तब्यमा पुगेका छैनौ । त्यसका लागि तिमीले घुम्ती बसको टिकट काट्दै हिँडिरहन छोड्नु पर्ने हुन्छ । 

तिमीले चढ्ने होइन उत्रने यात्रा चयन गर्नुपर्छ। त्यागको यात्रामा चढ्नु पर्छ। यो यात्रा शुरूमा कठिन जस्तो लाग्छ । पट्यारलाग्दो अनुभूति हुन्छ। माया गरिएका कुरालाई त्यागेर एक्लै हिँड्न सजिलो चाहिँ पक्कै हुँदैन। 

तर हिँड्न छोड्नु हुँदैन। स्थिर भएपछिको यात्रामा पनि हिँड्नु त पर्छ नै। यद्यपि मैले यति चाहिँ खुलाउनै चाहेँ – स्थिर यात्रा सोझो हुन्छ। त्यसैले बेजोडको गतिवान हुन्छ। हल्का हुन्छ। हिँड्न थालेपछि महसुस हुन्छ त्यसको गुरूत्वहीनता। गह्रुँगा सबै सामानहरू पछाडि छोडेकोले यात्रा यति हलुको हुन्छ कि एक पाइलाले संसार नाप्छ, अर्कोले ब्रम्हाण्ड।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ