arrow

भारतको लोकसभा निर्वाचन, कसलाई कति सिट ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
narendra-modi-election-2024.jpg

काठमाडौँ । भारतीय जनता पार्टी भाजपा नेतृत्वमा रहेको नेशनल डेमोक्रेटिक अलाइन्स (एनडीए) को गठबन्धनले बहुमत ल्याएपछि नरेन्द्र मोदी भारतमा लगातार तेस्रोपटक प्रधानमन्त्री बन्दैछन् । 

मंगलबार साँझ भाजपा मुख्यालयमा आयोजित सभामा उनले विकसित भारत निर्माणको सपनालाई साकार गरेरै छाड्ने उद्घोष गरे । ३४ मिनेटको सम्बोधनमा उनले आगामी पाँच वर्षमा सरकार सबै प्रकारका भ्रष्टाचारहरुविरुद्ध लाग्ने उद्घोषसमेत गरे । 

भारतमा अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा ४२ दिन लगाएर ५४३ सिटका लागि भएको निर्वाचनको मतगणना मंगलबार भएको थियो । यसमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९२ सिट प्राप्त गर्दा इन्डियन नेशनल कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३४ सिट प्राप्त गरेको छ । बाँकी १७ सिट भने कुनै पनि गठबन्धन आबद्ध नभएका दलहरुको छ । लोकसभामा २७२ सिट प्राप्त गर्ने दल वा गठबन्धनले तोकेको व्यक्ति प्रधानमन्त्री बन्न सक्ने अवस्था हुन्छ । नियुक्त भएका प्रधानमन्त्रीको सिफारिसमा २ जना राष्ट्रिपतिले नियुक्त गर्ने चलन छ । 

कुन गठबन्धनमा कुन पार्टीको कति सिट ?
अहिले एनडीए गठबन्धनको २ सय ९२ सिट छ । त्यसमध्ये निर्वाचनमा सबैभन्दा ठूलो दल भारतीय जनता पार्टीले २४० सिट प्राप्त गरेको छ । यो पार्टीको नेतृत्वमा रहेको एनडीएमा आन्ध्र प्रदेशका चन्द्रबाबु नाइडु नेतृत्वमा रहेको तेलगु डेसम पार्टी (टीडीपी) को १६ सिट र विहारका नितिश कुमारको नेतृत्वमा रहेको जनता दल युनाइटेड (जेडीयू) को १२ सिट छ।

त्यस्तै, शिवसेनाको ७, लोक जनशक्ति पार्टी (रामविलास) को ५, जनता दल (सेकुलर) र जनसेना पार्टी, राष्ट्रिय लोक दलको दुई–दुई गरी ६ सिट तथा असम जनपरिषद्, युनाइटेड पिपुल्स पार्टी लिबरल, राष्ट्रवादी काँग्रेस पार्टी, अपना दल (सोनियालाल), अखिल झारखण्ड विद्यार्थी युनियन, हिन्दुस्तानी आवाम मोर्चाको एक–एक गरी ६ सिट प्राप्त गरेको छ । 

उता कांग्रेसको नेतृत्वमा रहेको इन्डिया गठबन्धनसँग २३४ सिट रहेको छ । जसमध्ये इन्डियन नेशनल काँग्रेसको ९९ सिट, उत्तर प्रदेशका अखिलेश यादवको समाजवादी पार्टीको ३७ सिट, पश्चिम बंगालकी ममता बनर्जीको २९ सिट, द्रविड मुन्नेत्र कजगम (डीएमके) को २२ सिट, उद्दव ठाकरे नेतृत्वको शिवसेनाको ९ सिट, राष्ट्रवादी कांग्रेस पार्टी (शरदचन्द्र पवार) को ८ सिट, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको ४ सिट, लालुप्रसाद यादवको राष्ट्रिय जनता दल (आरजेडी) को ४ सिट, आईएसआर कांग्रेस पार्टी ४ सिट, आम आदमी पार्टीको ३ सिट, इन्डियन युनियन मुस्लिम लिग ३ सिट, झारखण्ड मुक्ति मोर्चा ३ सिट रहेका छन् । 

त्यस्तै, जम्मू एण्ड कश्मीर नेशनल कांग्रेसको, विदुतलै चिरुतैगल कच्ची (भीसीके), भारतीय कम्युनिष्ट पार्टी (सीपीआई, भारतीय कम्युनिष्ट पार्टी (माले) लिबरेसनको दुई–दुई गरी ८ सिट र अन्य पाँच दलको एक–एक गरी ५ सिट छन् । 

कुल ५४३ मध्ये सिटमध्ये बाँकी १७ सिट कुनै पक्षमा छैनन् । त्यसमध्ये बाईएसआर कम्युनिष्ट पार्टी ५ सिट, स्वतन्त्र ७ जना र अन्य एक–एक सिटका पाँच वटा दलहरुको ५ सिट रहेका छन् । 

सबैले जितेको निर्वाचन

भारतको यो निर्वाचन निकै रोचक बन्यो । यो निर्वाचन सबैका लागि विन–विनको अवस्था बनेको छ । सिट घटेको भए पनि सबैभन्दा ठूलो दलको रुपमा भाजपा कायमै छ । गठबन्धनमा आवद्ध दलसँग मिलेर सरकार बनाउन भाजपासँग बहुमत छ । त्यसैले गणितीय रुपमा भाजपा र यसको गठबन्धनले यो निर्वाचन जितेको छ । 

यद्यपि भाजपालाई पहिलेजस्तो सजिलो भने छैन । २०१९ को निर्वाचनमा यो गठबन्धनसँग कुल ३०८ सिट थियो । त्यसमध्ये ३०३ सिट भाजपा एक्लैको थियो ।

 गठबन्धनमा आवद्ध अन्य दलले बहुमतमा असर गर्न नसक्ने अवस्थाका कारण सरकारलाई निकै बलियो मानिन्थ्यो । अहिले उक्त गठबन्धनमा सहयात्री दलहरुको भूमिका महत्वपूर्ण छ । पहिले इन्डिया गठबन्धनमै रहेका जेडीयू र टीडीपीले सरकारको समीकरण नै बदल्ने क्षमता राख्छन् । मंगलबार मतपरिणाम सार्वजनिक भइरहँदा इन्डिया गठबन्धनबाट जेडीयूका अध्यक्ष नितिश कुमारलाई उपप्रानमन्त्री बनाउने अफर आएको भारतीय सञ्चार माध्यमहरुले सार्वजनिक गरेका थिए । 

तर त्यसका लागि सजिलो भने छैन । अहिलेको समीकरण हेर्दा एनडीएमा रहेका मुख्य दुईवटा सहयोगी दल डीडीपी र जेडीयू दुवै गए पनि इन्डिया गठबन्धनमा बहुमत पुग्न मुस्किल हुन्छ । दुई पार्टी जाँदा उनीहरु गठबन्धनको क्रमशः पाँचौं र छैटौं शक्ति बन्छन् । त्योभन्दा बढी फाइदा यी पार्टीहरुलाई एनडीएमै हुने देखिन्छ । त्यसैले यो सम्भावना भने छैन । 

यद्यपि प्रधानमन्त्री मोदीलाई अब अरु दललाई बेवास्ता गर्ने छुट छैन । यो बुझेका उनले मंगलबारको सम्बोधनमा मोदीको ग्यारेन्टी वा भाजपाको संकल्प भन्दा बढी एनडीएको नाम लिए । सहयात्री दलसँग मिलेर सहयात्रा गर्ने तयार रहेको सन्देश उनले दिइसकेका छन् ।

यो निर्वाचनलाई विपक्षीहरुले सबैभन्दा ठूलो जितको रुपमा लिएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले यो पटक ९९ सिटमा जित निकालेको छ । २०१४ र २०१९ मा क्रमशः ४४ र ५२ सिट जितेको भाजपाले यसपटक यो उपलब्धि हासिल गरेको हो । 

आफ्नो दल र गठबन्धनको जितको खुशी कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गरेरै दिइसकेको छ । पार्टीका अध्यक्ष मल्लिकार्जुन खर्गेले यो निर्वाचन परिणामलाई सहर्ष स्वीकार गर्ने बताए । त्यस्तै पार्टीका नेता राहुल गान्धीले आफूले संविधान जोगाएको टिप्पणी गर्दै यो जनताको जित भएको बताए । पत्रकार सम्मेलनमा उनले संविधान नै बोकेर आएका थिए । 

यसपटक सबैभन्दा ठूलो उपलब्धि अखिलेश यादवको रह्यो । अघिल्लो पटक शून्यमा सीमित भएको यादवको समाजवादी पार्टी यसपटक भारतकै तेस्रो ठूलो राजनीतिक दलको रुपमा उदाएको छ । उक्त पार्टीले उत्तर प्रदेशमा ३७ सिटको जित निकालेर प्रदेशकै सबैभन्दा ठूलो दल समेत बन्यो । जुन शानदार कमब्याक हो । तर सोही प्रदेशको बहुजन समाज पार्टी भने १० सिटबाट खुम्चिएर शून्यमा झरेको छ । यसपटक संसदमा प्रतिनिधित्व गर्ने दलमध्ये भाजपा र एनसीपी बाहेक सबैको सिट बढेकै छ । 

ममता बनर्जी नेतृत्वको अखिल भारत त्रिणमुल कांग्रेसले यसपटक पश्चिम बंगालमा ७ सिट बढाएको छ । भाजपासँग मुख्य प्रतिस्पर्धा रहेको उक्त प्रदेशमा आफूलाई कसैले हल्लाउन नसक्ने सन्देश बनर्जीले दह्रोसँग दिएकी छिन् । चुनावी परिणामपछि सम्बोधन गर्दै उनले प्रधानमन्त्री मोदी र भाजपाको आलोचना गरिन् । 

यसरी सन् २०१९ को तुलनामा ६३ सिट गुमाएर हारेको जस्तो देखिएर पनि जितेको भाजपा र एनडीए गठबन्धन र हारेर पनि जितेको जस्तो देखिएको इन्डिया गठबन्धन दुवैका लागि यो निर्वाचन जितको निर्वाचन बनेको छ ।

सन् २०१९ मा ५२ सिटमा खुम्चिएको कांग्रेस अहिले ९९ सिट जितेर ४७ सिट फाइदा गरेको छ । यद्यपि यो निर्वाचनमा मिडिया र विश्लेषकहरुको साख भने नराम्रोसँग गिरेको छ । सबैजसो मिडिया र अनुसन्धान संस्थाहरुले एनडीए गठबन्धनको ३५० भन्दा बढी सिट आउने एग्जिट पोल सार्वजनिक गरिरहेको अवस्थामा पछिल्लो मत परिणामले यसको विश्वसनीयतामाथि नै प्रश्न खडा गरिदिएको छ ।

त्यस्तै भारतीय पूँजीबजारमा सोमबार र मंगलबार तरंग ल्यायो । मतगणनाको अघिल्लो दिन अहिलेसम्मकै शेयर बजार उच्च भएकामा मंगलबार पहिरो नै गयो । ४१५ ट्रिलियन बजार पूँजीकरण भएको भारतीय शेयर बजार मतगणनाका दिन पाँच प्रतिशत भन्दा धेरैले घट्दा २० ट्रिलियन भारु भन्दा बढीको मूल्य गुमेको छ ।

यो गिरावट नेपालको पूँजीबजारको १० गुणा बढी हो । लोकतन्त्रले जितेको लोकसभामा सबैको जित भयो भनिरहँदा शेयर बजारले पनि आफ्नै गति लिने विश्लेषण भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ