arrow

खोइ वार्षिक विकास कार्यक्रम ?

दुई निकायले संसदमा अझै बुझाएनन् वार्षिक विकास कार्यक्रम

बजेट वक्तव्य सार्वजनिक भएको १५ दिन बितिसक्दा पनि कार्यक्रम सार्वजनिक भएन, नबुझाउनेमा राष्ट्रिय योजना आयोग पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
Parliament_building-1619601493.png

काठमाडौँ । बजेट वक्तव्य सार्वजनिक भएको १५ दिन बितिसक्दा पनि संघीय तहका सबै सार्वजनिक निकायको वार्षिक विकास कार्यक्रम सार्वजनिक भएको छैन । संघीय संसद सचिवालयका अनुसार बिहीबारसम्म संघीय निकायमध्ये दुईवटा महत्वपूर्ण निकायको विकास कार्यक्रम प्राप्त हुन बाँकी छ । 

यसरी विवरण नबुझाएका निकायहरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय योजना आयोग रहेका छन् । त्यसमध्ये भौतिक पूर्वाधार मन्त्रालयको यस्तो कार्यक्रम बहुप्रतिक्षित मानिन्छ । 

मन्त्रालयकी सूचना अधिकारी शुभा श्रेष्ठले विकास कार्यक्रम छपाइको क्रममा रहेको र भोलिसम्म संसद सचिवालयलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिइन् । उता योजना आयोगलेसमेत शुक्रबारसम्मकै डेटलाइन दिएको संघीय संसद सचिवालयले जनाएको छ । 

मन्त्रालयहरुले छपाइको कारण देखाउँदै कारण देखाउँदै उक्त छपाइमा ढिलाइ गर्दै आएका छन् । संसदमा मन्त्रालयगत छलफल हुने समयसम्म पनि वार्षिक विकास कार्यक्रम सार्वजनिक नगर्दा यसअघि संसद ३ दिनसम्म स्थगित गरिएको थियो । 

मन्त्रालयउहरुले यो समस्या देखाए पनि अनियमित रुपमा भएका विनियोजनको विरोध दबाउने रणनीतिको रुपमा प्रकाशन ढिलाइ गरिहेको आरोप समेत लाग्ने गरेको छ । सांसदहरुलाई लामो समयसम्म अध्ययन गर्न दिँदा संसदमा विरोध खेप्न नसक्ने भएकोले अन्तिम समयमा मात्रै उपलब्ध गराउने तथा उपलब्ध गराउँदा समेत कम उपलब्ध गराउने गरिएको छ । 

कतिपयले मन्त्रालयगत छलफल नटुंगिइकन वेभसाइटमा विकास कार्यक्रम सार्वजनिक नै नगर्ने गरेका छन् । अहिलेसम्म मन्त्रालय स्तरका १० वटा निकायले मात्रै विवरण अपलोड गरेको भेटिएको छ । 

के हो वार्षिक विकास कार्यक्रम ? 

सरकारले बजेटमा विनियोजन गरेको चालु तथा पुँजीगत शीर्षकमा छुट्याइएको बजेट कहाँ कहाँ खर्च हुनेछ भनेर देखाउने विवरणको पुस्तक हो वार्षिक विकास कार्यक्रम । मन्त्रालयले प्रकाशन गर्ने यो विवरण हेरेपछि मात्रै आम जनताले आफ्नो क्षेत्रको कुन परियोजनामा कति बजेट पर्यो भन्ने हेर्न सक्छन् । 

मन्त्रीहरुले आफ्नो मन्त्रालय अन्तर्गतको बजेट आफू वा आफूनिकट व्यक्तिको क्षेत्रमा बढी विनियोजन गर्ने गरेको आरोप लाग्दै आएको छ । अहिले भौतिक पूर्वाधार, शहरी विकास, खानेपानी, उर्जा जलस्रोत तथा सिँचाइ, कृषि विकास मन्त्रालय लगायतको कार्यक्रम सबैभन्दा धेरै चासोका साथ हेरिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ