arrow

विवादबीच पथरीशनिश्चरेको सार्वजनिक सुनुवाइ, वडाध्यक्षमाथि सेटिङको आरोप

logo
रामकुमार परियार,
प्रकाशित २०८१ असार १ शनिबार
public-hearing-pathari-81-2.jpg

मोरङ । मोरङमै सर्वाधिक बेरुजु देखिएको पथरीशनिश्चरे नगरपालिकाको सार्वजनिक सुनुवाइ विवादैविवादबीच सम्पन्न भएको छ ।

नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यविधि विपरीत पर्याप्त प्रचारप्रसार नगरी सार्वजनिक सुनुवाइ कार्यक्रम राखेपछि सरोकारवालाहरुले कार्यक्रम स्थलमा व्यापक असन्तुष्टि पोखेका छन् ।

कार्यविधिले व्यापक जनसहभागितामा सार्वजनिक सुनुवाइ आयोजना गर्न निर्देश गरे पनि नगरपालिकाले बिहीवार सांँझ फेसबुक पेजमार्फत कार्यक्रमको ब्यानर सार्वजनिक गरी शुक्रबारका लागि सार्वजनिक सुनुवाइ तय गरेको थियो ।

शुक्रबार पथरीशनिश्चरे नगरपालिकाको वडा नं ७ स्थित कीर्तिपुर बजारमा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा नगरपालिका नजिकका सीमित व्यक्तिहरुलाई मात्रै बोलाइएको थियो ।

बिहान १० बजे शुरु हुने भनिएको कार्यक्रममा सहभागी हुन पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राई दिउँसो १ बजेपछि कार्यक्रमस्थलमा पुगेका थिए भने मेयर मोहनप्रसाद तुम्बापो २ बजेपछि मात्रै कार्यक्रम स्थलमा उपस्थित भएका मेयर थिए । 

यसैगरी १० वडामध्ये वडा नं १ , ५ र ७ का वडाध्यक्षहरु मात्रै कार्यक्रममा उपस्थित भएका थिए । जनताको गुनासो सुन्ने कार्यक्रममा उपमेयरसहित अधिकांश वडाध्यक्षहरु अनुपस्थित रहेपछि सरोकारवालाहरुले विरोध गरेका थिए ।

कार्यक्रममा स्थानीय महिला अधिकारकर्मी राधा संग्रौला , काशिराज राई , गोविन्द भण्डारी , सन्तोष बाँस्तोला , हर्कमान तामाङ लगायतले नगरपालिकाका बेथिति र कमीकमजोरीहरुबारे प्रश्न गरेका थिए । 

वडा नं ४ का पूर्व वडाध्यक्ष भण्डारीले वर्तमान जनप्रतिनिधिका कार्यशैली र गतिविधिहरु संतोषजनक नरहेको बताए । उनले वडाध्यक्षहरु सेटिङमा चल्ने गरेको आरोपसमेत लगाएका थिए । 

कार्यक्रममा नगरपालिकाको बेरुजु , भ्रमण खर्च , ईन्धन खर्च र अनुगमन प्रभावकारी नभएको प्रश्न उठ्दा प्रशासकीय अधिकृत शशी राईले चातुर्यपूर्वक त्यसको बचाउ गरेका थिए भने मेयर तुम्बापोले कमीकमजोरी स्वीकार्दै आगामी दिनमा त्यसलाई सुधारेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ