arrow

नोबेल पुरस्कार विजेता मोहम्मदीलाई सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
Narges-Mohammadi.jpg

काठमाडौँ । इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको उनका वकिलले मङ्गलबार बताएका छन् । 

इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि कारागारमा राखिएको छ । 

“मोहम्मदीलाई प्रणालीविरुद्ध गलत प्रचार गरेको आरोपमा एक वर्षको कारागार सजाय दिइएको थियो”, वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा भने । उनले ‘यो सजाय जारी गर्नुको कारण’ मा संसदीय निर्वाचनको बहिष्कार गर्ने आह्वान, स्विडिश र नर्वेली सांसदहरूलाई पत्र र ‘श्रीमती दिना गालिबफका बारेमा टिप्पणीहरू’ बताए ।

अधिकार समूहहरूले पत्रकार तथा छात्रा गालिबफलाई मेट्रो स्टेसनमा अघिल्लो गिरफ्तारीका क्रममा सुरक्षा बलमाथि उनलाई हतकडी लगाएको र यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि हिरासतमा लिइएको बताएका छन् । गालिबफलाई रिहा गरिएको छ । 

इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले अप्रिल २२ मा गालिबफमाथि ‘बलात्कार नगरिएको’ र उनीमाथि ‘झुटो बयान’ दिएको आरोपमा कारबाही भइरहेको बताएको थियो । 

मोहम्मदीले यसै महिनाको सुरुआतमा तेहरानमा ट्रायल सत्रमा भाग लिन अस्वीकार गरेकी थिइन्  र मार्चमा कारागारबाट अडियो सन्देश साझा गर्दै इरानमा ‘महिलाविरुद्ध पूर्णस्तरको युद्ध’ को निन्दा गरेकी थिइन् । 

हालैका महिनाहरूमा इरानी प्रहरीले महिलाका लागि मुलुकको इस्लामिक ड्रेस कोडको कार्यान्वयनलाई तीव्र बनाएको छ र विशेषगरी भिडियो निगरानीको प्रयोग गरिरहेको छ । 

सन् १९७९ को इस्लामिक क्रान्ति लगत्तै अपनाइएको नियमअन्तर्गत इरानमा महिलाहरूले सार्वजनिक स्थानमा आफ्नो कपाल ढाक्न र शालीन कपडा पहिरिन आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ