arrow

एक घण्टा ढिला गरी संसद शुरु, मन्त्रीहरु जवाफ दिँदै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार

काठमाडौँ । संघीय संसद सचिवालयका कर्मचारीहरुले प्रोत्साहन भत्ताको माग गर्दै आज पनि संसद भवनमा धर्ना बसे । उनीहरुको धर्नाका कारण बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधि सभाको बैठकमा एक घण्टा ढिला गरी १२ बजेपछि शुरु भएको छ । 

कर्मचारीहरुले मंगलबार साँझ ५ बजेसम्म समस्याको समाधान नभए बुधबारदेखि बिहान १० देखि मध्यान्ह १२ बजेसम्म धर्ना दिने बताएका थिए । संसद सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले साँझ ५ बजेसम्मको समय कुरेको र माग पूरा नगरेकाले बुधबारबाट बिहान १० देखि मध्यान्ह १२ बजेसम्म आन्दोलन गरेको बताए । 

उनले बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधाको सुनिश्चितता हुनुपर्ने माग गरे । माग पूरा नभएसम्म आन्दोलन जारी रहने बेल्बासेले बताए । संसद सचिवालयका कर्मचारीहरु ११ बुँदे मागसहित आन्दोलनमा छन् । 

यसअघि उनीहरुले सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुले सोमबार कर्मचारीहरुसँग छलफल गरेका थिए । 

उनीहरुले मंगलबार संसदका महासचिवको कार्यकक्ष घेराउ गर्दै विरोध गरेका थिए । संसद भवन नयाँ बानेश्वरस्थित संसदका महासचिव पद्यप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनीहरुले संसदमा अतिरिक्त समयमा काम गरे बापतको सेवा सुविधा व्यवस्था गर्न माग गरेका हुन् । 

संसद बैठकमा मन्त्रीहरुले जिम्मेवार मन्त्रालयको जवाफ दिने कार्यक्रम रहेको छ । 

आफूहरु भने हाजिर गरेर टाप कस्ने (हाटा) बानी परेका सांसदहरुलाई कर्मचारीको यो आन्दोलनले भने राम्रो सन्देश दिएको छ । हाजिर गरेर जाने बानी परेका सांसदहरु ढिलासम्म बस्नुपर्ने भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ