- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसी मन्दिरमा दर्शन गर्ने पर्यटकको संख्या दैनिक रुपमा बढ्दै गएको छ । करिब ३० हजार जनसंख्या भएको पालिकामा वर्षमा ६ लाख पर्यटक घुम्न आउँछन् । सिधै हिसाब गर्ने हो भने पनि यिनै पर्यटकलाई आवश्यक पर्ने खानपानको उचित व्यवस्थापनमा मात्र ध्यान दिए पनि हलेसीको कायापलट हुन्छ ।
बितेका बीस वर्षमा हलेसीमा तीन सयभन्दा बढी होटलहरु खुलेका छन् । स्थानीय होटल व्यावसायीहरुको तथ्यांक अनुसार वार्षिक ६ लाख पर्यटकले होटल प्रयोग गर्दछन् । औसत दैनिक १६ सय मानिसले हलेसी भ्रमण गर्दछन् ।
यीमध्ये अधिकांश धार्मिक पर्यटक छन् । अझ हलेसी हिन्दू, बौद्ध तथा किराँत तीनै धर्मको संगमस्थल भएकाले पनि पर्यटकको संख्या बढ्दछ ।
अधिकांश पहाडी भिरालो जमीन भएकाले यस क्षेत्रमा कृषि उपजको उत्पादन त्यति सहज छैन । त्यसमा पनि वैदेशिक रोजगारी, आन्तरिक तथा वाह्य बसाइसराइ आदिका कारण जमीन बाँझो हुने क्रम बढेको छ ।
जमीन बाँझिएसँग जंगलको छेउछाउमा खानेकुरो नपाइँदा जंगली जनावर मानिसका खेतबोरीमा रात बिताउँछन् ।
मकै, कोदो र दलहनपछि धान उत्पादन हुने यस पालिकामा पशुपालन र नगदेबालीको संभावना निकै छ । यसका लागि उपयुक्त वातावरण भने आवश्यक छ ।
यस क्षेत्रमा दूधजन्य वस्तुको उत्पादन कम नै छ । दूधका परिकार पाउने बाटोमा एउटा सामान्य पसल देखिन्छ । उक्त पसलमा दैनिक ६ सय लिटर दूधजन्य उत्पादन बिक्री हुन्छन् ।
यसो त नगरपालिकाले हलेसी बजारमा कृषि मार्ट नै स्थापना गरेको छ । यति भए पनि ग्राहकले चाहे अनुसारका दूधका परिकार र फलफूलको कमी नै छ ।
यस वर्ष नगरपालिकाले दूधको उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम तय गरेको नगरप्रमुख विमला राई बताउँछिन् ।
उनका अनुसार दूध र मासुमा आत्मनिर्भर बन्नका लागि स्वीस कन्ट्याक्ट परियोजनाको सहयोगमा दीर्घकालीन कृषि नीति तय गरिसकिएको छ ।
अझ दूधलाई प्रवद्र्धन गर्न परामर्शदातालाई थप कार्यक्रम तयार पार्न निर्देशन दिइसकेको पनि नगरप्रमुख बताउँछिन् ।
हलेसीको पहिलो बाली मकै भएकाले यसमा घाँस मिसाएर साइलेज बनाउने सम्भाव्यता निकै बढी छ । साइलेज र घाँस सुकाएर बनाइएको पराललाई भण्डारण गरे घाँसको कमीलाई टार्न सजिलो पर्दछ । यसले दूध र मासु दुवैका लागि सहयोग गर्दछ ।
हलेसीमा दैनिक २६ सय लिटर दूध उत्पादन हुन्छ । विश्व खाद्य तथा कृषि संगठनको मापदण्ड अनुसार एक जना मानिसलाई दैनिक दुई सय ५० मिलिलिटर दूध आवश्यक पर्दछ ।
यहाँको जनसंख्याका लागि पनि दैनिक ६ हजार आठ सय लिटर दूध आवश्यक पर्दछ । आफ्नै जनसंख्यालाई ख्वाउन मात्र पनि हलेसीले दिनमा थप ४२ सय लिटर दूध थप्नुपर्दछ ।
यसमा थपिने दैनिक १५ सय पर्यटकका लागि अरु तीन सय ७० लिटर दूध थप गर्नुपर्दछ । यो गर्दा दैनिक सात हजार लिटर दूध आवश्यक पर्दछ ।
यहाँका मन्दिर तथा गुफामा चढाइने फूल प्रवद्र्धन गर्ने योजना भने तयारीकै चरणमा रहेको परामर्शदाता बुद्धिनाथ तिमिल्सिनाले बताए ।
पेशाले उनी कृषि इन्जिनियर हुन् । उनी करिब ६ महिनादेखि हलेसी तुवाचुङ नगरपालिकाको पाँच वर्षे कृषि रणनीति तयार पार्ने क्रममा तल्लिन छन् ।
नीति तयार पारी नगर कार्यपालिकाबाटसमेत पारित गरिएको उनले बताए । तरकारी र दूधको माग र आपूर्तिको विश्लेषण पनि गरिएको उनले बताए ।
नेपालमा फूलको उत्पादन बढ्दै गएको छ । त्यसमा पनि मन्दिर तथा अन्य कार्यक्रममा सय पत्री फूलको प्रचलन बढी छ ।
समाजमा प्रतिष्ठा कमाएका नेता, कलाकार तथा खेलाडीका सम्मानमा आयोजना हुने कार्यक्रममा निकै नै फूलको प्रयोग हुन्छ ।
अझ नेताहरुलाई त ५० देखि सय केजीका माला लगाइदिने प्रचलन पनि बढ्दै गएको छ ।
जन्म, मरण, विवाह, व्रतवन्ध, पूजा लगायतका कार्यक्रममा पनि फूलको प्रयोग बढ्दो छ ।
अघिल्लो वर्षको तथ्यांक हेर्ने हो भने आफ्नो उत्पादनबाट नपुगेर ३३ करोड रुपैयाँको फूल आयात गरिएको थियो भने करिब सात करोडको फूल निर्यात पनि भएको पुष्प व्यवसायी संघले जनाएको छ । यो तथ्यांक खास गरी तिहारको बिक्रीलाई आधार मानेर तयार पारिएको हो ।
यता हलेसीकै तथ्यांकलाई केलाउने हो भने पनि दैनिक हजार जनाले मात्र फूल चढाए भने पनि महिनामा ३० हजार जनाले फूल किन्छन् ।
एक थँुगोमात्र त नचढाउलान् । दुई थुँगा चढाए पनि महिनामा ६० हजार थुँगा फूल बिक्री हुन्छ । प्रशस्त पाउन थालेपछि अझ माग बढ्छ ।
प्रतिथुँगा पाँच रुपैयाँको मात्र हिसाब गर्ने हो भने पनि महिनामा तीन लाख बराबरको फूल जान्छ । कमाइ यसै क्रमले बढ्दै जान्छ ।
सामान्यतया एक हेक्टर जमीनमा आठ देखि १० टन सयपत्री उत्पादन हुने आँकलन छ । सामान्यतया १५ देखि ३५ डिग्री सेल्सियस तापक्रममा सयपत्री खेती हुन्छ ।
यस पालिकाको माथिल्लो तापक्रम ३५ पुग्छ । यो क्षेत्र फूल उत्पादनका लागि उपयुक्त मानिन्छ । रोपेको ४० देखि ५० दिनमा फूल फूल्छ भने जात र स्याहार हेरी एक बोटमा सयदेखि डेढ सय थुँगा फूल्छ ।
अब तरकारीको कुरा गरौँ ।
तरकारीको माग पनि निकै नै छ । पालिका क्षेत्रमा विभिन्न मौसममा गरी वार्षिक करिव पाँच सय टन तरकारी उत्पादन भएको स्थानीय तथ्यांक छ ।
यहाँको बजारमा चलेका नौवटा तरकारी पसलको दैनिक सरदर बिक्रीलाई हेर्दा वार्षिक करिब २२ सय टन तरकारी बिक्री हुन्छ । यसरी हेर्दा स्थानीय उत्पादनलाई चार गुणा वृद्धि गर्नुपर्ने देखिन्छ ।
यसरी हेर्दा कृषिमा खास गरी तरकारीको माग हालका तुलनामा चार गुणा बढाउन आवश्यक छ । यो अवसरले पक्कै पनि छिमेकी पालिकालाईसमेत प्रभाव पार्दछ ।
अझै पनि यस तथ्यांकले विश्व खाद्य तथा कृषि संगठनको मापदण्ड बराबरको तरकारी पुग्दैन । त्यस मापदण्डअनुसार दैनिक चार सय ग्राम तरकारी आवश्यक पर्दछ ।
यस अनुसार हिसाब गर्ने हो भने त हलेसीको जनसंख्यालाई मात्र दैनिक १३ टन तरकारी चाहिन्छ । पर्यटकको हिसाब गर्ने हो भने थप एक टन थपिएला । यो गर्दा महिनामा तीन सय हुँदै वर्षमा ३६ सय टन तरकारी आवश्यक पर्दछ ।
अब मासुको कुरो गरौँ ।
आजका दिनको स्थानीय तथ्यांकलाई हेर्ने हो भने हलेसीमा वार्षिक चार सय ७५ टन मासु उत्पादन हुन्छ ।
नेपालको राष्ट्रिय मापदण्डले महिनामा १४ केजी मासु खानुपर्ने देखाएको छ ।
यस अनुसार हेर्दा महिनामा स्थानीय जनसंख्याका लागि तीन सय ७८ टन मासु चाहिन्छ ।
यसरी हेर्दा वर्षमा ४५ सय टन मासु आवश्यक पर्दछ । अरु ६ लाख जनालाई एक दिनका लागि मासु ख्वाउनका लागि १२ सय टन मासु थप गर्नु पर्दछ ।
यहरी हेर्दा हलेसीले वार्षिक ६ हजार टन मासु थप गर्नुपर्दछ ।
यसरी हेर्दा हलेसीको आर्थिक रूपान्तरणमा पशुपालन, तरकारी खेती र फूलको खेती प्रवद्र्धन भए सजिलो होला जस्तो देखिन्छ ।