arrow

वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब ५९ करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
surkhet-birendranagar.jpg

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु तीन अर्ब ५९ करोड १८ लाख ६८ हजार नौ सय ९९ बजेट प्रस्तुत गरेको छ । 

नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले १५औँ नगरसभामा बजेट प्रस्तुत गरेका हुन् । उनले चालुतर्फ रु एक अर्ब ७५ करोड ७३ लाख ६८ हजार नौ सय ९९ (४८ दशमलव ९३ प्रतिशत) र पुँजीगततर्फ रु एक अर्ब ८३ करोड ४५ लाख (५१ दशमलव ०७ प्रतिशत) बजेट विनियोजन गरिएको बताए। 

उपप्रमुख खनालका अनुसार वीरेन्द्रनगर नगरपालिकाले कृषि विकासमा रु ५६ लाख ५० हजार, पशुपन्छी विकासमा रु ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हितमा रु ६१ लाख ५० हजार र जनस्वास्थ्य प्रवद्र्धन तथा नगर अस्पतालका लागि रु चार करोड पाँच लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गलगायत अन्य लक्षित वर्गमा रु एक करोड १६ लाख ३० हजार, शिक्षा, युवा तथा खेलकुदमा रु सात करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापनमा रु दुई करोड ६४ लाख २० हजार, सार्वजनिक सेवा तथा सुशासनमा रु दुई करोड १७ लाख ४५ हजार र नगरस्तरीय विविध पूर्वाधार विकासमा रु २५ करोड ८५ लाख ५० हजार बजेट विनियोजन गरेको उपप्रमुख खनालले जनाए।

त्यस्तै तलबभत्ता तथा कार्यालय सञ्चालनका लागि रु ३१ करोड ५० लाख, खानेपानी, सुशासन तथा पूर्वाधार प्रवद्र्धन कार्यक्रम म्याचिङ फण्ड (समपूरक कोष) (भेरी पम्पिङ आयोजना) सञ्चालन व्यवस्थापन एवं सहकार्यका लागि रु १० करोड, वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु १७ करोड २० लाख, मेयरसँग महिला किसान कार्यक्रमकाअन्तर्गत रु एक करोड ६० लाख र वडास्तरीय नगर गौरव आयोजनाका लागि रु आठ करोड बजेट विनियोजन गरिएको छ ।
 
वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाको मर्मतसम्भार र विस्तार तथा खानेपानी प्रणाली सुधारका लागि वडास्तरीय कार्यक्रममार्फत यथोचित बजेट विनियोजन गरिएको खनालले बताए।

प्रदेशको राजधानीको अस्तित्वसँग केन्द्रित भएर सहरी सौन्दर्यताका पूर्वाधारलाई विशेष जोड दिँदै घण्टाघर पार्कलगायत सुर्खेत उपत्यका नगरविकास समिति तथा नगरपालिकाबाट खाली गराइएका सार्वजनिक जग्गामा पार्क तथा पार्किङस्थल निर्माण गर्न रु सात करोड ५० लाख र मङ्गलगढीमा आकाशे पुलका निर्माणका लागि रु एक करोडसहित नगरको विविध भौतिक पूर्वाधार विकासमा रु २५ करोड ८५ लाख ५० हजार बजेट विनियोजन गरिएको उपप्रमुख खनालले बताए।

‘शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर–स्वच्छ, स्वस्थ र समुन्नत वीरेन्द्रनगर’ भन्ने सोचका साथ वीरेन्द्रनगरलाई आर्थिकरुपले सम्पन्न, भौतिकरुपले योजनाबद्ध सहरी सुविधायुक्त, लैङ्गिकरुपमा महिलामैत्री, सामाजिकरुपले समावेशी÷सहभागितात्मक, वातावरणीयरुपले स्वच्छ, सफा तथा व्यवस्थापकीयरुपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरकारुपमा निर्माण गर्दै कर्णाली प्रदेशको व्यवस्थित राजधानीकारुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ