arrow

खोक्रो पार्टी बन्दै रास्वपा

रास्वपा महामन्त्री ढकालको शालीन विद्रोह, पार्टीभित्र गम्भीर विचलन

सत्तामा पटकपटक आशक्ति देखाएको तर काम गर्न नसकेको, नागरिकता, पासपोर्टपछि सहकारी ठगीमा सभापति लामिछानेकै नाम आएपछि पार्टीभित्र गम्भीर छलफल नभएको आशय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
ravi-mukul-rsp.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले शालीन विद्रोह गरेका छन् । देशव्यापी रुपमा समीक्षा यात्रा गरेर फर्केका महामन्त्री ढकालले पार्टीको अधोगतिलाई जस्ताको तस्तै प्रतिवेदनमा उतारेर पार्टी सभापतिलाई बुझाउने र त्यसका समेटिएका केही विषयलाई बाहिर सार्वजनिक गरी शालीन विद्रोह गरेका हुन् । 

उनले सो प्रतिवेदनको पूरा भाग सार्वजनिक गरिदिन पार्टीलाई आग्रहसमेत गरेका छन् । ‘मैले प्रतिवेदन बुझाइसकेको छु, त्यसलाई बाहिर ल्याउने जिम्मेवारी पार्टी सभापति र पार्टीको हो’, डा. ढकालले भने, ‘अब पार्टी बिरामी छ, समयमै उपचार गर्नुपर्छ भन्ने कुरा प्रतिवेदनमा उल्लेख छ ।’

उनले पार्टीलाई माया गर्नुपर्ने र यसलाई बचाउनु पर्ने बताउँदै पार्टीका धेरै नै विषयहरु छुटेका पनि उनले बताए । ‘हिजो साँझ विज्ञप्ति पनि निकाले पनि मेरो प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छु, त्यहाँ प्रदेश खारेजीको विषय उठाएको छु, प्रत्यक्ष कार्यकारी व्यवस्थालाई अघि सारेको छु, स्वतन्त्र पक्षधरहरुसँग मिल्नुपर्ने उपयुक्त ठानेको छु , ओली प्रचण्ड भन्दा बालेन र गोपी हमालसँग मिल्नुपर्ने अवस्था देखिएको छ, यो कुरा उल्लेख गरेको छु’, उनले भने । राजनीतिक क्षेत्रमा यो उनको शालीन विद्रोहको रुपमा लिइएको छ ।

उनले बिहीबार बिहान पनि पार्टीभित्र आफूमाथि घृणित राजनीति भएको गुनासो पनि गरेका छन । विज्ञप्तिमार्फत पनि उनले यही कुरा उठाएका छन् । महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफ्नो देशव्यापी समीक्षा यात्राको प्रतिवेदन बुझाउने क्रममा पत्र लेख्दै यो गुनासो घृणित राजनीति भएको बताएका छन् । 

उनले सभापति लामिछानेलाई यात्राको समीक्षा प्रतिवेदन आफूमा मात्र सीमित नराखी जस्ताको त्यस्तै सार्वजनिक गर्न पनि आग्रह गरेका छन् ।

उक्त प्रतिवेदन सार्वजनिक नगरे आफूमाथि पार्टीले गरेको अन्याय हुने तर्क पनि गरेका छन् । उनले भनेका छन्, ‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ, मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो’, उनले पत्रमा लेखेका छन्, ‘मेरा कुरा के के हुन्, जनतालाई मैले कहिल्यै भन्नै पाइन । नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए । मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउन पर्छ । मेरो पनि राजनीतिक अधिकार हो । यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ । यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ । ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस् ।’

इलामको उपनिर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेपछि रास्वपाले आन्तरिक समीक्षा गर्न महामन्त्री ढकाललाई गत जेठ ६ गते देशव्यापी यात्रामा पठाएको थियो । असार ५ गते उनी काठमाडौँ आइपुगेका थिए । यस क्रममा उनले ३८ वटा जिल्लाका २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तरक्रिया गरेको प्रतिवेदनमा उल्लेख गरेका जनाएका छन् ।

समीक्षा यात्रापछि महामन्त्री डा. मुकुल ढकालले नै गम्भीर प्रश्न उठाएका छन् । रास्वपा स्थापनादेखि नै सभापति रवि लामिछानेको दरिलो खम्बा हुँदै महामन्त्री र प्रवक्ता भएका ढकालले नै पार्टीको वर्तमान र भविष्यप्रति प्रश्न उठाएपछि त्यही पार्टीभित्र हलचल भएको छ । 

स्थापनाको छोटो समयमै रास्वपाले २१ सिट जितेर पार्टी सत्तामा सहयोगी बनेको शक्तिमा विचलन आएको विषयले पार्टी पंक्तिभित्र र बाहिरसमेत उत्सुकता जनाएको छ ।

उनले पार्टी चाँडै उँधोगतिमा लागेकाले सच्चिनलाई नेतृत्वलाई चेतावनी दिएपछि आफूलाई पदबाट हटाउन सक्नेसमेत बताएका थिए । 

शुरूमै २१ सिट जितेर हौसिएको रास्वपाले २०८४ मा एकल बहुमत ल्याएर सरकार चलाउने दाबी गर्न छोडेको छैन । एकातर्प सहकारी ठगी प्रकरणमा पार्टीका सभापति मुछिएका बेला महामन्त्रीको यो प्रतिवेदनले पार्टी गम्भीर संकटमा रहेको तथ्य उजागर भएको छ । 

‘वर्तमानमा रास्वपासँग जनमत छैन । जति जनमत छ, यसैका आधारमा आज नै चुनावमा जाने हो भने हामीलाई राष्ट्रिय पार्टी बन्न पनि हम्मेहम्मे पर्ला । प्रत्यक्षमा एक–दुई सिट जितिएला, हामी भोलिका दिनमा पनि आजैको स्थितिअनुसार अगाडि बढे हाम्रो पार्टीको हालत विवेकशीलजस्तो हुनेछ,’ उनले प्रतिवेदनमा भनेका छन् ।  

पार्टी सञ्चालनको शैली, लिएका नीति, कार्यक्रम र योजनालाई जनताले नरुचाएको ढकालको प्रतिवेदनको आशय देखिन्छ । सत्तामा पटकपटक आशक्ति देखाएको तर काम गर्न नसकेको, नागरिकता, पासपोर्टपछि सहकारी ठगीमा सभापति लामिछानेकै नाम आएपछि पार्टीभित्र गम्भीर छलफल नभएको उनको आशय देखिन्छ । 

ढकालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मिल्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साहसँग मिल्दा ठीक हुने सुझाव आएको प्रतिवेदनमा उल्लेख गरेका छन् । 

जसले रास्वपाले सत्ताको लागि मरिहत्ते गरेको विषयमा नागरिकको स्तरमा विरोध भएको उनको प्रष्ट संकेत छ । ‘समीक्षा बैठकमा सहभागी अधिकांशको मत पनि बालेनसँगको सहकार्यलाई लिएर थियो । बालेनको टिमसँग हामी नियमित सम्पर्कमा रहे पनि आफैँको भनाइअनुसार उनी राजनीतिमा छैनन् । उनी स्थानीय तहका प्रमुख हुन् । उनको विचारमा यो गैरराजनीतिक पद हो,’ ढकालले भनेका छन् । 

आफूहरूभन्दा अगाडि नै काठमाडौँमा चुनावबाट स्थापित भएका बालेनप्रति क्रेज बढेको तर रास्वपाप्रति आक्रोश थपिएको उनको प्रतिवेदनको सार छ । ‘बालेन, गोपी हमाल र हामी मिल्न सक्ने हो भने २०८४ मा स्पष्ट बहुमतको संकेत छ,’ उनले भनेका छन्, ‘यो मिलन २०८३ तिर मात्र हुँदा पुरानाले हामीविरूद्ध त्यति धेरै खेल्न सक्दैनन् । तर माहोल अहिलेबाटै बनाउन जरुरी छ ।’

इलाममा उपनिर्वाचनदेखि नै महामन्त्री ढकाल पार्टीले लिएको नीतिसँग असन्तुष्ट रहँदै आएका थिए । पार्टीको यस्तै संगठन, रवैया र स्थितिले उपनिर्वाचन जित्न नसकिने जानकारी पार्टीलाई गराएका थिए । 

तर पार्टीले उम्मेदवार चयनदेखि नागरिकलाई आश्वस्त पार्न नसक्दा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत नै जफत हुन पुगेको थियो ।

यस्तो छ उनको पत्र
‘उपरोक्त सम्बन्धमा पार्टीको निर्देशन बमोजिम म पार्टीको राजनीतिक यात्राको समीक्षा गर्न देशका विभिन्न जिल्लाका पालिकाहरुमा पुगी पार्टीको संगठन, राजनीतिक चरित्र, आर्थिक व्यवस्थापन, पार्टीका नेता, उम्मेदवार छनौट तथा राष्ट्रका विविध विषयहरुका सन्दर्भहरुमा केन्द्रित रही अन्तरक्रिया गरी फर्केको विदितै छ ।

जेठ ६ गते पार्टीको केन्द्रीय कार्यालय घण्टीघरबाट शुरू गरेको समीक्षा यात्रा, ३८ वटा जिल्लाको माटो छोइ, २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिरया गरी, महलदेखि जङ्गलसम्म बस्ने जनतासँग भेटी, हिमाल, पहाड, मधेस, तराईका सुगमदेखी दुर्गमका बस्ती पुगी, ८० किलोमिटर पैदल यात्रा र ४२१६ किलोमिटर सडक यात्रा गर्दै, कतै पिच सडक, कहिले भखरै ट्रयाक खोलिएका सडक हुँदै अन्त्यमा सुरूङ् मार्गबाट काठमाडौं प्रवेश गर्दै असार ५ गते, घण्टीघर काठमाडौँ आइपुगेर यात्रा समापन गरेँ ।

उक्त समीक्षा यात्राको प्रतिवेदन यसै पत्रसाथ सभापति ज्यूसमक्ष पेश गर्दछु । यो प्रतिवेदन पार्टीले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुकासाथै पार्टीले लिन पर्ने दिशाका सम्बन्धमा मार्गदर्शन समेत गर्ने मेरो विश्वास रहेको छ । त्यसैले यो प्रतिवेदन सबै तहका पार्टी पंक्ति तथा आम नेपालीमाझ प्रस्तुत गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । यसलाई तपाईंमा सीमित नराखी सम्पूर्ण सरोकारवालासम्म पुर्याइदिनुहुन हार्दिक अनुरोध समेत गर्दछु ।

यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ । मैले गर्दै नगरेका कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो । मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइन । नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ । मेरो पनि राजनीतिक अधिकार हो । यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ । यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ । ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ