arrow

हल्ला बढी भएपछि मन्त्रीहरुलाई बालकोट बोलाइएन, पदाधिकारीसँग मात्रै ओलीको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
kp-sharma-oli-rss.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पदाधिकारीहरुलाई आफ्नो निवास बालकोटमा बोलाएका छन् । यसअघि मन्त्रीहरुलाईसमेत बालकोट बोलाएकामा राजनीतिक हल्ला बढी भएसँगै उनले मन्त्रीहरुलाई रोकेर पदाधिकारीहरुलाईमात्र बोलाएका हुन् । 

पदाधिकारीहरुको बैठक राति ९ बजेदेखि शुरु हुने बालकोट निकट उच्च स्रोतले नजाएको छ । यता ओलीको सचिवालयले आफ्ना मन्त्रीहरुलाई बालकोट बोलाएको खबरको खण्डन गरेको छ ।

ओलीको सचिवालयले मन्त्रीहरुलाई अध्यक्ष ओलीले छलफलका लागि बोलाएको खबर सत्य नभएको जानकारी गराएको छ । 

यसअघि अध्यक्ष ओलीले एमालेका मन्त्रीहरुलाई छलफलका लागि बालकोट बोलाएको बताइएको थियो । तर एकाएक हल्ला बढी भएपछि ओलीले मन्त्रीहरुलाई हाइ अलर्टमा मात्र रहन तर बालकोट नआउन भनेको स्रोत बताउँछ । 

ओलीको सचिवालयले भनेको छ, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ ।’

मन्त्रिपरिषद्को बैठकमा एमालेका केही मन्त्रीमात्र सहभागी भएपछि एकाएक राजनीतिमा थप तरङ्ग पैदा भएको छ । एमालेकै मन्त्रीहरु सहभागी नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि ससंकित भएका छन् । 

सत्ता समीकरणमा गम्भीर असर परिरहने र नेपाली कांग्रेसले पनि ठोस निर्णय गरिनसकेको अवस्थामा ओलीले मन्त्रीहरुलाई भने बालकोट नआउने निर्देशन दिएका हुन् । 

कांग्रेसले एमालेसँगको सम्बन्ध सुमधुर भएको बताएको छ । सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा सम्बन्ध सुमधुर रहेको ब्रिफिङ गरेका थिए । 

यद्यपि ओलीले मन्त्रीहरुलाई हाइ अलर्टमा बस्न साथै सांसदहरु समेतलाई उपत्यका नछाड्न निर्देशन दिइसकेका छन् । 

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस( एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ