arrow

रविको मिडिया धङधङी अझै गएन, पार्टी बैठकमै भने –मिडिया क्षेत्रको हेडमास्टर हो म

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
rsp-mukul-dhakal-81-3-19.jpg

काठमाडौँ । सञ्चारकर्मबाटै राजनीतिमा पुगेर सफलता हासिल गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मिडिया धङधङी अझै गएको छैन । उनले बुधबारको पार्टीको केन्द्रीय समिति बैठकमा आफू मिडिय क्षेत्रको हेडमास्टर भएको बताउँदै जुनसुकै प्रश्नको जवाफ दिन सक्ने बताएका छन् । 

मिडियामा पार्टीको आन्तरिक विषयलाई बाहिर ल्याएको भनेर निलम्बनमा परेका महामन्त्री मुकुल ढकालले सामाजिक सञ्जालमा लेख्दै रविले आफू मिडिया क्षेत्रको हेडमास्टर भएको बताएको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, 'बैठकमै भनिसक्नु भयो , मिडिया क्षेत्रको हेडमास्टर हो म । सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु । पर्यो भने 'लाइ डिटेक्सन टेस्ट' दिन पनि तयार छु । पदीय मर्यादामा रहँदा केही राजनीतिक व्यक्तिको नाताले गरेको छु, त्यो पनि आदेशले , हल्ला फैलाउने हो भने डिफेन्सका लागि म तयार छु । त्यसपछि , पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ , कहाँ मैले कारबाही गरेको, सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारबाही गरेको । मैले लोकतन्त्र मान्न पर्छ, पार्टीको विधि, पद्दति मान्न पर्छ । फेरि विधान उहाँ महामन्त्री आफैँले लेखेको ।'

ढकालले दुई वर्षसम्म रविका बारेमा किन नभनेको भनी प्रश्न उठाइएकोसमेत स्पष्ट पार्दै लेखेका छन्, '२ वर्षदेखि सभापतिको कुरासाई किन गलत भनिनस् भनेर सोधिन्छ । मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ , उहाँको कुरा मान्नुपर्छ । कति कुरा गलत लाग्दा लाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिए । पेल्ने मान्छे म थिएँ वा म केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो , त्यो आजको बैठकले छर्लङ्ग भएको छ ।'

ढकालले आफूले अनुसन्धान गरेर पारेको प्रतिवेदनबारे अगाडि लेखेका छन्, 'प्रचण्डसँग सहमति गरेर आइसकेपछि, मलाई सरकारमा जाने भन्नु भयो । मैले उहाँको आदेश अनुसार प्रस्तुति दिएँ, मैले सोचेँ , मेरो कर्तव्य हो र यो मान्छेले देश बनाउँछ साथ दिनुपर्छ । तर सरकारमा पुगेपछिका कुराहरूका कारण मलाई शङ्का लाग्यो - यो मान्छेले देश बनाउँछ वा बनाउँदैन । जनताले जे भने, त्यही बोलिदिएँ । सोचेँ , कुर्सीको न्यानोले छोपेको , गाडीको कालो सिसाहरूले  घेरिएको हुनुहुन्छ , सचेत गराउनपर्छ । मैले सोचेँ, नेता होइन, राजनेता बनाउनपर्छ , नेता मात्र त चङ्गुलमा फँसे । विगत लामो समयदेखि परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो । पद गौण हो , जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नपर्छ लाग्यो र बोलेँ ।'

रविले गरेको बेइमानीबारे खुलाउँदै उनले भने, 'सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले , मिडियाबाजी गर्न बाध्य भएँ । मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन् , पार्टी बिग्रिसक्यो , सुधार्दैनन् । जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ । बालहठ जस्तो होस् , अस्वभाविक लागोस्, वा अव्यवहारिक जनताले जसरी बताए त्यसरी नै बताइदिएँ । प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै । जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरूद्ध बोलेको हुन्थ्यो , उहाँ पनि जनताकै पक्षमा होला सोचेर , बोलिदिएँ । जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ ।'

ढकालले अब रवि मिडियामा कसरी आउँछन् भनेर पनि अनुमान गरेका छन् । उनले लेखेका छन्, 'अरू पनि भनिदिऔँ, अरू के के गर्नुहुन्छ अब भनेर । अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ । केही परिचालित व्यक्तिहरू छन् , पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ । एक स्टेप अघि बढेर मिडियामा 'प्रमाण सहित' यो , त्यो भनेर मेरो चरित्र हत्या हुने गरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ