arrow

कर्पोरेट ग्राहकका लागि एनसेलले ल्यायो ‘बिज सधैँ अन’ प्लान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
ncell-81-3-27a.jpg

काठमाडौँ । निजी क्षेत्रको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले ल्याएको ‘सधैँ अन’ प्लान कर्पोरेट ग्राहकमासमेत विस्तार भएको छ । व्यवसायिक क्षेत्रमा आवद्ध ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले विस्तार गरेको उक्त योजना बिहीबार सार्वजनिक गरिएको हो । 

‘बिज सधैँ अन’ नामक नयाँ प्लान अन्तर्गत एनसेलले पाँच वटा प्याक सार्वजनिक गरेको छ । यसमा ४९९ रुपैयाँ, ६४९ रुपैयाँ, ९९९ रुपैयाँ, १५९९ रुपैयाँ र १९४९ रुपैयाँका प्याकहरु समावेश गरिएका छन् । 

४९९ रुपैयाँको प्याक अन्तर्गत ग्राहकले १७ जीबी डाटा, ६०० मिनेट अलनेट टकटाइम र ६०० वटा एसएमएस प्राप्त गर्दछन् । त्यस्तै ९९९ रुपैयाँको प्याकमा ३० जीबी डाटा, अनलिमिटेड टकटाइम र ६५० वटा एसएमएस पठाउनसक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै ९९९ रुपैयाँको प्याकमा ६० जीबी डाटा, अनलिमिटेड टकटाइम र १००० वटा एसएमएस पठाउन सक्ने सुविधा दिइएको छ । सेवाको आवश्यकता धेरै भएका ग्राहकले १५९९ रुपैयाँ र १९४९ रुपैयाँ दरमा प्लानहरुसमेत लिन सक्ने एनसेलले जनाएको छ । 

स्टार १२३ ह्यास डायल गरेर यो सेवा चालु गर्न सक्ने जनाइएको छ । ग्राहकले ९००७ तथा ९८०९००७००० नम्बरमा कल गरी ग्राहक सेवा र प्रिभिलेज काउन्टर सुविधामार्फतसमेत प्राप्त गर्न सक्ने जनाइएको छ । 

अहिले एनसेलका १ करोड ६० लाख ग्राहकहरु छन् । तीमध्ये ३२ हजार संस्थाका ५ लाखभन्दा बढी कर्पोरेट ग्राहक रहेको एनसेलको तथ्यांक छ । केही साता अघि एनसेलले ल्याएको ‘सधैँ अन’ प्याक व्यक्तिगत ग्राहकको लागि मात्रै केन्द्रित रहँदै आएको थियो ।

तर कर्पोरेट क्षेत्रबाट पनि यसको उच्च माग भएपछि नयाँ प्लान सार्वजनिक गरेको एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले जानकारी दिए ।

एनसेलले काम सकिएपछि डाटा अफ गरिहाल्नुपर्ने अवस्थालाई अन्त्य गर्न यो प्लानहरु सार्वजनिक गरेको जनाएको छ । यो प्याक लिएका ग्राहकहरुको डाटा सकिए पनि मेन ब्यालेन्सबाट पैसा काट्दैन । यदि यस्तो प्याक सकिएमा ‘बुस्टर प्याक’ खरिद गर्ने व्यवस्था गरिएको जनाइएको छ । 

बुस्टर प्याक अन्तर्गत प्रतिएमबि ५ पैसामा डाटा प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ जुन सामान्यभन्दा २० गुणा सस्तो रहेको एनसेलको भनाइ छ । यही प्याक अन्तर्गत नै ३० रुपैयाँमा एक जीबी टाडा र ३० मिनेट अलनेट कल गर्नसक्ने व्यवस्था गरिएको छ । त्यस्तै, ५० रुपैयाँमा २ जीवी डाटा र ७५ मिनेट कल सुविधाको व्यवस्था गरिएको छ । 

एनसेलका हेड अफ इन्टरप्राइज एण्ड प्रोडक्ट सोलुसन्स रञ्जन शर्माले सधैँ अनमा देखिएको सफलता र ग्राहकको प्रशंसाको कारण पोस्पेड र इन्टरप्राइज ग्राहकहरुलाई कस्माइज्ड भ्यालु दिन चाहेको उल्लेख गरे । उनले भने, ‘बिज सधैँ अन र विभिन्न सोलुसन सुटहरुका साथ हामी सरलीकृत सञ्चालन र उत्पादकत्व वृद्धिमा सहयोग प्रदान गर्दै नेपाली व्यवसायीहरुलाई अहिलेको डिजिटल युगमा पूर्ण क्षमता हासिल गर्न सशक्त बनाउने लक्ष्य राखेका छौँ, जसले डिजिटल अर्थतन्त्र विकासमा टेवा दिन्छ ।’

प्रतिदिन ७८.८८ रुपैयाँमा अन्तर्राष्ट्रिय रोमिङ

बिहीबार नै एनसेलले प्रतिदिन ७८.८८ रुपैयाँमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउने घोषणा समेत गरेको छ । यस अन्तर्गत कुनै पनि ग्राहकले नेपाल बाहिर जाँदा रोमिङ अन गरिएको छ भने प्रतिदिन ७८.८८ रुपैयाँ रोमिङ शुल्क तिरेपछि नेपालमै भएसरह शुल्कमा कुराकानी गर्न सकिन्छ । 

अहिले विश्वका १५० देशहरुमा एनसेलको रोमिङ सुविधा छ । यी देशहरुमा जाँदा केही दिनका लागि फरक नम्बर लिइराख्नुपर्ने अवस्था अन्त्य हुने एनसेलले जनाएको छ । यसरी रोमिङ अन गरिसकेपछि नेपालभित्र आउनेबित्तिकै रोमिङ सेवा स्वतः बन्द हुने र ब्यालेन्सबाट रोमिङ शुल्क नकाट्ने व्यवस्था गरिएको छ ।

टूजी मोबाइलहरुमा निःशुल्क ‘टेक्स वन्ली’ इन्टरनेट सेवा

त्यसो त एनसेलले थ्रीजी तथा फोरजी सुविधा नभएका कतिपय मोबाइल सेटहरुमा एनसेलको सीम प्रयोग गर्दा टूजी सेवामार्फत टेक्स पठाउन निःशुल्क रुपमा इन्टरनेट सुविधा उपलब्ध गराएकोसमेत जनाएको छ । 

अहिले नेपालमा ७० लाख भन्दा बढी टूजी मोबाइल ह्यान्डसेट रहेका छन् । एनसेलले उपलब्ध गराएको यो सुविधाले त्यस्तो मोबाइल चलाउने एनसेल ग्राहकलाई इन्टरनेट नेटवर्कसँग आवद्ध हुन सहयोग पुग्ने एनसेलको विश्वास छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ