arrow

त्रिशूलीमा बस खस्दा तीनजना बाँचे पौडिएर 

भरतपुरका विभिन्न अस्पतालमा उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
trishuli-bus-accident-03-28.jpg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनीहरू बिहीबार साँझ ७:३० वजे काठमाडौँबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार हुनुहुन्थ्यो । तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए । “बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीनजना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निक्सियौँ, पौडिएर बाँच्न सफल भयौँ ।” 

खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उनले सुनाए । “हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ”, उनले थपे, “बस पानीमा धेरै मुनी पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ ।” टाउँकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उपचार गररेर फर्किँदै गरेका गरुडा–९ रौतहटका जुगेश्वर राय यादवले आफ्नो परिवारका चारजना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाए । बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार थिए ।

काठमाडौँमा उपचार गरेर घर फर्कँदै गर्दा उनको परिवारका पाँचजना दुर्घटनामा परेका हुन् । “काठमाडौँमा छ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ । एक्कासी नसोचेको घटना घट्यो । पाँचपटक बस ठक्कर खाएर बल्ल नदीमा पुगेको थियो”,उनले स्मरण गरे,“ पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन । बसको चालक र सहचालक पनि त्यही डुब्नुभयो ।” 

बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उनले सुनाए,“जाम खुलेसँगै विस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा खसेको हो । बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भए, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।” उनकको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ताको डिस्चार्ज भएको छ । सामान्य अवस्थामा रहेका उनको उपचारपछि डिस्चार्ज गरिएको हो । हाल बेपत्ता बसको खोजिकार्य जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ