arrow

हिन्दू र मुस्लिमले मनाए एकै दिन आआफ्ना पर्व

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
mujaffapur-muslime.jpg

महोत्तरी । मधेसमा बुधबार एकै दिन हिन्दू तथा इस्लाम धर्मावलम्बीले आआफ्ना पर्व मनाएका छन् । हिन्दूले बुधबार चन्द्रमास गणनाको असार शुक्ल एकादशीका दिन हरिशयनी पर्व मनाएका हुन् भने इस्लाम धर्मावलम्बीले मुहर्रम पर्व ।

हिन्दू परम्परामा असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस दिन भगवान विष्णु देवी लक्ष्मीको माइती अर्थात् ससुराली समुन्द्रमा शयन मुद्रामा जाने परम्परागत विश्वास छ । शयन मुद्रामा गएका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन जागा हुने विश्वास गरिन्छ । विष्णु जागा हुने दिनलाई हरिबोधनी एकादशी भनिन्छ ।

सामान्यतया सबै एकादशी पवित्र मानिए पनि हरिशयनी र हरिवोधनी विशेष मानिन्छन् । जेठ शुक्ल एकादशीका दिन दल राखिएको तुलसीका बिरुवा बुधबार मठमा रोप्ने गरिन्छ । दल राख्ने जेठ शुक्ल एकादशीलाई भने निर्जला भनिन्छ । बुधबार मठमा तुलसी रोपण गरी व्रत बसेर विष्णुलक्ष्मीको आराधना र भजन किर्तन गरिन्छ । हिन्दू परम्पराअनुसार बुधबार रोपिएका तुलसीको कात्तिक शुक्ल एकादशीका दिन विष्णुसँग विवाह गराइन्छ ।

इस्लाम धर्मावलम्बीले बुधबार मुहर्रम पर्व मनाएका छन् । इस्लाम परम्पराको हिजरी सम्वत्को पहिलो महिना मुहर्रम भनिन्छ । बुधबारैका दिन इस्लाम धर्म परम्पराको संरक्षण र प्रचारमा लागेका इमाम हुसैन र हसन दुई भाइ मक्का नजिकको कर्वला मैदानमा भएको युद्धमा सहादत पाएका सम्झनामा मुहर्रम मनाइन्छ । हसन हुसैन दुवै इस्लाम धर्म प्रवर्तक महम्मद पैगम्वरका नाति भएको र सत्यको पक्षमा लागेर युद्धमा सहादत प्राप्त गरेका हुँदा पूज्य मानिन्छन् ।

मुहर्रम पर्वका दिन हसन हुसैनको सम्झनामा कलात्मक तजिया बनाएर ठूलो चउर जसलाई इस्लाम धर्मावलम्बी ‘रैन’ भन्छन्, त्यहाँ पु¥याइन्छ । कयौँ बस्तीका तजिया एक ठाउँ भेला गराएर मुस्लिम समुदायले हसन हुसैनको युद्धलाई सम्झना गर्दै लाठीभालाको खेल प्रदर्शन गर्छन् । यहाँ यसलाई दाहा पनि भन्ने गरिएको छ । 

इस्लाम परम्परामा मुहर्रम सत्यका लागि भएको सहादतका रुपमा पवित्र महिना मान्दछन् । मुख्यतः यो शोकलाई शक्तिमा रुपान्तरणको सङ्कल्प गरिने दिनका रुपमा मनाइने गरिएको महोत्तरीको भङ्गाहा–४ का ८५ वर्षीय हाजी बिहारी अन्सारी बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ